जुम्ला । २०८३ असोज १२ गते
रसुवाको भोटेकोशीमा आएको बाढीले बुवा र भाइलाई बेपत्ता बनाएपछि पातारासी गाउँपालिका–४ लाम्रीकी २१ वर्षीया रिता भण्डारी अहिले ४० वर्षीया आमा बाँचुकली भण्डारीको सहारा बन्नुभएको छ।
रिताका ३८ वर्षीय बुवा अम्मर भण्डारी र १९ वर्षीय भाइ अनिल भण्डारी दसैँ–तिहारमा घर फर्किने र परिवारका लागि आवश्यक सामग्री ल्याउने उद्देश्यले रोजगारीका लागि रसुवा पुगेका थिए। तर, ०८३ भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि दुवैजना सम्पर्कविहीन भए।
लामो समयसम्म खोजी गर्दा पनि कुनै खबर नआएपछि परिवारले धार्मिक संस्कारअनुसार कुशको शव बनाएर सद्गत गर्ने निर्णय गर्यो। लाम्री गाउँका बाढीमा बेपत्ता १५ जनाका परिवारले असोज ७ गते सामूहिक रूपमा कुशको शव बनाएर सद्गत गरेका छन्। बुवा र भाइको दाहसंस्कार रिताले नै गर्नुभयो।
“बुवा र भाइ फर्केर आउलान् भन्ने आशा थियो। लामो समयसम्म खबर नआएपछि कुशको शव बनाएर दाहसंस्कार गर्नुपर्यो,” रिताले भन्नुभयो, “अब घरमा आमा र म मात्रै छौँ। आमाको सहारा पनि म नै बन्नुपर्ने भएको छ।”
भोटेकोशी बाढीमा पातारासी गाउँपालिकाका १८ देखि ४५ वर्ष उमेर समूहका दर्जनौँ युवा सम्पर्कविहीन छन्। रोजगारीका लागि रसुवा पुगेका युवा बेपत्ता भएपछि कतिपय परिवारले पति, छोरा, भाइ र बुवा गुमाएका छन्।
ऋणमोक्ष माध्यमिक विद्यालयका शिक्षक कृष्ण बुढाका अनुसार भदौ १० गतेको बाढीले पातारासीका धेरै परिवारको सहारा खोसेको छ। रोजगारीका लागि रसुवा पुगेका गाउँका युवाहरू गुमेपछि परिवारहरू शोकसँगै आर्थिक संकटमा समेत परेका छन्।
मानदत्त रावल
HUMAN RIGHTS NEWS PORTAL