धादिङ । २०८३ असोज २३ गते
“भोटेकोशीको बाढीले हाम्रो सर्वस्व खोस्यो।”
धादिङको गजुरी गाउँपालिका–६ का ५२ वर्षीय राजेन्द्र ज्ञामी मगरको यो भनाइमा तीन जना जवान छोरा गुमाउनुको पीडा मात्रै छैन, बुढेसकालको सहारा टुटेको विवशता पनि छ। कुनै बेला छोराहरूको कमाइले घर चल्थ्यो। बिरामी पत्नीको औषधिउपचारदेखि घरखर्चसम्मको जिम्मेवारी उनीहरूले सम्हाल्थे। बुढेसकालमा छोराहरूले हेरचाह गर्लान् भन्ने आशा थियो। तर, भोटेकोशीमा आएको बाढीले ती सबै आशा एकैपटक बगाएर लग्यो।
अहिले घर उस्तै छ, आँगन उस्तै छ र भित्तामा टाँगिएका तस्बिर पनि उस्तै छन्। फरक यति हो, घरमा छोराहरूको आवाज सुनिँदैन। छोराहरु २० वर्षीय प्रविन ज्ञामी मगर, २४ वर्षीय प्रकाश ज्ञामी मगर र २७ वर्षीय प्रमोद ज्ञामी मगरलाई गुमाएपछि राजेन्द्र र ५० वर्षीया पार्वती ज्ञामी मगरको परिवारमा शोकसँगै आर्थिक संकट पनि थपिएको छ। छोराहरूको सम्झना त छँदै छ, अब बाँकी जीवन कसरी चलाउने भन्ने चिन्ताले पनि उनीहरूलाई सताइरहेको छ।
२०८३ भदौ १० गते भोटेकोशी र आसपासका खोलामा आएको बाढीले धादिङका धेरै परिवारको जीवन यसैगरी बदलिदियो। बाढीले घर र भौतिक संरचना मात्रै बगाएन, परिवारका मुख्य कमाउने सदस्य, साना बालबालिकाका बाबु, वृद्ध आमाबुवाका सहारा र पत्नीका जीवनसाथीसमेत खोस्यो। कतिपय परिवारले आफन्तको शव पाएर अन्तिम संस्कार गर्न पाए भने कतिपयले लामो समयसम्म खोजी गर्दा पनि शव फेला पार्न सकेनन्। अन्ततः कुशको शव बनाएर संस्कार गर्नुपर्यो।
बाढीको बहाव घटेको छ। सडकमा गाडी गुड्न थालेका छन् र बजार पनि खुल्न थालेका छन्। बाहिरबाट हेर्दा जनजीवन सामान्य बन्दै गएको देखिन्छ। तर, बाढीमा आफन्त गुमाएका परिवारका लागि विपद् अझै सकिएको छैन। उनीहरूका लागि आफन्तको वियोगसँगै जीविकोपार्जन, बालबालिकाको पढाइ, औषधिउपचार र भविष्यको चिन्ता थपिएको छ।
प्रमोद ज्ञामी मगर सामान बोकेर बागमती प्रदेश ०९–००६ ख ९७२३ नम्बरको गाडीमा टिमुरे र घट्टेखोला हुँदै यात्रा गरिरहनुभएको थियो। त्यही क्रममा उहाँ भोटेकोशीको बाढीमा पर्नुभयो। त्यसपछि उहाँ घर फर्किनुभएन। परिवारले धेरै दिनसम्म उहाँको खोजी गर्यो। खोलाको किनारमा खोज्यो, सम्भावित ठाउँमा बुझ्यो र कतैबाट खबर आउँछ कि भनेर पर्खिरह्यो। तर, उहाँको शव फेला परेन। लामो समयसम्म कुनै जानकारी नआएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गर्यो।
प्रमोदकी पत्नी मनीषा ज्ञामीका लागि पतिको वियोगसँगै जीवन धान्ने अर्को कठिन प्रश्न खडा भएको छ। आठ वर्षीय छोरा र ६ वर्षीया छोरीको पालनपोषण, शिक्षा र दैनिक खर्चको जिम्मेवारी अहिले उहाँको काँधमा आएको छ। कक्षा ११ सम्म अध्ययन गर्नुभएकी मनीषासँग विशेष सीप र नियमित रोजगारी छैन। परिवारको मुख्य आम्दानीको स्रोत पति नै हुनुहुन्थ्यो।
श्रीमान् छँदा घरखर्च र छोराछोरीको भविष्यबारे उहाँले एक्लै चिन्ता गर्नुपर्दैनथ्यो। अहिले भने छोराछोरीलाई कसरी पढाउने, घरखर्च कसरी जुटाउने र भोलिको जीवन कसरी चलाउने भन्ने प्रश्नले उहाँलाई सताइरहेको छ। पति गुमाउनुको पीडामाथि जीविकोपार्जनको बोझ थपिएको छ। परिवारले पर्याप्त आर्थिक सहयोग र मनोसामाजिक परामर्शसमेत पाउन नसकेको अवस्था छ।
