अधिकार उल्लंघनको बदलिँदो ट्रेन्ड : महिला नै बढी पीडित !

नेपाली हेडलाइन डटकम । २०८१ फागुन ९ गते

काठमाडौं- भक्तपुरको चाँगुनारायण नगरपालिका-३ झौखेलका २८ वर्षीय दिनेशकुमार जोगीले ३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा गत १२ माघमा प्रहरीमा उजुरी पर्‍यो। उनले पेनकिलर भनेर लठ्याउने औषधि दिई बेहोस पारेर ती महिलामाथि बलात्कार गरेको उजुरीमा उल्लेख छ। पीडित महिलाको स्वास्थ्य परीक्षणपछि प्रहरीले घटनामाथि अनुसन्धान गरिरहेको छ।

भक्तपुरकै अर्की २२ वर्षीया महिलालाई बलात्कार गरेको उजुरी ७ माघमा प्रहरीमा उजुरी परेको छ। उनीमाथि मध्यपुर ठिमी नगरपालिका-५ यातायात व्यवस्था कार्यालय पछाडि बोलाएर बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका- १३ का २४ वर्षीय करण रोक्काविरुद्ध उजुरी दर्ता भएको छ। रोक्काले आफ्नी दिदीले बोलाएको भन्दै ती महिलालाई कोठमा पुर्‍याई ललाईफकाई बलात्कार गरेको आरोप छ। महिलाको स्वास्थ्य परीक्षण गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

यस्तै, सामाजिक सञ्‍जालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा मकवानपुर छतिवन बकैया गाउँपालिका-७ चुलुंगा घर भई काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्‍ने पीडितकै श्रीमान् २४ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। वैदेशिक रोजगारीमा रहँदा ह्वाट्स एपमा कुराकानी गर्ने क्रममा श्रीमान-श्रीमतीबीचमा आदानप्रदान भएका गोप्य अंग देखिने तस्बिर र भिडियो सामाजिक सञ्‍जालमा फेक एकाउन्ट बनाई अपलोड गरी पीडितका साथीहरूले प्रयोग गर्ने सामाजिक सञ्‍जालहरूमा समेत पठाएर चरित्र हत्या गरेको उजुरी छ। ती पुरुषलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ।

१६ वर्षीया किशोरीलाई अश्लीलता प्रदर्शन गर्न खोजेको आरोपमा काठमाडौं महानगरपालिका-१६ खरिबोट बनस्थली बस्‍ने २० वर्षीय आयुष कुँवरलाई प्रहरीले २९ माघमा पक्राउ गरेको छ। सामाजिक सञ्‍जाल स्‍न्यापच्याट चलाउने क्रममा पीडितलाई साथी बनाई फकाईफुल्याई अनलाइन ग्रुमिङसमेत गरी अनुचित लाभ लिने उद्देश्यले अनलाइन माध्यमबाट अश्लीलता प्रदर्शन गर्न लगाएर स्क्रिन रेकर्डसमेत गरेको पोल खुलेको छ।

आरोपितलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ। ब्युरोको टोलीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो।

२७ वर्षीया महिलालाई सामाजिक सञ्‍जालमार्फत यौन दुर्व्यवहार गरेको आरोपमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका-४ का ३१ वर्षीय विश्‍वराज राईलाई प्रहरीले २४ पुसमा पक्राउ गरेको छ। पीडित महिलाले व्यक्तिगत भिडियो तथा तस्बिरहरू आफन्तको सामाजिक सञ्‍जालमा पठाई चरित्रहत्या गरेको उजुरी दिएकी छन्। पीडित युवतीसँग प्रेम सम्बन्धमा रहँदा आरोपितले अश्लील भिडियो र तस्बिरहरू खिचेको अनुसन्धानमा खुलेको छ। पीडक राईविरुद्ध साइबर अपराधमा अनुसन्धान अगाडि बढाइएको छ।

१७ वर्षीया रिंकुकुमारी सदालाई न्यायका लागि काठमाडौं माइतीघरमा ६ फागुनमा प्रदर्शन गरियो। रिंकुकुमारीको शंकास्पद मृत्युमाथि निष्‍पक्ष छानविन माग गर्दै काठमाडौंमा बस्दै आएका मधेशका विभिन्‍न जिल्लाका युवाले माइतीघरमा प्रदर्शन गरेका हुन्।

३० माघमा सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुर टोलका बिजुलिया सदाकी छोरी रिंकु आफ्नै घरको टिनको छानोमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। घटनाअघि उनीमाथि स्थानीय रुपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले सामूहिक बलात्कार गरेको र पञ्‍चायती बसाएर मिलाउने प्रयास गरिएको घटना सार्वजनिक भएको थियो।

