धादिङ । २०८३ असोज ५ गते
भोटेकोशी बाढीमा पति गोपी राई बेपत्ता भएपछि गजुरी गाउँपालिका–५ की शर्मिला राईको परिवारको सहारा नै खोसिएको छ। पतिको खोजी गर्न जाने मानिससमेत नभएको यो परिवार अहिले आम्दानी, खाद्यान्न, लत्ताकपडा र बालबालिकाको शिक्षासम्मको अभाव झेलिरहेको छ।

गोपी मजदुरी गरेर परिवार पाल्दै आएका थिए। बाढीमा उनी बेपत्ता भएपछि शर्मिलाको काँधमा साना छोरा–छोरीको जिम्मेवारी आइपरेको छ। केही वर्षअघि शर्मिलाका ससुरा र देवरको समेत सवारी दुर्घटनामा मृत्यु भएको थियो। परिवारका पुरुष सदस्य गुमाउँदै आएको यो परिवारमाथि भोटेकोशी बाढीले अर्को ठूलो बज्रपात थपिदिएको छ।
गोपी मजदुरीका लागि घरबाहिर गएका थिए। उनी बेपत्ता भएपछि घरको आम्दानीको स्रोत नै बन्द भयो। दैनिक गुजारा चलाउन खाद्यान्नको अभाव भयो। बालबालिकाका लागि पढ्ने कापी–कलमदेखि लगाउने कपडासम्म जुटाउन कठिन भयो। तर नदी किनारमा घर भएका वा घर नै बगाएका परिवारले राहतका प्याकेज पाइरहँदा शर्मिलाको परिवार भने बाढी प्रभावितको सूचीमा नपर्दा राहतबाट वञ्चित रह्यो।

‘घर बगेको छैन, तर घर चलाउने मान्छे नै छैन’ भन्ने अवस्थाबाट गुज्रिरहेकी शर्मिलाले राहत नपाउँदा थप समस्या भोगिरहनुपरेको थियो। उनको परिवारको पीडा बाढीले घर बगाएका परिवारको भन्दा कम थिएन, तर राहत वितरणको प्रक्रियामा उनीहरूको अवस्था ओझेलमा परेको थियो।
पीडितको माग र अवस्थालाई आधार बनाएर अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शर्मिलाको परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ। इन्सेक बागमती प्रदेश प्रमुख शिव खकुरेलले परिवारलाई ग्यास चुलो, डसना, जिरा चामल तथा अन्य खाद्यान्न, सरसफाइका सामग्री, लगाउने कपडा, सिरक, झुल, कापी–कलम, तेलचिनीलगायत आवश्यक सामग्री हस्तान्तरण गर्नुभयो।
राहत सामग्री पाएपछि शर्मिलाको परिवारलाई तत्कालको दैनिक गुजारा चलाउन केही सहज भएको छ। तर राहतले तत्कालको अभाव टारे पनि परिवारको मुख्य समस्या भने गोपीको अवस्था र स्थायी आम्दानीको अभाव नै हो। साना बालबालिकाको पालनपोषण, शिक्षा र दैनिक जीवन शर्मिलाका लागि अझै ठूलो चुनौती बनेको छ।

यसैगरी, खकुरेल समाजले इन्सेकको समन्वयमा गजुरी गाउँपालिका–२ बिहानी पम्पमा रहेका दुई जना सुत्केरी महिलालाई पनि सहयोग गरेको छ। उनीहरूलाई फाइबर सिरक तथा न्यानो कपडा र साडी उपलब्ध गराइएको छ। बाढी प्रभावित क्षेत्रका सुत्केरी महिलालाई चिसोबाट जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री उपलब्ध गराइएको हो।
बाढीले कसैको घर बगाएको छ, कसैको सम्पत्ति, रोजगारी र परिवारको सहारा खोसेको छ। राहतको आवश्यकता घरको भौतिक क्षतिमा मात्र सीमित नभएको शर्मिलाको परिवारको अवस्थाले देखाएको छ। बाढीमा घर जोगिए पनि परिवारको कमाउने सदस्य बेपत्ता हुँदा जीवन नै संकटमा परेको परिवारलाई पनि पीडितका रूपमा पहिचान गरी राहत र संरक्षणको दायरामा ल्याउनुपर्ने आवश्यकता देखिएको छ।
सीताराम अधिकारी
HUMAN RIGHTS NEWS PORTAL