इन्सेकद्धारा सुनसरीमा सरोकारबालाहरुसंग निर्वाचन पूर्वको अचारसंहिता पालनबारेमा अनुगमन र छलफल

जज न्यूज डटकम । २०७९ कात्तिक २५ गते

सुनसरी,
२०७९ कात्तिक २५ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले जिल्ला सदरमुकाम इनरुवामा सरोकारबालाहरुसंग निर्वाचन पूर्वको अनुगमन गरेको छ । इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेल र केन्द्रिय कार्यालयका कृष्ण गौतम सहितको टोलीले इनरुवामा गैरसरकारी संस्थाका प्रतिनिधि, सरोकारवाला, संचारकर्मी र अधिकारकर्मीसँग छलफल गर्नुभएको छ । निर्वाचन पूर्वको अवस्थामा निर्वाचन अचारसंहिता पालना भएको वा नभएको, नागरिकममा उत्सह सहितको बारेमा छलफल गरिएको र जानकारी लिएको छ । प्याकुरेलले निर्वाचनलाई पूर्ण भयरहित, स्वच्छ र निश्पक्ष ढङ्गले नागरिकको मताधिकारको प्रयोग सुनिश्चित गर्नुपर्ने बताउनुभयो । मङ्सिर ४ गते हुने प्रतिनिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ मा जिल्लामा निर्वाचनको तयारी, निश्पक्ष र भयरहित वातावरणमा नागरिकले मताधिकारको अधिकारको प्रयोग, अचारसंहिताको पालना लगायतका विषयमा इन्सेकले जिल्लामा सरोकारवालासंग छलफल गरीएको हो । सबै नागरिकको मताधिकारको सुनिश्चित प्रयोगका लागि निर्वाचन आयोग र सरकारी निकायलाई आग्रह गरेको समेत प्याकुरेलले बताउनुभयो । इन्सेक केन्द्रीय कार्यालयको निर्वाचन अनुगमन टोलीले कात्तिक २५ गते जिल्ला स्थित गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष मेघराज न्यौपाने, महिला मानव अधिकार रक्षक सञ्जालका विनिता दाहाल, इन्सेक प्रतिनिधि जयकृष्ण यादव, अधिकारकर्मी सरीता कार्की घिमिरे, कमला खत्वे, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष अजित कुमार झा, पत्रकार रामप्रसाद मेहता, विनोद मेहता, नागरिक समाजका अगुवा एवम् प्रधानाध्यापक नारायाण मेहता सहितका सरोकारबाला र अधिकारकर्मी भेटघाट तथा छलफल गरी निर्वाचनका विषयमा जानकारी लिएको थियो ।

जिल्लामा निर्वाचनको विषयलाई लिएर सरोकारवालाहरूसँग भेटघाट तथा छलफल गर्ने क्रममा मधेस प्रदेशबाट प्रदेश १ को सुनसरीमा छलफल गरेको र केही मात्रामा निर्वाचन अचार संहिता उलंघन भएको विषयमा जानकारी आएकाले आयोगलाई त्यस विषयमा जनाकारी सहित सुझाव दिने टोलीले जनाएको छ । छलफलमा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष मेघराज न्यौपानेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदबारहरु घरदैलो र प्रचारप्रसारमा रहेको तथा सरकारी तबरबाट सम्पूर्ण तयारीहरू पूरा भइसकेको र शान्ति सुरक्षामा झण्डै पाँच हजार सुरक्षाकर्मी परिचान भएको अवस्था रहेको अनुगमन टोली समक्ष बताउनुभयो । न्यौपानेले जानीनजानी सबै राजनीतिक दल तथा स्वतन्त्र समेतका उम्मेदबारहरुले निर्वाचन अचारसंहिता उल्ंघन गरेको गुनासो गर्नुभयो । उम्मेदबारहरुले प्रचारमा दुई वटा सवारी प्रयोग गर्न पाउनुपर्नेमा २५ बढीसम्म सवारी प्रयोग गरेको, सडक र विधुतको पोलहरुमा पार्टीको झण्डा जथाभावी राखेको बताउनुभयो । न्यौपोले जिल्लाका सबै मतदान केन्द्रहरूमा सवारीसाधन पुग्ने भएपनि, महिलामैत्री, अपाङ्गमैत्री, ज्येष्ठ नागरिक, गर्भवती महिलाहरूलाई प्राथमिकताको आधारमा विगतमा मतदान गर्ने व्यवस्था भएपनि कार्यान्वयन नभएकाले त्यसमा सुधार आवश्यकक रहको इन्सेक टोली समक्ष बताउनुभयो ।

