सर्लाही । २०८३ असोज १४ गते

रसुवाको भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको बाढीपछि सम्पर्कविहीन भएका सर्लाहीका २५ जनामध्ये चार जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन् । २१ जना भने अझै सम्पर्कविहीन छन् ।

बाढी आएको ३४ दिन बितिसक्दा पनि अवस्था थाहा हुन नसकेपछि ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीका २९ वर्षीय गोविन्द यादवको परिवारले कुशको शव बनाएर असोज १३ गते स्थानीय झिम नदीको पूर्वी किनारमा दाहसंस्कार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार हालसम्म सम्पर्कमा नआएका २१ जनामा लालबन्दी नगरपालिका–९ का ५२ वर्षीय माधव काफ्ले र २२ वर्षीय अनोज काफ्ले, लालबन्दी–५ का ४९ वर्षीय कृष्णप्रसाद धमला, ५० वर्षीया दवारीका डंगोल र ५२ वर्षीय चिरञ्जीवी खतिवडा रहेका छन् ।

त्यस्तै, लालबन्दी–१४ का जयबहादुर गोले, मानबहादुर गोले र सुनमाया गोले तथा लालबन्दी–१६ का लालबहादुर बलमपाकी पनि सम्पर्कविहीन छन् । हरिवन नगरपालिका–५ का ३० वर्षीय सुनिल कुशवाहा, हरिवन–११ का २८ वर्षीय नवीन कायस्थ र १८ वर्षीय सक्षम कार्की तथा ईश्वरपुर नगरपालिका–७ पोखरियाका ५२ वर्षीय लक्ष्मणबहादुर श्रेष्ठको अवस्था पनि अज्ञात छ ।

यसैगरी, मलंगवा नगरपालिका–१० का अन्दाजी २६ वर्षीय दीपक साह, बागमती नगरपालिका–१० शंकरपुरका ४४ वर्षीय सिकिन्द्र राय भनिने राम र ४५ वर्षीय रामप्रवेश राय, बागमती–६ राजघाटका ३३ वर्षीय सुमन दाहाल, हरिपुर नगरपालिका–२ का २७ वर्षीय अविनास चौधरी, हरिपुर–७ चिताइनका अनुजकुमार दाहाल तथा बरहथवा नगरपालिका–७ का सुमित स्याङ्गो पनि सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

बाढीपछि सम्पर्कविहीन भएकामध्ये चार जना भने परिवार तथा आफन्तको सम्पर्कमा आएको प्रहरीले जनाएको छ । बाँकीको खोजी तथा अवस्था पहिचानका लागि सम्बन्धित निकायबाट प्रयास भइरहेको छ ।

बुधन साह