मकवानपुर / अनौपचारिक क्षेत्र सेवा (इन्सेक) का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २८ औँ स्मृति दिवसमा इन्सेक बागमती प्रदेश कार्यालयले मकवानपुरको भीमफेदी कारागारलाई मानव अधिकारसँग सम्बन्धित पुस्तकहरु सहयोग गरेको छ ।
इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमलगायतले शुक्रबार कारागारमा पुगेर सन् २०१० देखि २०२० सम्म इन्सेकले प्रकाशन गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक, मानव अधिकारका ठूला नौ महासन्धि, नेपालको संविधानमा भएका मौलिक हकहरुको संगालो, महिला, दलित र अपाङ्गतासम्बन्धी विद्यमान कानुन तथा नीति र कार्यान्वयनको अवस्था, खाद्य, शिक्षा र स्वास्थ्यसम्बन्धी विद्यमान कानुन तथा नीति र कार्यान्वयनको अवस्था बाल अधिकार शिक्षा, प्राचीलगायतका पुस्तक कारागार प्रशासन प्रमुख प्रकाश खनाललाई हस्तान्तरण गर्नु भएको हो ।
इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा थाई एयरबस दुर्घटनामा मृत्यु भएको थियो । उहाँको स्मृतिमा प्रत्येक वर्ष इन्सेकले साउन १६ गते रचनात्मक कार्यक्रम गर्दै आएको छ । यसै अवसरमा इन्सेक बागमती प्रदेश संयोजक गौतमले कारागार प्रमुख खनाललाई पुस्तक हस्तान्तरण गर्दै काराकारलाई सुधार गृहका रुपमा लिनु पर्ने र कैदीबन्दीलाई मानव अधिकार मैत्री व्यवहारको आवश्यकता रहेको बताउनु भयो । ‘कारागारलाई सुधार गृहको रुपमा विकास गर्न पटक पटक विभिन्न समितिहरु बने, तर ति समितिहरुले बुझाएको प्रतिवेदन गृह मन्त्रालय पुगेर थन्किने गरेको छ’ गौतमले भन्नु भयो ‘यस कारण पनि कैदीबन्दीहरुको मानव अधिकार संरक्षणमा समस्या छ ।’
कार्यक्रममा कारगार प्रशासन प्रमुख प्रकाश खनालले कारागारको भौतिक सुधार गर्नुका साथै स्वास्थ्य उपचारको लागि दुई बेडको कक्ष कारागार भित्रै स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले कारागारका दुई ओटा ब्लकमा पुस्तकालय रहेको पुस्तकहरु प्रयाप्त मात्रमा नभएको अवस्थामा मानव अधिकारसँग सम्बन्धित पुस्तक इन्सेकले उपलब्ध गराइ दिएकोमा धन्यवाद आभार व्यक्त गनुभयो । कारागारका कैदीबन्दीलाई मानव अधिकार मैत्री शिक्षाका लागि पुस्तकले सहयोग पु-याउने उहाँले बताउनु भयो ।
नेपालको कानुनमा धेरै राम्रा व्यवस्था भएपनि व्यवहारीक कार्यान्वयन पक्ष फितलो भएको उहाँले बताउनु भयो । भौतिकलगायतको स्रोत साधनको अभावमा एक पक्षको मानव अधिकार रक्षा गर्न खोज्दा उल्लङ्घन भएको भान आफूलाइृ हुने गरेको उहाँले बताउनु भयो । कारागार ऐन, नियम तथा कार्यविधि अनुसार आफूहरुले जिम्मेवारी वहन गर्दै आएको बताउँदै उहाँले भन्नुभयो ‘कारागारबाट सजायँ भुक्तानि गरेर छुटेरकाहरु केही समयमा पुनः आउने गरेका छन्, यसले नै देखाउँछ कि नेपालको कारागार सुधारगृह जस्तो छ कि छैन भनेर ।’
उहाँले अन्य जिल्लाहरुमा रहेको कारागारको तुलनामा भिमफेदी कारागारमा धेरै राम्रो तथा पारिवारीक वाताबरण भएको उल्लेख गर्नुभयो । कारागारमा कर्मचारी, सुरक्षकर्मी, बजेट लगायतको व्यवस्थापनमा हेलचक्र्याई गर्ने गरेको गुनासो उहाँले गर्नुभयो । पुस्तक हस्तान्तरण कार्यक्रममा कारागारका सुरक्षा प्रमुख असई सन्तोष कुमारले कारागारको सुरक्षा प्रबन्ध व्यवस्थित रहेको र कैदीबन्दीको आचरण र व्यवहार सुधार गर्न लागि परेको बताउनु भयो ।
कारागार सुधार गृहको रुपमा व्यवस्था गर्ने भन्ने सरकारी नीति व्यवहारमा लागु नभएको कारागारका चौकिदार सुरेश मोक्तानको गुनासो छ । ‘कसैले पोल गरेको आधारमा सजाय तोकिनु दुखद् हो, सजायँ भुक्तानि गरेर घर फर्केकाहरुलाई समाजका रुपान्तरण गर्नै पनि समस्या भएको गुनासो चौकिदार मोक्तानको छ ।
महङ्गी बढेपछि कैदीबन्दीहरुलाई खर्चको अभाव हुने गरेको, राज्यले छुटको व्यवस्था गरेको भएपनि त्यो समान नभएको मोक्तानको भनाई छ । राज्यले कारागारमा २५ जना कैदीबन्दीलाई रेखदेख गर्न १ जना नाइके र १० जना कैदीबन्दीलाई रेखदेख गर्न १ जना सहनाइके तोकिएको कारण नाइके सहनाइकेलाई पनि रेखदेखमा समस्या भएको मोक्तानको भनाई छ । ‘अपराधिक गतिविधिमा संलग्न भएर आएका २५ जनालाई १ नाइकले कसरी कन्ट्रोल गर्न सक्छ ?’ चौकिदार मोक्तानको प्रश्न छ । कम्तिमा १० कैदीबन्दी बराबर १ नाइन र ५ कैदीबन्दी बराबर १ सहनाइके हुनु पर्ने आवश्यकता औल्याइएको छ ।
मकवानपुर जिल्लाको भिमफेदी कारागारमा हाल ६६ वर्ष नाघेका १ सय जना सहित ९ सय ३१ जना कैदीबन्दी रहेका छन् । कार्यक्रममा इन्सेक बागमती प्रदेशका कार्यक्रम अधिकृत गणेश भण्डारी, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष सरिता दाहाललगायतको उपस्थिती रहेको थियो ।