बारा । २०८३ असोज ३१ गते
जितपुरसिमरा उपमहानगरपालिकाले भोटेकोशी बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण प्रमाणीकरणका लागि पीडित परिवारसँग निवेदन माग गरेको छ। उपमहानगरपालिकाका उपसचिव हरिशंकरप्रसाद कुर्मीले २०८३ असोज २८ गते सूचना जारी गर्दै पाँच दिनभित्र आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्न आग्रह गरीएको जानकारी दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय बाराको असोज २७ गतेको पत्र तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार स्वीकृत बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रियाबमोजिम सूचना जारी गरिएको उपसचिव कुर्मीले बताउनुभयो। सूचनाअनुसार बेपत्ता व्यक्तिका एकाघरका परिवारका सदस्यले निजको नाम, थर, ठेगाना र उमेर खुल्ने सरकारी वा अन्य पहिचानसम्बन्धी कागजात, नाता प्रमाणित हुने प्रमाण तथा उक्त बाढीमा परी बेपत्ता भएको व्यहोराको स्वघोषणासहित सूचना प्रकाशन भएको मितीले ५ दिन भित्र निवेदन दिनुपर्नेछ। बेपत्ता व्यक्तिहरूको विवरण यकिन तथा प्रमाणीकरण गरी आधिकारिक अभिलेख तयार गर्ने उद्देश्यले परिवारजनसँग आवश्यक विवरण माग गरेको उपमहानगरपालिकाले जनाएको छ ।
पवन यादव
HUMAN RIGHTS NEWS PORTAL