जुम्ला । २०८३ असोज २० गते

रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन छन्। बाढीपछि ३० जना भने परिवारको सम्पर्कमा आएका छन्। सम्पर्कमा आएकामध्ये पातारासी गाउँपालिकाका २४, गुठीचौरका एक, सिंजाका तीन, हिमाका एक र कनकासुन्दरीका एक जना छन्।

सम्पर्कविहीन हुनेमा पातारासी गाउँपालिकाका ४९, गुठीचौरका नौ, चन्दननाथ नगरपालिकाका चार र सिंजा गाउँपालिकाका एक जना छन्। पातारासी–४ लाम्रीका १५ र तिर्खुका नौ गरी २४ जना, वडा नम्बर ५ का माथिलोर्पाका १०, तलिलोर्पाका चार र जम्नाका दुई गरी १६ जना तथा वडा नम्बर ६ वाताका आठ र वडा नम्बर २ तल्फीका एक जना अझै सम्पर्कमा आएका छैनन्।

गुठीचौर–१ चोत्रका दुई, वडा नम्बर २ मुडुरीका तीन, गोठीगाउँका तीन र वडा नम्बर ५ फोईका एक जना गरी नौ जना बेपत्ता छन्। चन्दननाथ–२ खोलीकोटका दुई, वडा नम्बर १ रानागाउँका एक र वडा नम्बर १० का एक जना तथा सिंजा–३ का एक जना पनि अझै सम्पर्कविहीन छन्।

लामो समयसम्म आफन्तको कुनै खबर नआएपछि कतिपय परिवारले कुशको शव बनाएर परम्पराअनुसार अन्त्येष्टि गरिसकेका छन्। तर, उनीहरूको मनले अझै आफन्त जीवितै फर्किने आशा छाडेको छैन। लास नदेखेका र सासको खबर नपाएका परिवारका लागि बाढी गएको लामो समय बितिसक्दा पनि पीडा उस्तै छ।

आफन्त बेपत्ता भएपछि परिवार आर्थिक, मानसिक र सामाजिक संकटमा छन्। कतिपय परिवारका कमाउने सदस्य नै सम्पर्कविहीन भएपछि दैनिक जीवनयापनमा समेत समस्या थपिएको छ। आफन्तको खोजी, राहत, क्षतिपूर्ति तथा राज्यबाट आवश्यक सहयोगको पर्खाइमा रहेका परिवार अब सरकारले आफ्नो खोजी र पुनःस्थापनाको जिम्मेवारी गम्भीरतापूर्वक लिनुपर्ने बताउँछन्।

सम्पर्कविहीन आफन्तको खोजीमा राज्यले अहिलेसम्म के गरिरहेको छ ? अब राज्यले के गर्नुपर्छ ? लामो समयसम्म आफन्तको अवस्था थाहा नपाउँदा परिवारले कस्तो पीडा भोगिरहेका छन् ? उनीहरूका तत्कालका माग र अपेक्षा के छन् ? र यो अवस्थाले राज्यप्रति उनीहरूको धारणा कस्तो बनाएको छ ?

यिनै विषयमा इन्सेक जुम्ला प्रतिनिधि मानदत्त रावलले सम्पर्कविहीन व्यक्तिका परिवारका सदस्य तथा सरोकारवालासँग गरेको कुराकानीको सम्पादित अंश ।

सुकराम बुढा
पतारासी गाउँपालिका–४ लाम्रीगाउँ

रसुवाको भोटेकोशी बाढीमा पातारासी गाउँपालिका–४ लाम्री गाउँका भदौ १० गते छोरा १८ वर्षीय विशाल बुढा र भाई सुरेन्द्र बुढा बेपत्ता भए । एकै पटक दुई भाईछोरा गुमाउनु पर्ने स्थिति आयो । घरमा ५७ वर्षकी बृद्ध आमा छन् । भाईको परिवार (पत्नी) र दुई छोरी छन् । एकतिर भाईको घरपरिवार पीडामा परेको छ । अर्काेतिर मेरो घरपरिवारले पनि पीडा खेप्नु परेको छ । अब साथमा एक अपांगता भएको छोरा छ । समयमा राम्रोसँग छिटोछरितो खोजतलास गरेको भए भेटिन्छन् कि भन्ने आसा थियो । अब त विस्तारै आसा मर्दै गयो ।

