धादिङ । २०८३ असोज २६ गते
बुढीगण्डकी नदीमा आएको भीषण बाढीले घरबारविहीन बनाएपछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ आरुघाटका २ सय ५० भन्दा बढी नागरिक विद्यालयमा आश्रय लिन बाध्य भएका छन् । बाढीले घरसँगै अन्नपात, लत्ताकपडा र दैनिक उपभोग्य सामग्रीसमेत बगाएपछि विस्थापित परिवारको बास र गाँसको व्यवस्था चुनौतीपूर्ण बनेको छ ।

उनीहरु ०८३ असोज २५ गते बाढीले घर बगाएपछि विद्यालयका कोठामा आश्रय लिन पुगेका हुन् । जीवनभरको कमाइले बनाएको घर र घरभित्रका सामग्री आँखैअगाडि बगाउँदा विस्थापित परिवार शोक र अन्योलमा छन् । बालबालिका, महिला तथा ज्येष्ठ नागरिकसहितका प्रभावितलाई सुरक्षित आवास, खाद्यान्न र अत्यावश्यक सामग्रीको आवश्यकता परेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका–२ का वडाध्यक्ष कृष्ण खत्रीका अनुसार बाढीले आरुघाटको स्याउली क्षेत्रमा ७० घर बगाएको छ । आरुघाटको पुलबजार क्षेत्रमा थप सात घरमा क्षति पुगेको छ । नदी किनारका अन्य जोखिमयुक्त बस्तीका बासिन्दासमेत विस्थापित भएका छन् । बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ ।

विपद्कै दिन सहयात्री समाज नेपाल र नेपाल रेडक्रस सोसाइटीले प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरेका छन् । घरसँगै लत्ताकपडा र ओढ्ने–ओछ्याउने सामग्री गुमाएका परिवारलाई सिरक, कम्बल, झुल, बालबालिकाका कपडा तथा खाना पकाउने भाँडाकुँडालगायतका सामग्री उपलब्ध गराइएको हो । आरुघाट बजारवासी र त्रिपुरासुन्दरी गाउँपालिकाले विस्थापितका लागि सामूहिक भोजनको व्यवस्थासमेत गरेका छन् ।

बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित मोटरेबल पक्की पुल बगाएपछि दुई जिल्लाबीचको सडक यातायात सम्पर्क विच्छेद भएको छ । गोरखा र धादिङ हुँदै काठमाडौं जोड्ने वैकल्पिक सडक मार्गसमेत अवरुद्ध हुँदा स्थानीयको आवागमन र अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित हुने जोखिम बढेको छ ।

आरुघाटको पक्की पुल उत्तरी धादिङका बासिन्दाका लागि खाद्यान्न, औषधि तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने प्रमुख मार्गका रूपमा रहेको थियो । पुल बगाएपछि त्रिपुरासुन्दरी, गंगाजमुना र मानबुलगायतका क्षेत्रमा अत्यावश्यक सामग्री आपूर्ति गर्न समस्या हुने चिन्ता बढेको छ । बिरामीलाई अस्पताल पुर्याउन र स्थानीय उत्पादन बजारसम्म लैजानसमेत कठिनाइ हुने देखिएको छ ।

यसैबीच, असोज २५ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीबाट भएको क्षतिको विवरण संकलन, तत्काल राहत तथा उद्धार र विस्थापितको व्यवस्थापनलाई प्राथमिकता दिने निर्णय गरेको छ । बैठकले आरुघाटमा बेलिब्रिज निर्माणका लागि सम्बन्धित निकायसँग माग गर्ने निर्णयसमेत गरेको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार वैकल्पिक यातायात सञ्चालनका लागि धादिङबेसी–बुङ्कोटघाट–बेनिघाट सडकको स्तरोन्नति गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय भएको छ । पक्की पुल बगाएपछि अवरुद्ध सडक सम्पर्क पुनःस्थापना गर्न वैकल्पिक मार्गको सुधार र बेलिब्रिज निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
बाढीबाट घरबारविहीन भएका २ सय ५० भन्दा बढी नागरिकलाई तत्काल सुरक्षित आश्रय र आधारभूत आवश्यकताको व्यवस्था गर्नुका साथै उनीहरूको दीर्घकालीन पुनर्स्थापना सुनिश्चित गर्नु अहिलेको प्रमुख चुनौती बनेको छ । राहत वितरणसँगै आवास, जीविकोपार्जन र यातायात सम्पर्क पुनःस्थापनाका काम प्रभावकारी रूपमा अघि बढाउनुपर्ने देखिएको छ ।
सीताराम अधिकारी
HUMAN RIGHTS NEWS PORTAL