रसुवा । २०८३ असोज २३ गते
भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको बाढीले १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ । आयोजनाको उत्पादन ठप्प हुँदा प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आम्दानी, नगद प्रवाह र ऋण भुक्तानी क्षमतामा गम्भीर असर पर्ने देखिएको छ ।
कम्पनीका अनुसार हाल अल्पकालीन र दीर्घकालीन गरी कुल १७ अर्ब ७० करोड रुपियाँ ऋण रहेको छ । आयोजना लामो समयसम्म सञ्चालनमा आउन नसके नियमित आम्दानी प्रभावित हुने र ऋणको ब्याज तथा किस्ता भुक्तानीमा वित्तीय दबाब बढ्ने कम्पनीले जनाएको छ ।
बाढीले गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेस्थित आयोजनाको बाँधस्थलका बाहिरी संरचना, विद्युतगृह, साइट कार्यालय, कर्मचारी आवास, सवारीसाधन, भारी उपकरण, पुल तथा पहुँचमार्गमा व्यापक क्षति पुर्याएको छ । भूमिगत विद्युतगृहमा लेदो भरिनुका साथै इलेक्ट्रोमेकानिकल उपकरण र प्रसारण लाइनका तीनवटा टावरमा पूर्ण क्षति पुगेको कम्पनीले जनाएको छ ।
स्याफ्रुबेंसीदेखि आयोजनास्थलसम्मको करिब १६ किलोमिटर सडकखण्डका चारवटा पक्की पुल र पहुँचमार्गसमेत क्षतिग्रस्त भएका छन् । सडक तथा पहुँचमार्ग पुनर्निर्माण नभएसम्म आयोजना पुनःस्थापनाको काम अघि बढाउन कठिन हुने कम्पनीको भनाइ छ ।
आयोजनामा भएको क्षतिको व्यवस्थापनका लागि कम्पनीले बीमा दाबी प्रक्रिया अघि बढाएको छ । भौतिक संरचना, मेसिनरी तथा कर्मचारीको बीमा चालु रहेकाले बीमा कम्पनीलाई औपचारिक जानकारी गराइएको छ । तर, वास्तविक क्षति र पुनर्निर्माण लागतको विस्तृत मूल्याङ्कनपछि मात्रै बीमाबाट प्राप्त हुने रकमले पुनर्निर्माण खर्च कति धान्न सक्छ भन्ने स्पष्ट हुने कम्पनीले जनाएको छ ।
प्राविधिक मूल्याङ्कन, बीमा दाबीको टुङ्गो र पुनर्निर्माण लागतका आधारमा मात्रै आयोजना पुनः सञ्चालनमा आउने समय यकिन हुने बताइएको छ । हाल उत्पादन बन्द रहँदा आम्दानी प्रभावित हुनुका साथै पुनर्निर्माण र ऋण व्यवस्थापन कम्पनीका प्रमुख चुनौती बनेका छन् ।
यसैबीच, बाढीका कारण आयोजनामा कार्यरत ९२ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन भएका छन् । उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पर्वतारोही, इन्जिनियर तथा सुरुङ विज्ञहरूको टोली परिचालन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार खोजीका क्रममा एक जना कर्मचारीको शव फेला परेको छ र पहिचानसमेत भइसकेको छ । अन्य सम्पर्कविहीनहरूको खोजी जारी रहेको कम्पनीले जनाएको छ ।
हेमनाथ खतिवडा
HUMAN RIGHTS NEWS PORTAL