नरेश बोहरा
गुठीचौर गाउँपालिका–२ गोठीगाउँ


१८ वर्षीय भाई विष्णु बोहरा भारतबाट घर नआएरै रोजगारीका लागि रसुवा पुगेको थियो । दशैँमा घर आएर भेटघाट गर्ने र त्यसपछि वैदेशिक रोजगारीका लागि तयारी गर्ने योजना थियो । रसुवाको भोटेकोशी बाढीमा भाई बेपत्ता भयो । दुई दाजुभाईले जेनतेन गरेर घरपरिवार चलाएका थियौं । घरमा बुवाआमा बृद्ध छन् । खेतबारीको उत्पादनले वर्षभरी खान मुक्दैन ६ महिना ज्याला मजदुरी गरेर घर व्यवहार चलाउदै आएको थियो । सरकारले अब खोजी र राहतमा सहयोग पुयाउने छ भन्ने अपेक्षा राखेका छौं ।

कृष्ण बुढा
शिक्षक, ऋणमोक्ष मावि पातारासी

रसुवाको भोटेकोशी बाढीमा पातारासी गाउँपालिकाले ठुलो क्षति व्यहोर्नुपर्ने अवस्था आयो । यहाँका ४९ जना युवा जनशक्ति नै बाढीमा बेपत्ता भए । लामो समयसम्म सम्पर्कमा आउन सकेका छैनन् । हाम्रो विद्यालयकै दुई जना विद्यार्थी रसुवा बाढीमा बेपत्ता भए । कक्षा ९ मा अध्ययनरत विशाल बुढा र कक्षा १२ मा अध्ययनरत हिक्मत बुढा भोटेकोशी बाढीमा बेपत्ता भए । यहाँका गरिवि छ । आफ्नो खेलबारीको उत्पादनले ६ महिना पनि खान पुग्दैन । यहाँ बेरोजगार पनि उत्तिकै छ । जिविकोपार्जनकै लागि भएपनि यहाँका युवाहरु कहिले पाटनमा यार्सा संकलन गर्न जान्छन् । कहिले यस्तै रसुवा जस्तो ठाउँमा ज्यालामजदुरीका लागि जानु पर्ने बाध्यता छ ।

कल्पना नेपाल आचार्य
प्रमुख, राष्ट्रिय मानवअधिकार आयोग, जुम्ला


विपद्को समयमा आफ्ना नागरिकको जीवनको सुरक्षा गर्नु राज्यको प्राथमिक दायित्व हो । घरको मुख्य कमाउ व्यक्ति बेपत्ता हुँदा परिवारको दैनिक जीवनयापन, पोषण र बसोबासको मौलिक अधिकारमा प्रत्यक्ष असर परेको छ ।

अधिकांश प्रभावित परिवारमा गर्भवती महिला, सुत्केरी र ३–४ वर्षका साना बालबालिका रहेकाले उनीहरूको स्वास्थ्य, विशेष पोषण, र मातृत्वको अधिकार जोखिममा परेको छ । अभिभावक वेपत्ता हुँदा साना बालबालिकाको संरक्षण, उचित हेरचाह, पोषण र शिक्षा पाउने मौलिक अधिकार खोसिएको छ ।

वेपत्ता भएका व्यक्तिहरूको स्थिति, खोज तथा उद्धारको अद्यावधिक अवस्थाबारे परिवारले निरन्तर र आधिकारिक सूचना पाउने अधिकार हुन्छ । अनिश्चितता र शोकका कारण परिवारका सदस्यहरूमा परेको गम्भीर मानसिक आघातलाई सम्बोधन नगर्नु सामाजिक सुरक्षाको अधिकारको उल्लङ्घन भएको देखिन्छ ।

बाढी प्रभावित परिवारका गर्भवती महिलाहरूका लागि नियमित गर्भजाँच, पोषणयुक्त भोजन र सुरक्षित प्रसूति सेवाको ग्यारेन्टी गर्नुपर्दछ । ३–४ वर्षका बालबालिकाहरूका लागि तत्काल पौष्टिक आहार र निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने छ ।
अचानक परिवारको मुख्य आधार गुमाउँदा परेको मानसिक आघात कम गर्न पातारासी र गुठीचौरका प्रभावित बस्तीहरूमै पुगेर मनोसामाजिक परामर्शदाता मार्फत सेवा दिर्नुपर्ने अवस्था देखिएको छ ।

