नुवाकोट । २०८३ कात्तिक १६ गते
भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकले राहत वितरणमा मात्रै सीमित नभई सम्मानजनक पुनर्वास, उचित क्षतिपूर्ति र जीविकोपार्जनको सुनिश्चितता गर्न माग गरेका छन्। आफ्ना मागप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै बाढीपीडितले ०८३ कात्तिक १६ गते नुवाकोटको विदुरमा शान्तिपूर्ण र्यालीसहित जिल्ला प्रशासन कार्यालय र विदुर नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्।
भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समिति, नुवाकोटको आयोजनामा भएको र्याली समितिका संयोजक सूर्यबहादुर कँडेलको नेतृत्वमा निकालिएको थियो। र्यालीपछि प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको समितिले जनाएको छ।

बाढीपीडितले ‘राहत मात्र होइन, सम्मानजनक पुनःस्थापना हाम्रो अधिकार’, ‘प्रतिस्थापन होइन, पुनर्वास गर’ र ‘पीडितलाई राहतसँगै रोजगारी, जीविकोपार्जन र आत्मनिर्भर बन्ने आधार सुनिश्चित गर’ लगायतका नारा लगाउँदै आफ्ना माग सार्वजनिक गरेका थिए।
उनीहरूले बाढीबाट प्रभावित परिवारको वास्तविक अवस्था र आवश्यकताका आधारमा पुनर्वासको व्यवस्था गर्न, भएको क्षतिको न्यायोचित मूल्यांकन गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा प्रभावित नागरिकको जीविकोपार्जनका लागि रोजगारी र आयआर्जनका अवसर सुनिश्चित गर्न माग गरेका छन्।

त्यसैगरी, बाढीपीडितका लागि बनाइने नीति, योजना तथा निर्णय प्रक्रियामा प्रभावित नागरिककै प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्। राहत वितरणलाई मात्रै उपलब्धि मान्ने प्रवृत्तिले बाढीपीडितको दीर्घकालीन समस्या समाधान नहुने भन्दै समितिले पुनःस्थापना र आत्मनिर्भर जीवनयापनको आधार निर्माण गर्न राज्यले जिम्मेवारी लिनुपर्नेमा जोड दिएको छ।
बाढीपीडितका माग विरोधका लागि नभई न्यायपूर्ण सम्बोधनका लागि भएको संयोजक कँडेलले बताउनुभयो। प्रभावित परिवारको वास्तविक पीडा र आवश्यकतालाई गम्भीरतापूर्वक लिएर माग सम्बोधन गर्न उहाँले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो।

०८३ भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीका कारण घर, सम्पत्ति र जीविकोपार्जनका आधार गुमाएका परिवारका लागि तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्वास, क्षतिपूर्ति र आर्थिक पुनःस्थापना अझै प्रमुख चुनौतीका रूपमा रहेका छन्।
केदार ढकाल
HUMAN RIGHTS NEWS PORTAL