नुवाकोट । २०८३ भदौ २३ गते

भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग गर्न जिल्लामा क्रियाशील ६० भन्दा बढी गैरसरकारी संस्थाले प्रतिबद्धता जनाएका छन्।

जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्लामा क्रियाशील गैरसरकारी संस्थाबीच भदौ २२ गते भएको छलफल कार्यक्रममा सहभागी संस्थाहरूले बाढीपीडितलाई गाँस, बास र कपाससँगै स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले विपद्को अवस्थामा गैरसरकारी संस्थाहरूले राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी प्रचलित नियमअनुसार काम गर्न आग्रह गर्नुभयो ।

केही संस्थाले कामभन्दा प्रचारलाई बढी प्राथमिकता दिने गरेको गुनासो आउने गरेको भन्दै उहाँले वास्तविक पीडितसम्म सहयोग पुर्‍याउन अनुरोध गर्नुभयो । राहत तथा सहयोगका नाममा नियमविपरीत गतिविधि गरेको पाइएमा सम्बन्धित संस्थामाथि कारबाही गरिने चेतावनी समेत उहाँले दिनु भयो ।
छलफलमा इन्सेक, नेपाल रेडक्रसलगायतका संस्थासहित ६० भन्दा बढी गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

बाढीपछि विस्थापित तथा प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न राहतसँगै स्वास्थ्य, शिक्षा, खानेपानी र आवासजस्ता क्षेत्रमा गैरसरकारी संस्थाको सहयोग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

 केदार ढकाल