काठमाडौँ । २०८३ असोज २५ गते

भोटेकोशी बाढीबाट प्रभावित २ सय ६९ जना बालबालिकाले आमा वा बुबामध्ये एक जना अथवा दुवै अभिभावक गुमाएका छन् । राष्ट्रिय बाल अधिकार परिषद्को प्रारम्भिक प्रतिवेदनले अभिभावक गुमाएका बालबालिकाको संरक्षण र दीर्घकालीन हेरचाह चुनौतीपूर्ण रहेको देखाएको छ ।

परिषद्ले काठमाडौँ, नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा रहेका ५ सय ८४ जना बालबालिकाको अवस्थाबारे अध्ययन गर्दा ४१ जनाले आमा र बुबा दुवै गुमाएको पाइएको हो । त्यस्तै, १ सय ६१ जना बालबालिकाले बुबा र ६७ जनाले आमा गुमाएका छन् ।

परिषद्का सूचना अधिकारी रामबहादुर चन्दका अनुसार बाढी प्रभावित बालबालिकाको विवरण संकलन भइरहेको छ। अझै केही बालबालिकाको विवरण छुटेको हुन सक्ने भएकाले अभिभावक गुमाएका बालबालिकाको संख्या बढ्न सक्ने उहाँले बताउनुभयो।

दुवै अभिभावक गुमाएका ४१ बालबालिकामध्ये २८ जना नुवाकोट, दुई जना रसुवा र ११ जना काठमाडौँका होल्डिङ सेन्टरमा रहेका छन् । बुबा गुमाएका १ सय ६१ मध्ये १ सय ६ जना काठमाडौँ, ३२ जना नुवाकोट र २३ जना रसुवामा छन् । त्यस्तै, आमा गुमाएका ६७ मध्ये ३९ जना नुवाकोट, ९ जना रसुवा र १९ जना काठमाडौँमा रहेका छन् ।

परिषद्ले दुवै अभिभावक गुमाएका बालबालिकालाई उच्च जोखिममा वर्गीकरण गर्दै तत्काल कानुनी संरक्षण र दीर्घकालीन हेरचाहको आवश्यकता औँल्याएको छ । आमा वा बुबामध्ये एक जना गुमाएका बालबालिकालाई मध्यम जोखिममा राखिएको छ । अभिभावकसँगै होल्डिङ सेन्टरमा रहेका ३ सय १५ जना बालबालिका भने न्यून जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ ।

बाढीबाट विस्थापित २ सय ९६ जना बालबालिका काठमाडौँको पहेँलो, मुस्ताङ र नुब्रो समाज गुम्बामा आश्रित रहेको परिषद्ले जनाएको छ । प्रतिवेदनले बालबालिकाको संरक्षणमा स्वास्थ्य समस्या, अपाङ्गता, जन्मदर्तालगायतका कागजात नष्ट हुनु तथा विभेद र दुर्व्यवहारको जोखिमलाई प्रमुख चुनौतीका रूपमा औँल्याएको छ । बाढीले घर बगाउँदा जन्मदर्ता प्रमाणपत्र गुमाएका बालबालिकालाई राहत लिन र विद्यालय भर्ना हुनसमेत कठिनाइ हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी अध्ययनका क्रममा निमोनिया, मुटुरोग, अटिजमलगायत स्वास्थ्य समस्या भएका बालबालिका समेत भेटिएका छन् । काठमाडौँको एउटा गुम्बामा आश्रित एक बालिकाले जातीय विभेद तथा दुर्व्यवहार भोगेको विवरणसमेत प्रतिवेदनमा समेटिएको छ । यस्ता जोखिम रोक्न बालबालिकाका लागि सुरक्षित वातावरण निर्माण र घटनाको तत्काल सम्बोधन आवश्यक रहेको परिषद्को भनाइ छ ।

बालबालिकाको संरक्षणका लागि सम्भव भएसम्म उनीहरूलाई आफ्नै परिवारमा राख्न परिषद्ले सिफारिस गरेको छ । परिवारबाट हेरचाह सम्भव नभए नातेदार वा इच्छुक व्यक्ति तथा परिवारमार्फत हेरचाहको व्यवस्था गर्न र त्यसपछि मात्रै संस्थागत संरक्षणमा लैजानुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, बाढीको आघात भोगेका तथा परिवारका सदस्य गुमाएका बालबालिकालाई मनोसामाजिक परामर्श उपलब्ध गराउन, जन्मदर्ता तथा नागरिकतासम्बन्धी कागजातको निःशुल्क प्रतिलिपि उपलब्ध गराउन र उनीहरूको पढाइ निरन्तरता सुनिश्चित गर्न पनि परिषद्ले सुझाव दिएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्ले युनिसेफ र सेभ द चिल्ड्रेनको सहकार्यमा अध्ययन गरेको हो । परिषद्ले ०८३ असार २२ गते सार्वजनिक प्रारम्भिक प्रतिवेदनमा असोज १२ गतेसम्म संकलन गरिएको विवरण समेटिएको परिषद्ले जनाएको छ।

परिषद्ले बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिँदै परिवारका सदस्य, स्थानीय तह, स्थानीय बाल अधिकार समिति र सम्बन्धित सरकारी निकायबीच समन्वय गरी संरक्षण, पारिवारिक पुनर्मिलन र दीर्घकालीन हेरचाहको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ।

पार्बती साउद