प्रमोदका भाइ प्रकाश ज्ञामी मगर पनि बाढीमा परेर ज्यान गुमाउनुभयो। २४ वर्षीय प्रकाश सामान लिन रसुवातर्फ टुब्बा गाडी लिएर जानुभएको थियो। बाढीमा परेपछि केही दिनमा उहाँको शव चितवनमा फेला पर्यो। विवाह भएको नौ वर्ष मात्रै पुगेको थियो। सन्तान थिएनन्। परिवारलेसँगै देखेको भविष्यको सपना पूरा हुन नपाउँदै उहाँको जीवन अन्त्य भयो।
प्रकाशसँगै गएका २० वर्षीय प्रविन ज्ञामी मगर भने बाढीमा बेपत्ता हुनुभयो। उहाँको शव अहिलेसम्म फेला परेको छैन। खोजी गर्दा पनि कुनै खबर नआएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गर्नुपर्यो।
एउटै परिवारका तीन जना छोरा गुमाउँदा राजेन्द्र र पार्वतीको घरमा शोक मात्रै छाएको छैन, परिवारको आर्थिक आधारसमेत भत्किएको छ। खेतीपातीबाट मात्रै गुजारा चलाउन पर्याप्त जग्गाजमिन छैन।
पार्वती सुगर र उच्च रक्तचापको दीर्घरोगी हुनुहुन्छ। नियमित औषधिका लागि मात्रै महिनामा करिब ५ हजार रुपियाँ खर्च हुन्छ। पहिले छोराहरूले कमाएर घर चलाउँथे र औषधि किनिदिन्थे। बुढेसकालमा हेरचाह गर्लान् भन्ने भरोसा थियो। अहिले त्यही भरोसा टुटेको छ।
“पहिले छोराहरूले कमाउँथे। घर चल्थ्यो। बुढेसकालमा छोराहरूले हेर्लान् भन्ने भरोसा थियो। अहिले त्यो भरोसा छैन,” पार्वतीले भन्नुभयो।
तीन जना जवान छोरा गुमाएका राजेन्द्र र पार्वतीका लागि अब सन्तान सम्झेर आँसु झार्नु मात्रै समस्या होइन। नियमित औषधि कसरी किन्ने, घरखर्च कसरी जुटाउने र बाँकी जीवन कसरी चलाउने भन्ने चिन्ता पनि उत्तिकै ठूलो छ।
गजुरी क्षेत्रकै ४४ वर्षीय हेमबहादुर विश्वकर्माको परिवारमा पनि भोटेकोशीको बाढीले कहिल्यै निको नहुने घाउ दिएको छ। बेत्रावती बजारमा सामान किन्न जाने क्रममा हेमबहादुर बाढीमा पर्नुभयो। उहाँको शव चितवनमा फेला पर्यो। तर, उहाँसँगै गएकी नौ वर्षीया छोरीलाई पनि बाढीले बगायो।
एउटै घटनामा पति र छोरी गुमाएकी पार्वती विश्वकर्माको परिवारमा अब दुई जनाको अभाव छ। नुनभुल्सा घर भएकी उहाँको परिवारसँग पर्याप्त जग्गाजमिन छैन। पति ज्यालामजदुरी गरेर घरखर्च चलाउँदै आउनुभएको थियो। उहाँको कमाइले परिवारको दैनिक आवश्यकता पूरा हुन्थ्यो। पति र छोरी दुवै गुमेपछि पार्वतीका लागि घर चलाउने आधार कमजोर भएको छ। शोकको घडीमा परिवारको आर्थिक अवस्था कसरी सम्हाल्ने भन्ने चिन्ता थपिएको छ।
गल्छी गाउँपालिका–८ का राजु सुनारको परिवारमा पनि बाढीपछि यस्तै संकट आएको छ। उहाँ बिहान करिब ५ बजे सामान किन्न बेत्रावतीतर्फ जानुभएको थियो। घरबाट निस्कँदा परिवारले उहाँ कहिल्यै फर्केर आउनुहुन्न भन्ने सोचेको थिएन। तर, भोटेकोशीको बाढीमा परेर उहाँको मृत्यु भयो। उहाँको शव पनि चितवनमा फेला परेको थियो।
राजुकी पत्नी, छोरा र छोरी अहिले उहाँको अभावसँगै आर्थिक समस्यासँग जुधिरहेका छन्। परिवारको मुख्य आम्दानीको स्रोत राजु नै हुनुहुन्थ्यो। पर्याप्त जग्गाजमिन नभएको परिवार सामान्य जीविकोपार्जनमै संघर्ष गरिरहेको थियो। कमाउने व्यक्ति गुमेपछि घरखर्च र छोराछोरीको भविष्य कसरी धान्ने भन्ने प्रश्न थप जटिल बनेको छ।