पछिल्ला दिनमा मानव अधिकार उल्लंघनका यी केही उदाहरण हुन्। सन् २०२४ मा मानव अधिकार उल्लंघन राज्यबाट भन्दा ‘अन्य पक्ष’बाट बढी देखिएको ७ फागुनमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को वर्ष पुस्तकबाट ज्ञात हुन्छ। सन् २०२४ मा राज्य पक्षबाट महिला ११४ र पुरुष ३४४ गरी ४५८ वटा अधिकार उल्लंघनका घटना भएका थिए। यस्तै, अन्य पक्षबाट महिला ९ हजार ५७२ र पुरुष ७०४ गरी १० हजार २७६ वटा मानव अधिकार उल्लंघनका घटना भएका थिए। राज्य र अन्य गरी जम्मा १० हजार ७३४ वटा घटना इन्सेकले रेकर्ड गरेको छ।

यस्तै, महिलामाथि हुने हिंसाका घटना राज्यबाट १ र अन्यबाट ७ हजार ५८२ गरी जम्मा ७ हजार ५८३ वटा भएका छन्। बेचविखन प्रयास घटनामा २२, घरेलु हिंसामा ५ हजार ८७६, बोक्सी आरोपमा २९, बलात्कारका घटनामा ६६४, बलात्कार प्रयासमा १४४, यौन दुर्व्यवहारमा ३२, बेचविखन घटनामा ६०, सामूहिक बलात्कारका घटना २५, दाइजोजनित हिंसाका घटनामा २१२, वैवाहिक बलात्कारमा २३ र साइबर स्पेस प्रयोग गरी महिलामाथि भएका हिंसाका घटनामा २६६ पीडित भएको इन्सेकको वर्ष पुस्तकमा उल्लेख छ।

महिला मानव अधिकार रक्षकहरूको राष्‍ट्रीय सञ्‍जालले सामूहिक बलात्कार भएको र बलात्कारपछि घटनालाई गाउँमै दबाउन पटक-पटक स्थानीय जनप्रतिनिधिको रोहबरमा बसेको पञ्‍चायती र शंकास्पद मृत्यु भएका घटनाहरू पनि प्रशस्तै भेटिने गरेको बताएको छ। सिरहामा रिंकु सदा र भारतको उडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्स्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युको घटना त्यसको पछिल्लो उदाहरण भएको सञ्‍जालले उल्लेख गरेको छ।

विगतमा जस्तो राजनीतिक र राज्य पक्षबाट अधिकार उल्लंघनका घटनामा कमी आएको देखिएको छ। तर, बलात्कार, चरित्रहत्या, हत्याजस्ता जघन्य अपराधमार्फत मानव अधिकार उल्लंघनका घटना ह्वात्तै बढेका छन्। यस्ता घटनालाई मानव अधिकारवादी र संघसंस्थाले ‘अन्य पक्ष’ शब्दावली प्रयोग गर्छन्।

बालिकाहरूमाथि यौन र घरेलु हिंसाका घटनाहरू कम नभएकामा महिला सुरक्षा दबाब समूह भक्तपुरकी उर्मिला केसी जोड दिन्छिन्। यस प्रकारका घटना न्यूनीकरण गर्न विभिन्‍न संघसंस्थाको सक्रियता र जनचेतनामुलक कार्यक्रमहरूका बावजुद यस्ता घटनामा कमी नआउनु चिन्ताजनक रहेको उनको ठम्याइ छ।

त्यसैलाई पुष्‍टि गर्छिन्, महिला मानव अधिकार रक्षक सञ्‍जालकी केन्द्रीय अध्यक्ष श्यामा शाह पनि। भन्छिन्, ‘बलात्कार, हत्याजस्ता जघन्य अपराधमा पनि महिला सेवा केन्द्र उदासिन छन्। महिला सेलमा कतिपय ठाउँमा महिला प्रहरी नै छैनन्। उजुरी नलिने, मुद्दा नसुन्‍ने, उल्टै पीडितलाई लाञ्‍छना लगाउने, अपराधको प्रमाण कमजोर बनाउन पीडितलाई निराश बनाउँदै पीडकलाई राजनीतिक संरक्षण गरेको पाइन्छ, जसकारण विनाकसुर पीडितहरूले आत्महत्या गरिरहेका छन्।’

भक्तपुर प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल भन्छन्, ‘सरकारी निकायका सचेतना कार्यक्रमहरू, इन्सेकलगायत यस क्षेत्रमा काम गरिरहेका संघसंस्थाको लामो प्रयासका कारण ज्यादतीका घटनामा कमी आएको छ। मानव अधिकार संरक्षणमा प्रमुख जिम्मेवार पक्ष राज्य, सञ्‍चार माध्यम र सरोकारवाला संघसंस्था र निकाय हुन्। तीनै तहका सरकारसँग समन्वय गर्ने काम प्रमुख जिल्ला अधिकारीको हुन्छ। त्यो काम भइरहेको पाइन्छ। अधिकार उल्लंघन तथा ज्यादतीका घटना न्यूनीकरण गर्न सरोकारवालाहरू सबैसँग सहकार्य आवश्यक छ।’

Source: https://shorturl.at/xJEEm