नुवाकोट । २०८३ असोज २८ गते
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले विदुर नगरपालिका–१ स्थित त्रिशूलीका नयाँ र पुराना दुवै पक्की पुल बगाएपछि प्रभावित स्थानीयको आवागमन सहज बनाउन निर्माण भइरहेको झोलुङ्गे पुल अन्तिम चरणमा पुगेको छ ।
बाढीले नदी वारपार गर्ने प्रमुख संरचना बगाएपछि स्थानीयवासीको दैनिक आवागमन प्रभावित भएको थियो । दैनिक कामकाज, किनमेल तथा विभिन्न सेवा लिन नदी वारपार गर्नुपर्ने स्थानीयले वैकल्पिक मार्ग प्रयोग गर्दा थप समय र झन्झट बेहोर्नुपरेको छ ।
विदुर नगरपालिका–१ स्थित बान्द्रे बुद्ध मन्दिरदेखि इन्टेकको डिल जोड्ने २ सय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण भइरहेको हो । पुल सञ्चालनमा आएपछि विदुर नगरपालिका–१, ९ र १२ का बासिन्दालाई नदी वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ ।

पुलको क्षतिले यातायात सम्पर्कमा मात्र नभई स्थानीयको दैनिक जीवन र आर्थिक गतिविधिमा समेत असर पारेको छ । निर्माणाधीन झोलुङ्गे पुल सञ्चालनमा आएपछि प्रभावित क्षेत्रका बासिन्दालाई आवतजावत गर्न सहज हुनुका साथै विभिन्न वडाबीचको सम्पर्क कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोगमा निर्माण भइरहेको पुलको जिम्मेवारी नुवाकोट निर्माण व्यवसायी संघले लिएको छ । पुल निर्माणमा सस्पेन्सन ब्रिज डिभिजन, पुल्चोक, ललितपुर र पूर्वाधार विकास कार्यालय नुवाकोटले प्राविधिक सहयोग गरेका छन् भने विदुर नगरपालिकाले विशेष सहयोग गरेको छ ।
निर्माण सम्पन्न गरी ०८३ असोज २९ गतेदेखि सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ ।
केदार ढकाल
HUMAN RIGHTS NEWS PORTAL