यी परिवारका कथा फरक भए पनि पीडा एउटै छ। कसैले पति गुमाएका छन्, कसैले जवान छोरा, कसैले बाबु र कसैले सानी छोरी। कतिपय परिवारका लागि घरको मुख्य कमाउने सदस्य नै गुमेको छ भने कतिपयका लागि बुढेसकालको सहारा। शव भेटिएका परिवारले अन्तिम संस्कार गर्न पाए। शव नभेटिएका परिवारले लामो समयसम्म खोजी र प्रतीक्षा गर्नुपर्यो। कुनै खबर नआएपछि कुशको शव बनाएर संस्कार गर्नुपरे पनि आफन्त गुमाउँदाको पीडा र आर्थिक संकट अन्त्य भएको छैन।
बाढीमा ज्यान गुमाएका व्यक्तिका परिवारमा बालबालिकाको पढाइ रोक्नुपर्ने अवस्था आउन सक्छ। पति गुमाएका महिलाले जीविकोपार्जनका लागि काम खोज्नुपर्ने हुन्छ। वृद्ध आमाबुवाले नियमित औषधिउपचारका लागि आर्थिक स्रोत जुटाउन संघर्ष गर्नुपर्छ। यस्तो अवस्थामा तत्काल राहतले केही समयको आवश्यकता पूरा गर्न सहयोग गरे पनि दीर्घकालीन समस्या समाधान गर्न पर्याप्त हुँदैन।
त्यसैले बाढी प्रभावित परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापनाको आवश्यकता छ। पति गुमाएका महिलालाई सीपमूलक तालिम, रोजगारी र आयआर्जनका अवसर उपलब्ध गराउनुपर्छ। बाबु गुमाएका बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्न छात्रवृत्ति तथा आवश्यक शैक्षिक सहयोगको व्यवस्था गर्नुपर्छ। वृद्ध आमाबुवालाई नियमित औषधिउपचार र सामाजिक सुरक्षाको पहुँचमा ल्याउनुपर्छ। आफन्त गुमाएका परिवारका सदस्यलाई आवश्यकताअनुसार मनोसामाजिक परामर्श उपलब्ध गराउनुपर्छ।
विशेषगरी परिवारको मुख्य कमाउने सदस्य गुमाएका घरपरिवारको पहिचान गरी उनीहरूको आर्थिक अवस्था, बालबालिकाको संख्या, स्वास्थ्य आवश्यकता र जीविकोपार्जनको अवस्थाका आधारमा पुनर्स्थापनाको योजना बनाउन आवश्यक छ। एकपटकको राहतभन्दा नियमित आयआर्जन, सीप विकास र सामाजिक सुरक्षासँग जोडिएको सहयोगले उनीहरूलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन सक्छ।
राज्य र सम्बन्धित निकायले यी परिवारलाई राहत वितरणको सूचीमा सीमित नगरी विपद्पछिको पुनर्स्थापनाको प्राथमिकतामा राख्नुपर्छ। सहयोग प्राप्त गर्ने प्रक्रिया सहज बनाउनुका साथै वास्तविक प्रभावित परिवारले पाउनुपर्ने सुविधा सुनिश्चित गर्नुपर्छ।
भोटेकोशीको पानी अहिले शान्त भएको छ। सडकमा गाडी गुड्न थालेका छन्। बजारमा चहलपहल फर्किएको छ। तर, गजुरी र गल्छीका धेरै घरभित्र शोक र अभावको अवस्था उस्तै छ। कतै आमा छोराको तस्बिर हेरेर दिन बिताइरहेकी छन्। कतै पत्नी पतिको सम्झनामा छिन्। कतै बालबालिका बाबुविहीन भएर हुर्कनुपर्ने अवस्थामा छन्। कतै वृद्ध आमाबुवा बुढेसकालको सहारा गुमाएर बसेका छन्।
बाढीले उनीहरूका आफन्त मात्रै बगाएर लगेन, घरको कमाइ, भरोसा र भविष्यका योजनासमेत भत्काइदियो। त्यसैले उनीहरूलाई सहानुभूति र राहत मात्रै होइन, सम्मानपूर्वक बाँच्न सक्ने आधार चाहिएको छ। छोराछोरीको पढाइ नरोकिने, बिरामीले औषधि पाउने, महिलाले आयआर्जन गर्न सक्ने र वृद्ध आमाबुवाले सहाराविहीन हुनुनपर्ने अवस्था निर्माण गर्नु राज्य र सम्बन्धित निकायको दायित्व हो।
किनकि बाढीको पानी घट्दैमा विपद् सकिँदैन। कतिपय परिवारका लागि विपद् त त्यही दिनदेखि सुरु हुन्छ, जुन दिन घरको मुख्य सहारा कहिल्यै नफर्किने गरी हराउँछ। खोलाको बहाव रोकिए पनि उनीहरूको जीवनमा आएको संकट रोकिएको छैन। त्यो संकटबाट बाहिर निस्कन अब उनीहरूलाई दीर्घकालीन साथ, सहयोग र पुनःस्थापनाको भरपर्दो आधार चाहिएको छ।
सिताराम अधिकारी
HUMAN RIGHTS NEWS PORTAL