इन्सेकद्वारा तनहुँ कारागार अनुगमन

देवघाट अनलाइन डटकम । २०७९ चैत २४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गन्डकी प्रदेश कार्यालयद्वारा शुक्रबार तनहुँ कारागारको अनुगमन गरिएको छ । कैदी बन्दीको मानवअधिकारको अवस्था, कानुनी उपचारको व्यवस्था, स्वास्थ्य उपचारको अवस्था लगायत लगायतको बारेमा सो अवसरमा अनुगमन तथा अन्तरक्रिया भएको थियो । सो क्रममा केही महिला कैदी बन्दीले आफुहरुलाई कारागारका नाइकेहरुले कुटपिट गर्ने गरेको, धर्म परिवर्तन गर्न दवाव दिने गरेको, परिवारका सदस्यसँग पनि टेलिफोन सम्पर्क गर्न नदिएको, आफ्ना गुनासाहरु कारागार व्यवस्थापन समक्ष पु¥याउन पनि नदिएको जस्ता गुनासा गरेका थिए । ४५ बर्षीया एक महिला बन्दीले आफुलाई नाइकेले पटक–पटक कुटपिट गरेको, धर्म परिवर्तन गर्न दवाव दिएको, उपचार गर्न पनि जान नदिएको जस्ता गुनासा गरेकी थिईन् । अन्य केही कैदी बन्दीले पनि नाईके र चौकीदारद्वारा नियमित यातना दिईने गरेको बताएका थिए । कैदीका नाईकेले भने कारागारको आन्तरिक नियम पालना गराउने क्रममा कहिलेकाँही सामान्य हातपात भएको हुन सक्ने भन्दै आयन्दा त्यसो नगर्ने बताईन् । सो क्रममा महिला कैदी बन्दीले सिपयुक्त काम गर्न नपाईएको बताएका थिए । तनहुँ कारागारको महिला बन्दिगृहमा २ बालबालिका र १७ जना कैदी बन्दि छन् ।

यस्तै पुरुष कैदी बन्दीले भने सरकारले दिएको दैनिक ८० रुपैयाँ सिदा आफुहरुलाई अपुग भएको लामो समयसम्म मुद्धाको फैसला नहुँदा धेरै समय कारागारमा बस्न बाध्य हुनु परेको अदालतमा आफ्नो पेशी र बकपत्रको समयमा आफुलाई उपस्थित नगराईएको जस्तो गुनासो गरेका थिए । कारागारको आन्तरिक व्ययवस्थापन पक्ष भने राम्रो रहेको कैदी बन्दीले बताएका थिए । सो अवसरमा इन्सेक गन्डकी प्रदेशका संयोजक शिव खकुरेलले कारागारका कैदी बन्दीको न्युनतम मानवअधिकार अवस्थाको बारेमा जानकारी लिन अनुगमन गरिएको बताए । इन्सेकले हरेक वर्ष प्रकाशन गर्ने मानवअधिकार वर्ष पुस्तकमा जेल र बन्दिको अवस्थाको बारेमा उल्लेख गरिँदै आएको भन्दै खकुरेलले नियमित रुपमा कारागारमा गरिने अनुगमनबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्ने सम्बन्धित निकायमा सुझाव स्वरुप उपलब्ध गराईने बताए । अनुगमन पछि खकुरेलले कैदी बन्दीहरुको लागि मानवअधिकार सम्बन्धि विभिन्न पुस्तकहरु कारागार प्रशासनका लेखापाल जिवन बुढा र कैदी बन्दीका नाइकेलाई हस्तान्तरण गरेका थिए । कारागारको अनुगमन र अन्तरक्रिया पछि इन्सेकले निमित्त प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेलाई अनुगमनबाट प्राप्त प्रारम्भिक निश्कर्ष सुझाव स्वरुप जानकारी गराएको थियो । महिला बन्दिगृहमा हुने कुटपिट र यातनालाई तुरुन्त रोक्ने व्यवस्था मिलाउन इन्सेक संयोजक खकुरेलले निमित्त प्रजिअ गैह्रेलाई अनुरोध गरेका थिए । निमित्त प्रजिअ गैह्रेले यसबारेमा कारागारका प्रमुखसँग आफुले कुरा गर्ने बताएका थिए । सो अनुगमनमा नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ र महिला मानवअधिकार रक्षक सन्जालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Source: https://devghatonline.com/news/9552