धादिङ । २०८३ भदौ २६ गते
गल्छी गाउँपालिका–६ बैरेनीका विद्यार्थीका हातमा अहिले पनि किताब र कापी छन्। पानीको बोतल छ । कसैको हातमा सानो खाजाको पोको छ । तर, उनीहरूको अनुहारमा पहिलेको जस्तो उत्साह छैन । आँखामा बाढीले छाडेको त्रास अझै देखिन्छ।

भदौ १० गतेको त्यो दिन सम्झिँदा उनीहरू झस्किन्छन्। भोटेकोशीमा आएको भीषण बाढीले बागेश्वरी माध्यमिक विद्यालयको वरिपरि तहसनहस बनायो । विद्यार्थीहरुको झोला बग्यो, किताब–कापी बग्यो तर ज्यान जोगाउन विद्यार्थी भागेर सुरक्षित ठाउँमा पुगे। विद्यालय भवनसमेत क्षतिग्रस्त भएपछि पढाइ रोकियो, तर पढाइ धेरै दिन रोकिएन।

आफ्नै विद्यालयको भग्नावशेष र वरपरका बजारका खण्डहर भवन छिचोल्दै विद्यार्थी फेरि विद्यालय जान थालेका छन्। बाढीले पुरानो विद्यालयमा पढ्ने वातावरण नष्ट गरेपछि प्राविधिक धार सञ्चालनका लागि निर्माण गरिएको महेशदोभानको नयाँ भवनमा कक्षा सुरु भएको दुई दिन भयो।

नयाँ भवन पुग्न विद्यार्थीले अझै सहज बाटो पाएका छैनन्। अमलेश्वर महादेव मन्दिर आसपासको बाढीले क्षतिग्रस्त क्षेत्र पार गर्नुपर्छ। कतै हिलो छ। कतै ढुंगा र भग्नावशेष छ। कतै बाढीले बगाएका संरचनाका अवशेष छन्। त्यही बाटो हुँदै उनीहरू विद्यालय पुगिरहेका छन्।
विद्यालय फर्किएका विद्यार्थीको अनुहार गम्भीर छ। उनीहरूबीच पहिलेको जस्तो हाँसो छैन। कतिपय विद्यार्थीका साथीका घरसमेत छैनन्। आफ्नै घर गुमाएका विद्यार्थी पनि कक्षामा फर्किएका छन्।
बाढीबाट बसोबास प्रभावित भएका १२ विद्यार्थी छन्। उनीहरूको घर बाढीले पूर्ण रूपमा बगाएको वा बस्नै नसक्ने बनाएको छ। विद्यालयका सात शिक्षकका घरसमेत प्रभावित भएका छन्। बाढीले घर, विद्यालय र समुदायको दैनिकी एकैपटक अस्तव्यस्त बनाएको बागेश्वरी माविका शिक्षक सागर लामिछाने मगर बताउनुहुन्छ।

विद्यालयका ४ सय १६ विद्यार्थीमध्ये ३ सय ४ जनाको झोला, किताब र कापी बाढीमा डुबेका वा बगेका थिए। विद्यार्थीका शैक्षिक सामग्री नष्ट भए पनि विभिन्न संघसंस्थाले ४ सय १६ जनाकै लागि झोला र कापी उपलब्ध गराएका छन्। त्यसैको भरमा विद्यार्थी फेरि कक्षामा फर्किएका छन्। तर, विद्यालय फर्किएपछि उनीहरूले अर्को समस्या सामना गर्नुपरेको छ।

विद्यालयमा खानेपानीको सहज व्यवस्था छैन। शौचालय पर्याप्त छैन। कक्षाकोठा पुग्दो छैन। फर्निचरको अभाव छ। भवनका झ्यालमा ग्रिल छैन। इन्टरनेट छैन। कम्प्युटर ल्याब र विज्ञान प्रयोगशाला बाढीले डुबाएपछि प्रयोग गर्न सकिने अवस्थामा छैनन्।

