मकवानपुर । २०८३ कात्तिक ९ गते

भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएको दुई महिनासम्म पनि अवस्था पत्ता नलागेपछि हेटौँडा उपमहानगरपालिका–५ का २५ वर्षीय प्रदीप सापकोटाको परिवारले ०८३ कात्तिक ८ गते कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरेको छ।

रोजगारीका लागि रसुवा पुगेका प्रदीप निर्माणाधीन जलविद्युत् आयोजनामा मजदुरी गर्नुहुन्थ्यो। बाढी आउनुअघि दशैँमा घर फर्किने बताएका उहाँ सम्पर्कमा नआएपछि परिवारले हेटौँडा–१० स्थित राप्ती नदी किनारमा हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरेको हो। अन्त्येष्टिका लागि खर्च जुटाउन नसकेपछि बुबा बाबुराम सापकोटा केही दिनअघि जिल्ला प्रशासन कार्यालय मकवानपुर पुग्नुभएको थियो।

भोटेकोशी बाढीमा बेपत्ता मकवानपुरका अन्य व्यक्तिका परिवारले पनि कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरिसकेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीमा बेपत्ता भएका मकवानपुरका ५८ जनाको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया अघि बढाइएको छ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार नेपाल राजपत्रमा प्रकाशित विपद्सम्बन्धी अध्यादेश र विशेष प्रक्रियाअनुसार स्थानीय तहबाट विवरण सङ्कलन, प्रमाणीकरण तथा दाबीविरोधको प्रक्रिया पूरा गरी बेपत्ताको विवरणलाई अन्तिम रूप दिइनेछ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीमा मकवानपुरका ४५ जनाको उद्धार गरिएको थियो भने हेटौँडाका तीन र भीमफेदीका एक गरी चार जनाको मृत्यु पुष्टि भएको छ।

मञ्जिता मैनाली