रसुवा । २०८३ कात्तिक १० गते
लेन्दे खोलाहुँदै भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको बाढीका कारण भएको क्षतीको विवरण प्रदेश सरकारले सार्वजनिक गरेको छ ।
सार्वजनिक प्रतिवेदन अनसार रसुवा, नुवाकोट लगायतका जिल्लामा खानेपानी र सिँचाइ क्षेत्र प्रभावित भएको विवरण उल्लेख छ ।
बाढीबाट खानेपानीका ५५ आयोजना तथा इन्टेक र ४४ ओटा सिँचाइ कुलोमा क्षति पुगेको छ। खानेपानी संरचनाको क्षतिबाट ९ सय ६५ घरधुरी प्रभावित भएका छन् भने सिँचाइतर्फ ५ सय ९० हेक्टर क्षेत्र प्रभावित भएको छ । खानेपानीतर्फ ३० करोड ४० लाख र सिँचाइतर्फ २२ करोड २९ लाख रुपियाँको प्रारम्भिक क्षति अनुमान गरिएको छ ।
बाढीबाट शिक्षा क्षेत्र समेत अत्याधिक प्रभावित भएको छ । १२ ओटा विद्यालय पूर्णरूपमा र १८ ओटा आंशिक रुपमा क्षति पुगेको छ । यसबाट ९ हजार २ सय ४८ विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
पूर्णरूपमा क्षतिग्रस्त विद्यालयमा मात्रै ३५ भवन र ३ सय १७ कक्षाकोठा प्रभावित भएका छन्। सरकारले तत्काल अस्थायी सिकाइ स्थान, शैक्षिक सामग्री तथा शिक्षक व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
त्यसैगरी नुवाकोटमा ३८, रसुवामा १५ र धादिङमा २७ ओटा खानेपानी आयोजना पूर्ण रुपमा क्षती पुगेको खानेपानी तथा ढलनिकास विभागका सूचना अधिकारी सन्जु लामिछानेले बताउनुभयो ।
संघीय स्तरको ठूला खानेपानी आयोजना नुवाकोटमा रहेका छन् । रसुवामा प्रदेश स्तरीय योजना रहेका छन् । लामिछानेले भन्नुभयो, ‘बाढीपछि बिदुर खानेपानीमा देखिएको समस्या तत्कालका लागि हल भएको छ ।’
रसुवामा १२ ओटा खानेपानी आयोजनामा क्षती भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नुवाकोटका इन्जिनियर दिलिप शाहले बताउनुभयो । घट्टेखोला, टिमुरेदेखि स्याफ्रुबेसी, सिम्ले, छहरेखोला, डाडागाउँ, भदौरे, कैदलेटार, बेत्रावतीसम्म त्रिशूली नदी तथा आसपासका खानेपानीका मुहानमा क्षती पुगेको छ ।
हेमनाथ खतिवडा
HUMAN RIGHTS NEWS PORTAL