छलफलका क्रममा इन्सेक संस्थापक अध्यक्ष सुशिल प्याकुरेलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ ,भयरहित र सफल बनाउनका लागि इन्सेकले देशभर पर्यवेक्षणहरू परिचालन गरेको, चुनाव पूर्व र चुनावका दिन विशेष ढङ्गले पर्यवेक्षण परिचालन गर्ने बताउनुभयो । निर्वाचन नजिकिए सँगै जिल्लामा मतदाताहरूलाई प्रभाव पार्ने वा दबाब परे नपरेको र स्वतन्त्र ढङ्गले मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्नका लागि जिल्लामा चुनाव तयारीका विषयमा सरोकारवालाहरूसंग छ्लफल गरिएको इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादवले बताउनुभयो । महिला मानवअधिकार रक्षक सञ्जालकी बिनिता दाहालले निर्वाचनमा निर्वाचन आयोग गम्भीर रहेको भएपनि अचारसंहिताको पूर्ण पालनमा केही समस्या देखिएको बताउनुभयो । केही समस्या भएपनि कुनैपनि राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले आयोगले जारी गरेको आचारसंहिता विपरित काम गरेमा तत्काल स्पष्टीकरण सोध्ने, कारबाही गर्ने गरेको तथा जिल्लामा गम्भीर किसिमको आचारसंहिता विपरित कार्यहरू धेरै नभएको बताउनुभयो । पत्रकार रामप्रसाद मेहताले जिल्लामा विभिन्न राजनितिक दलका उम्मेदवारहरू गाउँगाउँमा भोट माग्न व्यस्त भएको, भोट माग्ने कार्यमा कुनै पनि विपक्षी पार्टीका कार्यकर्ताहरूबिच झैझगडा तथा ढुङ्गामुडा प्रहार गर्ने कार्यहरू नभएपनि प्रचारप्रसार घडकिलो भएको बताउनुभयो । नेपाल पत्रकार महासंघका सुनसरी कोषाध्यक्ष अजित कुमार झाले निर्वाचन अचारसंहित विपरितको कार्य गर्ने दल र स्वतन्त्रका उम्मेदबारहरूको बीचमा होडबाजी नै चलेको बताउनुभयो । गाउँ–सहरको स्वरुप नै बिग्रनेगरी फ्लेक्स, पोस्टर, ब्यानर, झण्डाको तोरण टाँगेर निर्वाचन आचार संहिताको व्यापक उल्लङ्घन भएको बताउनुभयो । नागरिक समाजका अगुवा एवम् प्रधानाध्यापक नारायाण मेहताले निर्वाचनलाई कम खर्चिलो बनाउन मतदानको प्रकृयालाई छोट्याउनुपर्ने, एसएमएसको वा प्रविधिको प्रयोग गरेर मतदान गर्ने व्यवस्था, महिला सहभागीता उम्मेदबार मै ५० प्रतिशतको व्यवस्था गर्नुपर्ने र अचारसंहिताको पूर्ण पालन र कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । मेहताले वीधिको शासन स्थापना गर्नका लागि नीतिसगैं नैतिकताको पनि ख्याल गर्नुपर्ने बताउनुभयो ।

Source: https://jajnews.com/3087/