आन्दोलनलाई शान्तिपूर्ण बनाउन इन्सेकको आह्वान

परिसंवाद डटकम । २०८० मङ्सिर ६ गते

काठमाडौँ । काठमाडौँमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई आ–आफ्नो कार्यक्रम संविधानप्रदत्त अधिकार अनुकूल शान्तिपूर्ण रूपमा सम्पन्न गर्न इन्सेकले आह्वान गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले मङ्सिर ६ गते विज्ञप्ति जारी गर्दै मङ्सिर ७ गते गर्ने भनिएका कार्यक्रमलाई शान्तिपूर्ण बनाउन सरोकारवालालाई आह्वान गर्नुभएको छ । ‘विगत लामो समयदेखि इन्सेकले गर्दै आएको मानव अधिकार अनुगमन कार्यलाई भोलि हुने प्रदर्शनका सन्दर्भमा पनि हामी निरन्तरता दिँदैछौँ । इन्सेकले प्रदर्शनको निष्पक्ष अनुगमन तथा अभिलेख गरी साथै मङ्सिर ७ गते साँझ नै प्रारम्भिक प्रतिवेदन प्रकाशन गर्नेछ’–विज्ञप्तिमा भनिएको छ ।

पञ्चायतकालीन ऐनका आधारमा गरिएको बन्देजले संविधान सभाबाट जारी भएको नेपालको संविधानको धारा १७ मा व्यवस्था गरिएको स्वतन्त्रतापूर्वक भेला तथा सङ्गठित हुन पाउने अधिकार कुण्ठित गर्ने दुष्प्रयास गरेको पनि विज्ञप्तिमा उल्लेख छ । स्थानीय प्रशासन ऐन २०२८ मा रहेको व्यवस्थाअनुसार काठमाडौँ र ललितपुर जिल्ला प्रशासन कार्यालयले केही क्षेत्र तथा स्थानमा नारा, जुलुस, प्रदर्शन तथा पाँच जना भन्दा बढी भेला हुन निषेध गर्ने आदेश जारी गरेका छन् । ‘कुनै पनि बहानामा चालिएको जनताको शान्तिपूर्ण रूपमा खुला र सार्वजनिक रूपमा आफ्ना असन्तुष्टि अभिव्यक्त गर्न पाउने अधिकारको सुनिश्चिता गर्ने वर्तमान लोकतान्त्रिक संविधान विरुद्धको कदमको हामी विरोध गर्दछौँ’–विज्ञप्तिमा उल्लेख छ । गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता नेपाली लोकतन्त्र र सार्वभौमसत्ताका आधार स्तम्भहरू भएको स्मरण गराउँदै नेपालको वर्तमान राज्य संरचना र संविधान विरोधी कृयाकलापप्रति इन्सेकले विज्ञप्तिमार्पmत गम्भीर असहमति जाहेर गरेको छ ।

Source: https://parisambad.com/2023/11/22/%e0%a4%86%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8b%e0%a4%b2%e0%a4%a8%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b6%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%bf%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%ac/

Source: https://www.ratopati.com/story/396397/insec-