धादिङ । २०८३ भदौ ३० गते
कक्षा १० की सुमित्रा चेपाङलाई ०७२ साल वैशाख १२ गतेको भूकम्पले दिएको त्रास घरमा हुँदा केही कम भएजस्तो लाग्छ । तर, विद्यालय पुग्नेबित्तिकै पुरानो भवनको छतमा लगाइएका फलामे टेका देख्दा त्यो त्रास फेरि बल्झिन्छ । भूकम्पले क्षति पुर्याएको भवनका कक्षाकोठामा छत नखसोस् भनेर फलामे टेका लगाएर अड्याइएको छ । त्यही टेकामुनि बसेर सुमित्रासहितका विद्यार्थी दैनिक पढिरहेका छन् । भूकम्प आएको अवस्थामा कसरी ज्यान जोगाउने भन्ने चिन्ता बोकेर पढ्नुपर्ने अवस्था रहेको सुमित्रा बताउनुहुन्छ । बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारस्थित शंखादेवी माध्यमिक विद्यालयमा अहिले भूकम्पको जोखिमसँगै भोटेकोशी बाढीको जोखिमसमेत थपिएको छ । बाढीले विद्यालयको तल्लो भागको सपोर्ट पर्खाल भत्काएपछि भवन र विद्यालय परिसर थप जोखिममा परेको हो । छात्रावासको तल र पछाडिको भागसमेत त्रिशूली नदीको कटानले क्षतविक्षत बनेको छ । भूकम्प गएको ११ वर्ष बितिसक्दा पनि विद्यालयको भवन पुनर्निर्माण हुन सकेको छैन । २०७२ को भूकम्पपछि विद्यालय ‘रातो स्टिकर’ मा परेको थियो । पुनर्निर्माणका लागि छनोटमा परे पनि विद्यालयका १२ वटा कक्षाकोठा अहिले पनि फलामे टेका लगाएर अड्याइएको अवस्थामा छन् । “भूकम्पको बेला भागेको सम्झना घरमा हुँदा बिस्तारै हराएजस्तो हुन्छ, तर विद्यालय आएपछि फेरि त्यही डर लाग्छ,” कक्षा १० की सुमित्रा चेपाङले भन्नुभयो, “भूकम्प आयो भने यो भवनमा बसेर ज्यान जोगाउन कठिन हुन्छ । त्यसमाथि अहिले बाढीले विद्यालयको तलको भाग नै कटान गर्न थालेपछि झन् डर लाग्छ ।”
विद्यालयमा कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । हाल ५ सय ३६ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये १ सय ७८ जना चेपाङ समुदायका विद्यार्थी छन् । विद्यालयको छात्रावासमा बसेर अध्ययन गर्ने चेपाङ विद्यार्थीको सङ्ख्या मात्रै १ सय रहेको छ । कक्षा ९ मा ७२ जना र कक्षा १० मा ५७ जना विद्यार्थी अध्ययनरत छन् । चेपाङ समुदायको बाहुल्य रहेको यस विद्यालयमा विपन्न तथा दुर्गम क्षेत्रका विद्यार्थी अध्ययनरत हुनुहुन्छ । उहाँहरूका लागि विद्यालयमा निःशुल्क छात्रावासको व्यवस्था रहे पनि सुरक्षित भवनको अभावमा जोखिम मोलेर अध्ययन गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक तिलक चेपाङले बताउनुभयो । कक्षा ९ का भोजबहादुर चेपाङले भूकम्पपछि विद्यालयको भवन बन्ने आशामा ११ वर्ष बितिसकेको बताउनुभयो । “संघीय सरकारले ध्यान दिएर विद्यालय भवन बनाइदिन्छ भन्ने आशा थियो । अब छिट्टै सुरक्षित भवन बनोस् भन्ने चाहना छ,” उहाँले भन्नुभयो । विद्यालयका प्रधानाध्यापक चेपाङका अनुसार भूकम्पले क्षति पुर्याएको भवनमा विद्यार्थीलाई सुरक्षित राखेर पठनपाठन सञ्चालन गर्न कठिन भइरहेको छ । भवनलाई तत्कालीन रूपमा फलामे टेका लगाएर अड्याइए पनि लामो समयसम्म त्यसैमा भर पर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । “भूकम्पले क्षति पुर्याएको भवनमा विद्यार्थी पढिरहेका छन् । अहिले भोटेकोशीको बाढीले विद्यालयको तल्लो भागको सपोर्ट पर्खाल भत्काएको छ । छात्रावासको पछाडिको भाग पनि त्रिशूली नदीको कटानमा परेको छ,” प्रधानाध्यापक चेपाङले भन्नुभयो, “जोखिम बढ्दै गए पनि विद्यार्थीलाई त्यही भवनमा पढाउनुपर्ने बाध्यता छ ।”
भूकम्पपछि विद्यालय पुनर्निर्माणका लागि सरकारी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहरूले विभिन्न क्षेत्रमा काम गरे पनि चेपाङ समुदायका बालबालिका अध्ययन गर्ने यस विद्यालयको पुनर्निर्माणले अपेक्षित गति लिन नसकेको विद्यालय प्रशासनको भनाइ छ । संघीय सरकारबाट पुनर्निर्माण नभए अन्य निकायले मात्रै विद्यालयको यति ठूलो संरचना निर्माण गर्न सक्ने अवस्था नरहेको प्रधानाध्यापक चेपाङले बताउनुभयो । यसपटक भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनःस्थापनाको काम अघि बढ्दा शंखादेवी माध्यमिक विद्यालयलाई पनि प्राथमिकतामा राख्नुपर्ने माग विद्यालय परिवारको छ । बाढीले थप क्षति पुर्याउन थालेको अवस्थामा पनि प्रभावित संरचनाको सूचीमा विद्यालयलाई पर्याप्त रूपमा समेट्न नसकिएको गुनासो विद्यालय प्रशासनको छ । भूकम्पको ११ वर्षसम्म असुरक्षित भवनमा पढेका विद्यार्थीका लागि अहिले बाढी र नदी कटानको जोखिम थपिएको छ । भूकम्पको डरले भाग्नुपर्ने अवस्था सम्झँदै आएका विद्यार्थी अहिले विद्यालय भवन र जमिन नै जोखिममा परेपछि ‘त्रासमाथि त्रास’ बोकेर पढ्न बाध्य छन् । चेपाङ समुदायका विपन्न बालबालिकाले आश्रय लिएर पढिरहेको यस विद्यालयको सुरक्षित पुनर्निर्माण अब केवल भौतिक संरचना निर्माणको विषय नभई विद्यार्थीको जीवन सुरक्षासँग जोडिएको विषय बनेको छ । त्यसैले बाढीपछिको पुनर्निर्माणका क्रममा सरकारले शंखादेवी माध्यमिक विद्यालयको जोखिमलाई प्राथमिकतामा राखेर सुरक्षित भवन निर्माण गर्नुपर्ने माग स्थानीय तथा विद्यालय परिवारले गरेका छन् ।


सीताराम अधिकारी
HUMAN RIGHTS NEWS PORTAL