रसुवा । २०८३ कात्तिक २ गते


लेन्दे खोलाहुँदै भोटेकोशीमा ०८३ भदौ १० गते आएको विनाशकारी बाढीले गोसाइँकुण्ड गाउँपालिका–५ स्थित, स्याफ्रुबेँसीको पुल र सडक बगाएपछि रसुवाको उत्तरी भेगमा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ ।

पुल अभावले बाढीका कारण आवतजावत ठप्प हुँदा गोसाइँकुण्ड गाउँपालिका (वडा नं. १ देखि ५) र आमाछोदिङ्मो गाउँपालिका (वडा नं. १ देखि ५) का स्थानीय नागरिकले ठूलो सास्ती खेप्दै आएका छन् ।

लामो समय बितिसक्दा पनि स्याफ्रुबेँसीमा तत्काल स्थायी पुल बन्ने निश्चित नभएपछि आमाछोदिङ्मो गाउँपालिकाका स्थानीयवासीले श्रमदानमार्फत अस्थायी काठेपुल निर्माणमा जुटेका छन् । असोज २५ गतेदेखि स्थानीय र सुरक्षा निकायको संयुक्त सहभागितामा काठको पुल निर्माण कार्यलाई निरन्तर अघि बढाइएको छ ।

सडक सञ्जाल अवरुद्ध हुँदा स्थानीय किसानहरूले उत्पादन गरेको नगदे बाली बजारसम्म पुर्‍याउन पाएका छैनन् । गत वर्ष आमाछोदिङ्मो गाउँपालिकाका वडा नं. २, ३, ४ र ५ बाट करिब ३ करोड रुपैयाँ बराबरको तरकारी निकासी भएको थियो । त्यस्तै, यस वर्ष उत्पादन बढेर करिब ६ करोड रुपैयाँ बराबरको तरकारी बजार पठाउने तयारी थियो ।

तर, बाढी आएको ५० दिन भन्दा बढी बितिसक्दा पनि यातायात सञ्चालन नहुनु र कुनै वैकल्पिक मार्गसमेत नहुँदा बन्दा, आलु र सिमीजस्ता नगदे बाली बारीमै कुहेर जाने अवस्था सिर्जना भएको छ । गत वर्षको तुलनामा दोब्बर आम्दानी हुने अपेक्षा गरेका किसानहरू वर्षभरिको मेहनत खेर जाने जोखिमले चिन्तित बनेका छन् ।

तत्काल सडक खुलाउन तथा पुनःनिर्माणमा जुट्न सरकार समक्ष स्थानीय दावापेम्बा तामाङले अनुरोध गर्नुभयो । सरकारले सवारी साधन सञ्चालनका लागि बेलीब्रिज निर्माण गर्ने तयारी गरेतापनि त्यसबाट तत्कालको समस्या समाधान नहुने देखेपछि स्थानीय आफैँ काठेपुल बनाउन लागेका हुन् । निर्माण कार्यलाई यथाशिघ्र सम्पन्न गर्न गाउँवासीलाई श्रमदानमा सक्रिय सहभागी हुन आह्वान गरिएको छ ।

साथै, स्थानीय किसान तथा सर्वसाधारणले सम्बन्धित निकायसँग अवरुद्ध बनेको मुख्य सडक खण्ड तत्काल मर्मत गरी यातायात सहज बनाइदिन जोडदार माग गरेका छन्।

हेमनाथ खतिवडा