मकवानपुर । २०८३ असोज २८ गते
जिल्ला प्रशासन कार्यालय मकवानपुरको विवरणअनुसार ०८३ भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि मकवानपुरका ५८ जना हाल सम्म सम्पर्कविहीन छन् ।
प्रशासनका अनुसार थाहा नगरपालिकाका २०, मनहरी गाउँपालिकाका चार, मकवानपुरगढी गाउँपालिकाका तीन, भीमफेदी गाउँपालिकाका दुई, बकैया गाउँपालिकाका तीन, इन्द्रसरोवर गाउँपालिकाका दुई, कैलाश गाउँपालिकाका दुई र राक्सिराङ गाउँपालिकाका एक जना सम्पर्कविहीन छन्। भीमफेदीका एक जनाको मृत्यु भएको पनि प्रशासनले जनाएको छ। बागमती गाउँपालिकामा भने बाढीबाट प्रभावित भएको विवरण छैन।
सम्पर्कविहीन भएकामध्ये ४१ जना चालक, १५ जना मजदुर, एक जना नेपाली सेनाका जमदार र एक जना इन्जिनियर रहेको प्रशासनको तथ्यांक छ ।
बाढीमा फसेका मकवानपुरका ४५ जनालाई रसुवा र नुवाकोटका विभिन्न क्षेत्रबाट उद्धार गरिएको थियो। बाढीमा परी मकवानपुरका चार जनाको मृत्यु पुष्टि भइसकेको छ। उनीहरूका आफन्तले शव बुझेर दाहसंस्कार गरिसकेका छन्।
प्रशासनका अनुसार मृत्यु पुष्टि भएका व्यक्तिमा हेटौँडा–१५ का सुमन गोले, हेटौँडा–५ का उद्धव खड्का, हेटौँडा–१५ का रमेश मगर र भीमफेदी–२ का सविन राना छन्।
मन्जिता मैनाली
HUMAN RIGHTS NEWS PORTAL