रुकुम (पूर्व) । २०८३ कात्तिक १० गते

भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका रुकुम (पूर्व) का प्रहरी जवान मिलन श्रेष्ठको अवस्था लामो समयसम्म पत्ता लाग्न नसकेपछि परिवारजनले ०८३ कात्तिक ९ गते कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् ।

भूमे गाउँपालिका–३, झुम्लाबाङका २३ वर्षीय श्रेष्ठ रसुवागढी प्रहरी चौकीमा कार्यरत हुनुहुन्थ्यो । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि उहाँ सम्पर्कविहीन हुनुभएको थियो ।

लामो समयसम्म खोजी गर्दा पनि उहाँको अवस्था पत्ता लाग्न सकेन । न त उहाँ जीवित रहेको कुनै खबर आयो, न शव नै फेला पर्‍यो । अन्ततः परिवारजनले उहाँ जीवितै फर्किने आशा मारेर कात्तिक ९ गते कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन् ।

“कि सास, कि लास पाइन्छ कि भनेर बूढा बाआमा र हामीले अहिलेसम्म पर्खियौँ । सास त पाउने कुरै भएन, लास पनि पाउने कुनै सम्भावना नदेखिएपछि आजै हामीले कुशको शव बनाएर देवरबाबुको अन्तिम संस्कार गर्‍यौँ,” श्रेष्ठकी भाउजूले भन्नुभयो ।

जीवन खड्का