मकवानपुर । २०८३ असोज ५ गते
रसुवा जिल्लामा भदौ १० गते आएको बाढीपछि सम्पर्कविहीन भएका मकवानपुरका ४५ जनाको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले ०८३ असोज २ गते सार्वजनिक गरेको एकीकृत विवरणमा उक्त तथ्य उल्लेख गरिएको हो।
प्रशासनको पछिल्लो विवरणअनुसार रसुवा बाढीमा परी मकवानपुरका चार जनाको मृत्यु पुष्टि भएको छ भने ५८ जना अझै सम्पर्कविहीन छन् ।
विवरणअनुसार हेटौँडा उपमहानगरपालिकाका २१ जना अझै सम्पर्कविहीन छन् भने तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । थाहा नगरपालिकाका २० जना, मनहरी गाउँपालिकाका चार जना, मकवानपुरगढी गाउँपालिकाका तीन जना, भीमफेदी गाउँपालिकाका दुई जना, बकैया गाउँपालिकाका तीन जना, इन्द्रसरोवर गाउँपालिकाका दुई जना, कैलाश गाउँपालिकाका दुई जना र राक्सिराङ गाउँपालिकाका एक जना सम्पर्कविहीन छन् ।
भीमफेदीका एक जनाको मृत्यु भएको प्रशासनले जनाएको छ । बागमती गाउँपालिकाबाट भने कोही पनि प्रभावित नभएको विवरणमा उल्लेख छ ।
हालसम्म सनाखत भएका मृतकमा हेटौँडा उपमहानगरपालिका–१५ का सुमन गोले, हेटौँडा उपमहानगरपालिका–५ का उद्धव खड्का, हेटौँडा उपमहानगरपालिका–१५ का रमेश मगर र भीमफेदी गाँउपालिका–२ का सविन राना रहेका छन्।
प्रशासनले सम्पर्कविहीनहरूको खोजी तथा उद्धारसँगै उहाँहरूको अवस्थाबारे जानकारी संकलन गर्ने कार्य जारी रहेको जनाएको छ।
मञ्जिता मैनाली
HUMAN RIGHTS NEWS PORTAL