धादिङ । ०८३ असोज २८ गते

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले विद्यालय भवन भत्काएपछि अस्थायी टेन्ट र क्याम्पस भवनमा बसेर पढ्न बाध्य बालबालिकाको मुहारमा खुसी छाएको छ । बाढीले विद्यालयसँगै उनीहरूको नियमित पठनपाठन प्रभावित बनाएको बेला सहयोगी हातहरूले नयाँ लुगा, जुत्ता र शैक्षिक सामग्री उपलब्ध गराएपछि बालबालिका उत्साहित भएका हुन्।

गत भदौ १० र १४ गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त बुद्धि विकास आधारभूत विद्यालयका १ सय १५ जना विद्यार्थीलाई न्यानो कपडा, जुत्ता तथा शैक्षिक सामग्री वितरण गरिएको हो।

स्याङ्जाका पर्यटन व्यवसायी तथा समाजसेवी धन अधिकारीले सहयात्री समाज नेपाल, धादिङसँगको सहकार्य र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा बाढी प्रभावित विद्यार्थीलाई ०८३ असोज २७ गते सहयोग उपलब्ध गराएका हुन्।

बाढीले विद्यालय भवन भत्काएपछि विस्थापित भएका बालबालिका अहिले विशालटारमा रहेको क्याम्पस भवन र अस्थायी टेन्टमा बसेर अध्ययन गरिरहेका छन्। आफ्नै विद्यालयको कक्षाकोठामा बसेर पढ्ने वातावरण गुमाएका उनीहरूका लागि नयाँ कपडा, जुत्ता, कापी र कलमको सहयोगले दशैँको खुसीसँगै पढाइलाई निरन्तरता दिने उत्साह थपेको छ।

कक्षा १ देखि ८ सम्म पठनपाठन हुने बुद्धि विकास आधारभूत विद्यालयमा अधिकांश विद्यार्थी सीमान्तकृत तथा विपन्न समुदायका छन्। विद्यालयमा अध्ययनरत १ सय १५ विद्यार्थीमध्ये ८२ जना जनजाति, २० जना दलित र १३ जना ब्राह्मण, क्षेत्री तथा अन्य समुदायका छन्। यो विद्यालय सबैभन्दा धेरै चेपाङ विद्यार्थी अध्ययन गर्ने विद्यालयका रूपमा परिचित छ।

आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका बालबालिकाको शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको विद्यालय नै बाढीले क्षतिग्रस्त बनाएपछि विद्यार्थीको पठनपाठनमा चुनौती थपिएको छ। स्थायी कक्षाकोठाको अभावमा टेन्ट र वैकल्पिक भवनमा अध्ययन गरिरहेका बालबालिकालाई वर्षा, चिसो तथा प्रतिकूल मौसमले थप समस्या पार्ने अवस्था छ।

दशैँको पूर्वसन्ध्यामा नयाँ कपडा र जुत्ता पाएपछि विद्यार्थीहरूले खुसी व्यक्त गर्दै सहयोगीप्रति धन्यवाद ज्ञापन गरेका छन्। बाढीले विद्यालय भत्काए पनि आफूहरूको पढ्ने चाहना नभत्किएको सन्देश उनीहरूको उत्साहले दिएको छ।

सहयोगी धन अधिकारीले विपद्का कारण समस्यामा परेका बालबालिकाको शिक्षालाई निरन्तरता दिन तथा उनीहरूलाई चाडपर्वको समयमा केही भए पनि राहत पुर्‍याउने उद्देश्यले सहयोग गरिएको बताउनु भयो । विपद्को सबैभन्दा ठूलो असर बालबालिकाको दैनिक जीवन र शिक्षामा पर्ने भएकाले उनीहरूलाई आवश्यक सहयोग गर्नु सामाजिक दायित्व भएको उहाँको भनाइ थियो।

न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा सम्बन्धित वडाका अध्यक्ष कुमार बस्नेत, सहयोगी धन अधिकारी, सहयात्री समाज नेपालकी गीता खनाल र इन्सेक प्रतिनिधि सीताराम अधिकारीको सहभागिता थियो।

बाढीले भौतिक संरचना मात्र नभई बालबालिकाको सुरक्षित वातावरणमा अध्ययन गर्ने अधिकारसमेत प्रभावित बनाएको छ। यस्तो अवस्थामा तत्कालीन राहतसँगै विद्यालयको पुनर्निर्माण, सुरक्षित कक्षाकोठाको व्यवस्था र नियमित पठनपाठनको सुनिश्चितता आवश्यक देखिएको छ।

बाढीले विद्यालय भवन बगाए पनि बालबालिकाको भविष्यप्रतिको आशा बगाउन सकेको छैन। नयाँ कपडा, जुत्ता र कापी–कलम बोकेर खुसी भएका विद्यार्थीका लागि अब सबैभन्दा ठूलो आवश्यकता भनेको आफ्नै सुरक्षित विद्यालयमा फर्किएर पढ्न पाउने वातावरण हो।

विद्यालयमा भएको क्षतिका सम्बन्धमा भदौ ३१ गते इन्सेक अनलाइनमा “बाढीले धादिङको चरौँदीस्थित बुद्धिविकास आधारभूत विद्यालयमा क्षति“ शिर्षकमा समाचार समेत प्रकाशित भएको थियो ।

सीताराम अधिकारी