विद्यालयसम्म पुग्ने सडक र बाटोसमेत सहज छैन। विद्यालय नजिकै त्रिशूली नदी भएकाले विद्यार्थीको सुरक्षाको चिन्ता थपिएको छ। भवनभित्र अझै हिलो र धुलो छ। आवतजावत सहज बनाउन इन्टरलकिङ ब्लक आवश्यक छ। विद्यालयमा क्यान्टिनसमेत छैन।
सबैभन्दा ठूलो समस्या भने त्रिशूली नदीपारिका विद्यार्थीलाई परेको छ।

गल्छी–१ स्यालटार, मस्टार र डुम्रिचौरबाट आउने विद्यार्थीका लागि पहिले प्रयोग हुँदै आएका पुल बाढीले बगाएको छ। जिन्टे–स्यालटार पुलबाट विद्यालय आउने १७ विद्यार्थी अहिले कल्लेरीटार–गल्छी पुलबाट त्रिशूली पार गर्नुपर्ने अवस्था छ। दूरी र बाटोको कठिनाइका कारण उनीहरू नियमित विद्यालय आउन सकेका छैनन्।
महेशदोभान–मस्टारतर्फको झोलुङ्गे पुलबाट आउने ९ विद्यार्थीले पनि अहिले केउरेनीटार–मस्टार पुल प्रयोग गर्नुपर्ने भएको छ। उनीहरूका लागि पनि विद्यालय आउजाउ निकै कठिन बनेको छ। बाढीले पुल मात्र बगाएको छैन। विद्यार्थीको सहज विद्यालय यात्रा पनि बगाएको छ।

त्यसैले नयाँ भवनमा कक्षा सुरु भए पनि सबै विद्यार्थीका लागि विद्यालय खुलेको अनुभूति हुन सकेको छैन। यही क्षेत्रमा रहेको अमलेश्वर गुरुकुल विद्यालयको अवस्था झन् पीडादायी छ। बाढीले विद्यालयलाई पुनः सञ्चालन गर्न नसकिने अवस्थामा पुर्याएको छ। गुरुकुलमा रहेका २२ विद्यार्थीका बस्ने, पढ्ने र सुत्ने स्थानदेखि कपडा, किताब र अन्य सामग्री सबै नष्ट भएका छन्। बाढी आउन लागेको सूचना समयमै पाएपछि विद्यार्थीले भने ज्यान जोगाउन सकेका थिए ।
गुरुकुल पुनः सञ्चालनका लागि गल्छी गाउँपालिका–६ का वडा अध्यक्ष दीपक कार्की स्थान व्यवस्थापनमा लागिरहनुभएको छ। तर, विद्यार्थी राखेर पढाउन सकिने उपयुक्त स्थान अझै भेटिन नसकेको उहाँ बताउनुहुन्छ ।
गुरुकुलका विद्यार्थी कहिले फेरि कक्षामा फर्किन्छन् भन्ने निश्चित छैन। तर, बागेश्वरी मा.विका विद्यार्थी भने भग्नावशेष छिचोल्दै कक्षाकोठामा पुग्न थालेका छन्।

उनीहरूको हातमा नयाँ झोला छ। केही किताब र कापी छन्। साथमा खाजा र पानीको बोतल छ। तर उनीहरूले बोकेको सबैभन्दा ठूलो कुरा भने बाढीपछि पनि पढाइलाई निरन्तरता दिने साहस हो।
बाढीले विद्यालयको भवन भत्कायो। किताब–कापी बगायो। पुल बगायो। कतिपय विद्यार्थीका घर बगायो। तर विद्यार्थीको पढ्ने चाहना भने बगाउन सकेन।
भग्नावशेषमाथि उभिएको बागेश्वरीको नयाँ कक्षाकोठामा अहिले सोहि चाहनाको सुरुवात भएको छ।

सीताराम अधिकारी
HUMAN RIGHTS NEWS PORTAL