इन्सेकको अभिलेखलाई थप विश्वसनीय बनाउन जोड
युगबोध समाचारदाता । २०७७ कात्तिक २० गते
इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना तथा डिसिएको आर्थिक सहयोगमा मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाका तथ्याङ्क अभिलेखिकरण सम्बन्धी पुनर्ताजगी नेपालगञ्जमा गरिएको छ । मानव अधिकार उल्लङ्घनका तत्य तथ्याङ्कहरुलाई डिजिटिलाइज गर्ने उद्देश्यले इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज अन्तर्गत कार्यरत जिल्लाका इन्सेक प्रतिनिधिहरूका लागि तालिमको आयोजना गरिएको हो । कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले जिल्ला प्रतिनिधिहरुले सङ्कलन गरेका मानव अधिकार उल्लङ्घनका घटनाहरु सत्यतथ्यमा आधारित हुनुपर्ने बताउँदै नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिने घटनाहरुलाई विश्वशनिय र तथ्यपूर्ण बनाउन इन्सेक प्रतिनिधिहरुले ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
मानव अधिकार प्रलेख तथा पैरवी विभाग प्रमुख श्रीराम बजगाईले मानव अधिकार अभिलेखिकरणलाई प्रविधियुक्त बनाउन र जिल्ला प्रतिनिधिहरुको क्षमता अभिबृद्धि गर्नका लागी तालिमको आयोजना गरिएको बताउँदै पीडितहरुसँग भेटघाट गरी पीडितहरुको न्यायमा पहुँच पुगाउनका लागि सहयोग गर्नु पर्ने बताउनु भयो । इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले तथ्याङ्कलाई चुस्त र व्यवस्थित गर्न जिल्ला प्रतिनिधिहरू क्रियाशिल हुनुपर्ने बताउनु भयो । फोकल पर्सन सरिता पुरीले अभिलेखलाई दुरुस्त राख्नु पर्ने बताउनु भयो । इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जका प्रलेख अधिकृत विनोद पाण्डेले वर्ष पुस्तकका लागि सङ्कलन गरिएका घटनाहरूलाई सफ्टवयरमा इन्ट्री गर्ने कार्यको सहजिकरण गर्नु भएको थियो ।