दाङ । २०८३ असोज १९ गते
भोटेकोशी बाढीमा परी हराइरहेका दाङका ३० जनाका परिवारले कुशको शव बनाएर अन्त्यष्टी गरेका छन् । हराएको महिना बितिसक्दा पनि कतै फेला नपरेपछि आशा मरेको भन्दै उनीहरुले परम्पराअनुसार अन्त्यष्टी गरेको बताए । नेपाली सेनाको शेरगण नुवाकोटमा कार्यरत गढवा गाउँपालिका–३ का २१ वर्षीय दिपप्रकाश चौधरीको परिवारले असोज १६ गते कुशको शव बनाएर परम्पराअनुसार सतगत गरेको बुबा कृपाल चौधरीले जानकारी दिनुभयो । ‘उसँगै हराइरहेकाहरुको काजकिरिया गरिसके, हामीले पनि खोजवीन गर्दा कतै केही फेला पारेनौं त्यसैले भेटिने आशा मार्यौं ’बुबा कृपाल चौधरीले भन्नुभयो,–‘ महिनादिन बितिसकेपछि कति पर्खिनु र ? कुशको शव बनाएर अन्त्यष्टि गर्यौं ।’
रसुवा, नुवाकोटलगायतका क्षेत्रमा कामको सिलसिलामा पुगेका दाङका ५१ जनामध्ये ६ जना सकुसल फर्किएका छन् भने ४५ जना हराइरहेका छन् । ती मध्ये ३० जनाको परिवारले सद्गत गरिसकेका छन् । जसमा तीन महिला, दुई बालक र २५ जना पुरुष छन् । उनीहरुका परिवारले बाढीमा परेको तर नभेटिएपछि बाचेर फर्की आउने सम्भावना नदेखिएकाले कर्म गरिदिए शान्ति मिल्ने आशामा परम्पराअनुसार सद्गत गरिदिएको बताए ।
रसुवा–तातोपानी क्षेत्रको सडक निर्माणका लागि ज्यामी लगेर गएका तुलसीपुर उमनपा–१९ दोघरेका ४६ वर्षीय पूर्णबहादुर बस्नेत पनि मजदुरसँगै बाढीमा बगेर बेपत्ता भएपछि परिवारले असोज १ गते कुशको शव बनाएर अन्त्यष्टि गरेका छन् । खोजतलास गर्दा कतै फेला नपरेपछि मोक्षप्राप्तीका लागि सद्गत गरिदिएको पत्नी भिमकुमारी बस्नेतले बताउनुभयो । उनीहरु सबैले आफन्तको खोजतलासका लागि डिएनए परीक्षणका लागि रगतको नमूना सरकारलाई दिएका छन् ।
जयनारायण पुन
HUMAN RIGHTS NEWS PORTAL