रसुवा । २०८३ असोज ३१ गते


भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको बाढी तथा पहिरोले क्षति पुर्‍याएको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित लाङटाङ जाने पर्यटकीय पदमार्ग मर्मत गरिएको छ । पदमार्ग अवरुद्ध हुँदा स्थानीयलाई खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानी गर्न तथा स्वदेशी र विदेशी पर्यटकलाई आवतजावत गर्न समस्या भएको थियो ।

पदमार्ग मर्मतका लागि गोसाइँकुण्ड गाउँपालिकाको विपद् कोषबाट २५ लाख रुपियाँ खर्च गरिएको गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताउनुभयो । उहाँका अनुसार उपभोक्ता समितिमार्फत पहिरो पन्छाउने र क्षतिग्रस्त पदमार्ग मर्मत गर्ने काम गरिएको हो ।

गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष डिन्ढुप तामाङका अनुसार स्थानीयको जनसहभागितामा पहिरोले क्षति पुर्‍याएका मुख्य स्थानमा मर्मत कार्य सम्पन्न गरिएको छ । बाढीले स्याफ्रुबेसी बजार, पुल तथा सडकमा क्षति पुर्‍याएपछि लाङटाङ जाने वैकल्पिक पदमार्ग सञ्चालनमा ल्याइएको छ ।

हाल सदरमुकाम धुन्चेबाट ठूलो भार्खु, सानो भार्खु, ब्राबल, ठूलो स्याफ्रु, पैरो, बम्बो, रिमिचे र लामा होटल हुँदै लाङटाङ पुग्न सकिने व्यवस्था गरिएको छ । पदमार्ग मर्मत भएसँगै स्थानीय तथा पर्यटकको आवतजावत सहज भएको वडाध्यक्ष तामाङले बताउनुभयो ।

लाङटाङका पर्यटन व्यवसायी तेम्बा लामाले पदमार्ग सुरक्षित भएकाले पर्यटकलाई स्वागत गर्न आफूहरू तयार रहेको बताउनुभयो । यसैबीच, प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड जोड्ने पदमार्गलाई थप व्यवस्थित र सुरक्षित बनाउन गाउँपालिकाले सङ्घीय सरकारसँग बजेट माग गरेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

हेमनाथ खतिवडा