








नेपाल प्रेस डटकम । २०८१ पुस २७ गते
काठमाडौँ । आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्री इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले २०८१ पुस २७ गते पीडितलाई स्वास्थ्य उपचार प्रक्रियाका लागि १२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
टाउकोको अप्रेसनप्रश्चात वीर अस्पतालमा रहेका छोरालाई अस्पतालबाट डिस्चार्ज गर्न र घरसम्म जानलाई समेत समस्या भएको आमा पार्वती धामीको भनाई सहितको समाचार नेपाल प्रेसमा पुस १९ गते प्रकाशन भएपछि इन्सेक संयोजक भण्डारीले धामी परिवारको उपचार प्रक्रिया र आर्थिक समस्या बारे जानकारी लिएका थिए ।
सोही क्रममा पीडित पक्षले संयोजक भण्डारीलाई सहयोगका लागि आग्रह गर्दै निवेदन दिएपछि इन्सेकले पीडितलाई आर्थिक सहयोग गरेको हो ।
उपचारमा लागेको खर्च वीर अस्पतालले केही छुट दिएको र मेडिकल पसलमा रहेको औषधिको १ लाख भन्दा बढीको बिल विभिन्न दाताको सहयोगमा भुक्तानी गरी वीर धामी अस्पतालबाट पुस २२ गते डिस्चार्ज भएका हुन् ।
उनलाई एक महिनापछि फलोअपका लागि बोलाइएकोमा अहिले पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिंहको सहयोगमा काठमाडौं चण्डोलमा रहेको मेडिकल पुनर्स्थापना संस्थामा बसिरहेका छन् । यसका लागि पत्रकार लोग्शरी कुँवरले सहजीकरण गरेकी थिइन् ।