वेपत्ताका परिवारलाई दैनिक गुजारा चलाउन स्थानीय तह (पातारासी र गुठीचौर गाउँपालिका) तथा प्रदेश÷संघीय सरकारको तर्फबाट तत्काल राहत कोषबाट आर्थिक सहायता र खाद्यान्न उपलब्ध गराउनु पर्दछ ।

साना बालबालिका र गर्भवती÷एकल आमाहरूका लागि दीर्घकालीन सामाजिक सुरक्षा भत्ता तथा जीवनयापनका लागि विशेष आर्थिक सहायता प्याकेज ल्याउन जरुरी छ । परिवारका मुख्य आयस्रोत नै वेपत्ता भएकाले ती महिलाहरूलाई उनीहरूको क्षमता अनुसारको सीपमूलक तालिम र स्वरोजगारका लागि बिना धितो सहुलियतपूर्ण ऋण वा अनुदान उपलब्ध गराउनु पर्ने अवस्था देखिएको छ ।

कर्णालीका दुर्गम क्षेत्रबाट कामको खोजीमा अन्य जिल्ला पुग्ने श्रमिकहरूको सुरक्षित श्रम वातावरण, पञ्जीकरण र विपद् बीमाको व्यवस्था अनिवार्य गर्नुपर्ने देखिएको छ ।

जनमाया रोकाया
उपाध्यक्ष, पातारासी गाउँपालिका

बाढीपीडित परिवारलाई गाउँपालिकाले राहतसमेत उपलब्ध गराएको छ । ४९ जना परिवारलाई प्रतिपरिवार ४१ हजार रुपैयाँका दरले नगद राहत र एक बोरा चामल वितरण गरिएको छ । गाउँपालिकाको कार्यविधिअनुसार तत्काल ३० हजार रुपैयाँ र सहयोगी दाताबाट प्राप्त ११ हजार रुपैयाँ गरी प्रतिपरिवार ४१ हजार रुपैयाँ उपलब्ध गराइएको हो । स्थानीय जंगवीर बोहोराको अगुवाइमा पाँच लाख ७७ हजार रुपैयाँ संकलन भएको थियो भने गाउँपालिकाले १४ लाख ७७ हजार रुपैयाँ उपलब्ध गराएको हो । बाँकी राहत पनि उपलव्ध गर्ने तयारी गरिएको छ । प्रति परिवार एक लाख राहत उपलव्ध गर्ने स्थानीय विपद् व्यवस्थापन समितिले निर्णय गरेको छ । पहिलो चरणमा ४१ हजार रुपैयाँ उपलब्ध भएको छ । दोस्रो चरणमा बाँकी ५९ हजार रुपैयाँ राहत उपलब्ध गर्ने निर्णय गरेका छौँ ।

तेजप्रकाश प्रसाई

प्रमुख जिल्ला अधिकारी

भोटेकोशी बाढीमा परी जुम्लाका ६३ जना अझै सम्पर्कमा आउन सकेका छैनन् । कामका सिलसिलामा रसुवा पुगेका पातारासी गाउँपालिकाका ४९ जना, गुठीचौर गाउँपालिकाका नौ जना, चन्दननाथ नगरपालिकाका चार जना र सिंजा गाउँपालिकाका एक जना गरी ६३ जना सम्पर्कविहीन रहेका छन् । उनीहरुको राहतका लागि पहल भईरहेको छ । गृहमन्त्रालयमा पत्रचार गरिएको छ । प्रतिपरिवार १० लाख रुपैयाँ राहतका दरले ६३ जनालाई बजेट माग गरेका छौँ । यस भन्दा अघि सम्पर्कविहीन भएका व्यक्तिलाई मृत्यु घोषणा कसरी गर्ने । यस विषयमा पनि गृहमन्त्रालयमा पत्रचार गरिएको छ । सम्पर्कविहीनलाई मृत्यु घोषणा गर्न नमिल्ने कानुनी अट्चन छ । अहिलेको विद्यमान कानुन अनुसार सम्पर्कविहीन भएका १२ वर्षपछि मृत्यु घोषणा गर्न मिल्ने प्रावधान छ । यो जटिलतालाई समाधान गरेर प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलबध गर्ने गरी योजना बनेको छ । अर्काे प्रदेशले दिने भनेको विपद् जोखिम बीमाको कुरा छ । यस विषयमा पनि पहल भई रहेको छ ।