इन्सेकको पहलमा बालश्रमिकको उद्धार, पारिश्रमिक दिलाउन सहयोग
सफल आवाज डटकम । २०८० असोज १९ गते
पाेखरा, १९ असोज । पाेखरामा एक क्यान्टिनमा बालश्रमिककाे रूपमा राखिएका बालिकाहरूलाई इन्सेकको पहलमा उद्धार गरिएको छ । १५ र १६ वर्षीया ति बालिकाहरूलाई पारिश्रमिक दिलाउन समेत सहयोग गरिएकाे छ । पोखरा महानगरपालिका– वडा नं १२ स्थित बिजि अस्पताल हाताभित्र रहेको बिजि क्यान्टीनमा २०७९ वैशाख ४ गते देखि २०८० भदौ ३० गतेसम्म बालिकाहरुको अभिभावकको सहमतिबिना मजदुरी गराएर राखिएको थियाे । उनीहरूलाई कुनै पारिश्रमिक नदिएको भन्दै इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरामा असोज २ गते बालिकाका दिदिहरुले पीडित बालिकाहरुसहित निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा इन्सेक गण्डकी प्रदेश कार्यालय संयोजक शिव खकुरेलंले श्रम तथा रोजगार कार्यालयलाई बालिकाहरुको न्यायको लागि पहल गरिदिनको लागि निवेदन दिएका थिए । सोही निवेदनका आधारमा श्रम कार्यालयले उक्त क्यान्टीनका सञ्चालक सिता सुवेदीलाई सम्पर्क गरि क्यान्टीनको दर्ता प्रमाणपत्र तथा नागरिकतासहित उपस्थित गराई दुवै पक्ष राखि छलफल चलाएकोमा सञ्चालकले उक्त कुरा स्वीकार गरेका थिए ।
क्यान्टीन सञ्चालक सीता सुवेदीले आफूले बालिकाहरुलाई काम गराएको स्वीकार गरेर बालिकाहरुले उक्त समयसम्म गरेको कामको पारिश्रमिक प्रतिबालिका १ लाख २० हजार रुपैयाँ बैङ्कमा खाता खोल्न लगाई २०८० असोज १६ गते बालिकाहरुको बैङ्क खातामा जम्मा गरिदिएको पीडित बालिकाकी दिदि ज्योति दर्जीेले बताइन। पीडित बालिकाहरु अहिले आफ्नै दिदिहरुको संरक्षणमा बस्दै आएका छन् । क्यान्टीन सञ्चालकलाई बालश्रमसम्बन्धी ऐन २०५६ को दफा ६ बमोजिम स्वीकृत नलिई बालश्रम प्रयोग गरेको ठगर गर्दै प्रतिबालिका ५ हजार गरि जम्मा १० हजार रुपियाँ जरिबाना तिराउने निर्णय गरिएको वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले बताएका इन्सेक गण्डकी प्रदेश कार्यालयले जानकारी दिएकाे छ ।
Source: https://safalawaj.com/2023/10/06/139151/