रसुवा । २०८३ असोज ५ गते

लेन्देखोला हुँदै भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त रसुवाका विद्यालयहरुले पठनपाठन सुरु गरेका छन् । बाढीका कारण जिल्लाका चार विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने सयौँ विद्यार्थी प्रभावित भएका छन्। प्रभावित विद्यालयमध्ये अधिकांशमा पठनपाठन पुनः सुरु गरिएको छ।

उत्तरगया गाउँपालिका–२ स्थित चिप्लेटी आधारभूत विद्यालयका एक जना विद्यार्थी बाढीपछि बेपत्ता भएका छन्। उत्तरगया गाउँपालिका–४ को मालिकादेवी आधारभूत विद्यालयका ११ जना विद्यार्थी र उत्तरगया गाउँपालिका–५ स्थित मोर्डन ट्रिनिटी इङ्लिस स्कुलका आठ जना विद्यार्थी पनि बाढीपछि बेपत्ता रहेको विद्यालय तथा स्थानीय तहले जनाएका छन्।

उत्तरगया गाउँपालिकाले सूचना जारी गरी विद्यालय सञ्चालनमा ल्याएको छ। मोर्डन ट्रिनिटी इङ्लिस स्कुल बाढीले बगाएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरू नीलकण्ठ, शिवालयलगायत नजिकका विद्यालयमा अध्ययन गर्न थालेका छन् नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका प्रधानाध्यापक फुर्पु दोर्जे घलेका अनुसार विद्यालयमा अध्ययनरत ३५ विद्यार्थीमध्ये २५ जना विद्यार्थी सहित तीन शिक्षक तथा तीन शिक्षिका पनि बाढीमा परी बेपत्ता भएका छन्।

उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव लामिछानेका अनुसार “हाम्रो विद्यालयमा अध्ययनरत विद्यार्थीहरू विद्यालय बसको प्रतीक्षामा थिए। बसले एकपटक विद्यार्थी लिएर अर्को ठाउँबाट विद्यार्थी लिन गएको समयमा कैदलेटार र खाल्टे क्षेत्रका धेरै विद्यार्थी बाढीमा बेपत्ता भएको प्रधानाध्यापक लामिछानेले बताउनु भयो। विद्यालयमा ५ सय ८ जना विद्यार्थी अध्ययनरत थिए । बाढीमा परेर झण्डै १ सय ५० विद्यार्थी बेपत्ता भएका छन् ।

उत्तरगया गाउँपालिका शिक्षा शाखा प्रमुख बोदराज पाठकका अनुसार बाढीपछि पालिकाका कर्मचारी तथा शिक्षकसमेत बेपत्ता छन्। रमेश लामिछाने, मीननाथ न्यौपाने, सञ्जीव तामाङ, नारायणबहादुर थापा र अजयकुमार यादव, विद्यालय नर्स ममता श्रेष्ठ, बालविकास शिक्षक मनमाया तामाङ र सुकबहादुर तामाङलगायत अझै सम्पर्कमा नआएको उनले बताए।

बाढीपछि नीलकण्ठ माध्यमिक विद्यालयमा राहत सङ्कलन केन्द्र तथा प्रहरी आवासलगायतलाई व्यवस्थापन गरी विद्यालयको पठनपाठन सुचारु गरिएको प्रधानाध्यापक लामिछानेले बताउनु भयो।

जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख दुर्गा सिलवालका अनुसार गोसाइँकुण्ड गाउँपालिका–२ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयबाहेक जिल्लाका अन्य प्रभावित विद्यालयमा पठनपाठन सुरु भएको छ। गोसाइँकुण्ड–२ मा चीन सरकारको सहयोगमा निर्माण गरिएको २८ कोठे सुविधासम्पन्न भवनसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएपछि उक्त विद्यालयमा पठनपाठन सञ्चालन गर्न कठिनाइ भएको छ। बाढीमा परी जिल्लाभर २ सय ८५ विद्यार्थी बेपत्ता भएका छन् ।

बाढीका कारण जिल्लाका कर्मचारी, जनप्रतिनिधि, विदेशी नागरिक तथा सुरक्षाकर्मीलगायत पनि प्रभावित भएका छन्। बाढीमा परेर विदेशी नागरिक २ सय ९०, रसुवाका २ हजार ६ सय ७४, जिल्ला बाहिरका २ हजार ८ सय ३४ गरी ३ हजार ७ सय ९८ जना बेपत्ता रहेको उल्लेख छ। हालसम्म १ हजार ४ सय ६१ जनाको उद्धार गरिएको छ भने जिल्लाका नौ वटा होल्डिङ सेन्टरमा २ सय जना रहेका छन्।

बाढीले जिल्लाका भौतिक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ। पक्की पुल ६, झोलुङ्गे पुल १०, आर्च पुल एक तथा बेली/ट्रस ब्रिज आठ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

जेसिकाको खोजीमा परिवार

कालिका गाउँपालिका–३, धारापानी निवासी इन्द्रजित तामाङ र सिर्जना तामाङकी ६ वर्षीया छोरी जेसिका तामाङ अझै बेपत्ता छिन्। उत्तरगया पब्लिक बोर्डिङ इङ्लिस स्कुल, आग्लीटारमा अध्ययनरत जेसिकालाई बाढी आउँदै गर्दा सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीले उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएका थिए।

उद्धारपछि ती विद्यार्थी अन्य बालबालिकाको उद्धारका लागि गएको र फर्केर आउँदा आफूले जेसिकालाई छाडेको स्थानमा नदेखेको ती विद्यार्थीले अभिभावकलाई पटक–पटक बताउँदै आएका छन् ।

“जीवित उद्धार भएको खबरले उत्साह थपेको थियो। भेट्ने आशा अझै मरेको छैन,” जेसिकाकी आमा सिर्जनाले भन्नु भयो।

जेसिकाको परिवारले उनलाई कसैले देखेको वा उद्धार गरी सुरक्षित स्थानमा राखेको भए तत्काल जानकारी गराइदिन अनुरोध गरेको छ। परिवारका अनुसार जेसिकाबारे कुनै सूचना प्राप्त भएमा नजिकको प्रहरी चौकी वा उनका अभिभावकलाई खबर गरिदिन आग्रह गरिएको छ।

हेमनाथ खतिवडा