इन्सेकद्वारा काठेखोलामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धी कार्यक्रमकाे अनुगमन
सफल आवाज डटकम । २०७९ जेठ ३० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले बागलुङको काठेखोला गाउँपालिकामा सञ्चालन गरेकाे शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धी परियाेजनाकाे प्रभावका बारेमा जेठ २९ मा अनुगमन तथा छलफल गरेको छ । स्थानियस्तरमा गठित मानवअधिकार समूहका सदस्यहरुसगकाे छलफलमा इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले संविधानमा भएका मौलिक हकहरुलाइ नागरिकले उपभाेग गर्न पाए नपाएको बारेमा सरोकारवाला निकाय जवाफदेही हुनुपर्ने बताए । उनले शिक्षा, स्वास्थ्य, आवास तथा खाद्य अधिकार नागरिकको मौलिक अधिकार भएकोले स्थानीय सरकार यसका लागि जवाफदेही बन्नुपर्नेमा जाेड दिए । साे अवसरमा उनले मानवअधिकार समूह तथा दलित सशक्तिकरण समूहका सदस्यहरुलाई अधिकारकाे माग दावि गर्दा समुदायको हितका बारेमा लक्षित गर्न सल्लाह दिए ।
एडभोकेशी फोरमका धौलागिरी संयोजक, अधिवक्ता राम शर्माले अधिकार प्राप्तीको अभियानमा हुनसक्ने कानुनी कठिनाइका बारेमा नि:शुल्क सहयोग गर्ने बताए । उनले अन्यायमा परेको र विभेद भएकाे खण्डमा सामूहिक रुपमा आवाज उठाउनु पर्ने बताए । कार्यक्रममा इन्सेक गण्डकीका कार्याक्रम अधिकृत सवनम शर्मा, जिल्ला प्रतिनिधी सिर्जना पन्त, संकल्प नेपालका गण्डकी प्रदेश संयोजक सावित्री खड्का, पत्रकार आर्जु विष्ट ‘सल्यानी’ लगाएतले मानव अधिकार र अधिकार उल्लङ्घनका विषयमा समूहका सदस्यहरुसग कुराकानी गरेका थिए । मानव अधिकार समूहका सदस्य महेन्द्र बस्याल, भृकुटी विक, सञ्जय किसान, पम्फा नेपाली र जमुना नेपालीले सरकारले तोकेका ३५ प्रकारका नि:शुल्क औषधी स्वास्थ्य संस्थामा नपाइने गरेकाे गुनासाे सुनाए । समुदायीक विद्यालयको शिक्षा र शिक्षकको ब्यवहारका बारेमा गाउँपालिका र वडामा कुरा गर्दा सुनुवाइ नभएकाे बताए । सहभागिले गाउँमा महिला, पुरुष तथा दलित र गैर दलितबीचकाे ज्यालामा समानता नभएकाे बताएका थिए ।