‘अधिकारसँगै कर्तव्यमा पनि ध्यान दिउँ’
– काँचुली खबर
नागरिकहरूले आफ्नो अधिकारसँगै नागरिक कर्तव्यलाई पनि ध्यान दिनुपर्नेमा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा फागुन १९ र २० गते आयोजित आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार विषयक तालिममा सहभागिहरूले उक्त कुरामा जोड दिएका हुन् ।
मानवधिकार निगरानी समुहका सदस्य तथा निर्वाचित जनप्रतिनिधिहरूकालागि आयोजित कार्यशालाका सहभागीहरुले उक्त कुरा बताएका हुन ।
इन्सेक प्रदेश ५ का संयोजक भोला महतले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा मानव अधिकार निगरानी समूह र निर्वाचित जनप्रतिनिधिहरूको बुझाइमा एकरूपता होस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । संयोजक महतले इन्सेक अभियान र मानव अधिकारको अवधारणा विषयमा सहजिकरण गर्दै मानव अधिकारको विषय बस्तु समय र परिस्थिति अनुसार फरक हुने बताए ।
राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले जनप्रतिनिधिहरूलाई मानव अधिकारको विषय छुट्याउन गाह्रो भएकोले उनीहरूलाई मानव अधिकारको विषयमा सचेत गराउन आवश्यक रहेको बताए । उनले मानव अधिकार सम्बन्धी निति नियमहरू कार्यान्वयन गर्न पहल गर्ने बताए ।
राप्ती सोनारी गाउँपालिकाकी उपाध्ययक्ष धनिकुमारी खत्रीले मानव अधिकार प्रत्याभूत गराउन सबैको सहकार्य आवश्यक रहेको बताईन ।
गाउँपालिकाका प्रशासकीय अधिकृत बलबहादुर बस्नेतले शिक्षा नियमावली लगायत ३० वटा भन्दा बढी नियमावली बनाइ सकेको र छिट्टै कार्यान्वयन गरीने बताए ।