धादिङ । २०८३ कात्तिक १८ गते

भोटेकोशी, त्रिशूली र बूढीगण्डकी नदीमा आएको बाढीले धादिङका विभिन्न क्षेत्रमा सडक, पुल, घर तथा निजी र सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्‍याएपछि पूर्वमन्त्री तथा पूर्वसांसदहरूले पुनर्निर्माणको काम तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बाढीका कारण जिल्लाको उत्तरी तथा मध्य क्षेत्रका विभिन्न बस्तीको सडक सम्पर्क विच्छेद भएको, पुल बगाएको र यातायात आवागमन प्रभावित भएको भन्दै उनीहरूले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र सडक सञ्जाल पुनःस्थापनालाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेका हुन् ।

धादिङको गल्छीमा भएको सामूहिक छलफलमा गल्छी, गजुरी, बेनीघाट रोराङ तथा त्रिपुरासुन्दरी गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिबारे छलफल भएको थियो । विशेषगरी मलेखुस्थित फुर्केखोला पुल बगाएपछि पृथ्वी राजमार्ग हुँदै जिल्लाका विभिन्न बस्तीमा आवागमन गर्न कठिनाइ भएको, भोटेकोशी र त्रिशूली करिडोरका सडक तथा पुल क्षतिग्रस्त हुँदा स्थानीयको दैनिक जीवन, व्यापार व्यवसाय, खाद्यान्न ढुवानी र सेवा प्रवाह प्रभावित भएको विषयमा सहभागीहरूले चिन्ता व्यक्त गरेका थिए ।

छलफलमा बाढीबाट क्षतिग्रस्त सडक, पुल, खानेपानी, विद्युत्, सञ्चारलगायत सार्वजनिक पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको थियो । फुर्केखोला पुलको पुनर्निर्माणसँगै तत्काल वैकल्पिक आवागमनको व्यवस्था गर्नुपर्ने, टुटेका सडक सम्पर्क पुनःस्थापना गर्नुपर्ने र प्रभावित नागरिकको घर तथा व्यवसाय पुनःस्थापनाका लागि आवश्यक कार्यक्रम ल्याउनुपर्ने उनीहरूको माग थियो । बूढीगण्डकी नदीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा जोखिममा रहेका बस्ती र सार्वजनिक संरचनाको संरक्षण गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो ।

छलफलमा पूर्वगृहमन्त्री बुद्धिमान तामाङ, पूर्वविज्ञान तथा प्रविधिमन्त्री कल्पना धमला, पूर्वकृषिमन्त्री रामनाथ अधिकारी, पूर्वजलस्रोत राज्यमन्त्री ठाकुरप्रसाद शर्मा, पूर्वपर्यटन राज्यमन्त्री परशुराम तामाङ, दिलमान पाख्रिन, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल, पूर्वसांसद पुष्पविक्रम मल्ल र खेमप्रसाद लोहनी, संविधानसभा सदस्य गुरुप्रसाद बुर्लाकोटीलगायत सहभागी हुनुहुन्थ्यो । प्रदेश सांसद जगत सिम्खडासमेत छलफलमा सहभागी हुनुहुन्थ्यो ।

धादिङका विभिन्न क्षेत्रका समस्या समाधानका लागि संघीय तथा प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्दै आवश्यक योजना निर्माण तथा कार्यान्वयनमा पहल गर्ने सहमतिसमेत भएको जनाइएको छ । बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा ढिलाइ हुँदा नागरिकको आवागमन, आर्थिक गतिविधि र दैनिक जनजीवन थप प्रभावित हुने भएकाले धादिङलाई विशेष प्राथमिकतामा राखेर सरकारले तत्काल पुनर्निर्माणको काम अघि बढाउनुपर्ने सहभागीहरूको निष्कर्ष थियो ।

सीताराम अधिकारी