धादिङ । २०८३ असोज २८ गते
भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले विद्यालय भवन भत्काएपछि अस्थायी टेन्ट र क्याम्पस भवनमा बसेर पढ्न बाध्य धादिङको बुद्धि विकास आधारभूत विद्यालयका विद्यार्थीले दशैँको मुखमा नयाँ कपडा, जुत्ता र शैक्षिक सामग्री पाएका छन् ।
भदौ १० र १४ गते आएको बाढीबाट क्षतिग्रस्त विद्यालयका १ सय १५ जना विद्यार्थीलाई ०८३ असोज २७ गते न्यानो कपडा, जुत्ता तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।
स्याङ्जाका पर्यटन व्यवसायी तथा समाजसेवी धन अधिकारीले सहयात्री समाज नेपाल, धादिङसँगको सहकार्य र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा विद्यार्थीलाई सहयोग उपलब्ध गराउनुभएको हो ।
बाढीले विद्यालय भवन भत्काएपछि विस्थापित विद्यार्थी अहिले विशालटारस्थित क्याम्पस भवन र अस्थायी टेन्टमा बसेर अध्ययन गरिरहेका छन् । आफ्नै कक्षाकोठा गुमाएका बालबालिकाका लागि नयाँ कपडा, जुत्ता, कापी र कलमको सहयोगले दशैँको खुसीसँगै पढाइलाई निरन्तरता दिने उत्साह थपेको छ ।

कक्षा १ देखि ८ सम्म पढाइ हुने विद्यालयमा अधिकांश विद्यार्थी सीमान्तकृत तथा विपन्न समुदायका छन् । विद्यालयका १ सय १५ विद्यार्थीमध्ये ८२ जना जनजाति, २० जना दलित र १३ जना ब्राह्मण, क्षेत्री तथा अन्य समुदायका छन् । यो विद्यालय चेपाङ समुदायका धेरै बालबालिका अध्ययन गर्ने विद्यालयका रूपमा परिचित छ ।
आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका बालबालिकाको शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको विद्यालय नै बाढीले क्षतिग्रस्त बनाएपछि पठनपाठनमा चुनौती थपिएको छ । स्थायी कक्षाकोठाको अभावमा टेन्ट र वैकल्पिक भवनमा अध्ययन गरिरहेका विद्यार्थीलाई चिसो तथा प्रतिकूल मौसमले थप समस्या पार्ने अवस्था छ ।
दशैँको पूर्वसन्ध्यामा नयाँ कपडा र जुत्ता पाएपछि विद्यार्थीले खुसी व्यक्त गर्दै सहयोगीप्रति धन्यवाद दिएका छन् । सहयोगी अधिकारीले विपद्बाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन र चाडपर्वका बेला राहत पुर्याउन सहयोग गरिएको बताउनुभयो । विपद्को सबैभन्दा ठूलो असर बालबालिकाको दैनिक जीवन र शिक्षामा पर्ने भएकाले उनीहरूलाई सहयोग गर्नु सामाजिक दायित्व भएको उहाँको भनाइ थियो ।
सामग्री वितरण कार्यक्रममा सम्बन्धित वडाका अध्यक्ष कुमार बस्नेत, सहयोगी अधिकारी, सहयात्री समाज नेपालकी गीता खनाल र इन्सेक प्रतिनिधि सीताराम अधिकारी सहभागी हुनुहुन्थ्यो ।
बाढीले विद्यालयको भौतिक संरचना मात्र क्षति गरेको छैन, बालबालिकाको सुरक्षित वातावरणमा पढ्न पाउने अधिकारसमेत प्रभावित बनाएको छ । तत्कालीन राहतसँगै विद्यालयको पुनर्निर्माण, सुरक्षित कक्षाकोठाको व्यवस्था र नियमित पठनपाठन सुनिश्चित गर्नु आवश्यक देखिएको छ ।
विद्यालयमा भएको क्षतिबारे इन्सेक अनलाइनले ०८३ भदौ ३१ गते ‘बाढीले धादिङको चरौँदीस्थित बुद्धिविकास आधारभूत विद्यालयमा क्षति’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।
सीताराम अधिकारी
HUMAN RIGHTS NEWS PORTAL