ओखलढुङ्गान्युज, असार १३ । ओखलढुङ्गामा लैङ्गिक हिंसा र बलात्कारको घटनामा ५ बर्षिया बालिका देखी ६४ बर्ष सम्मका महिला पिडित रहेको तथ्यांक सार्वजनिक भएको छ । आज जिल्ला सदरमुकाम स्थित सिद्धिचरण नगरपालिकाको सभाहलमा इन्सेक ओखलढुङ्गाले आयोजना गरेको मानव अधिकार बर्ष पुस्तक २०२४ को अर्धवार्षिक समिक्षा कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । सार्वजनिक भएको तथ्यांक अनुसार पछिल्लो ६ महिनामा विगतका तुलनामा समग्रमा हिंसा तथा बलात्कारको घटना घटे पनि सिद्धिचरण चरण नगरपालिकामा भने बढेको पाइएको छ । ६ महिनाको अवधिमा घरेलु हिंसा, बलात्कारको प्रयास तथा बलात्कारको घटना सिद्धिचरण नगरपालिकामा १०, मोलुङमा ४, मानेभञ्ज्याङमा २, सुनकोशीमा २, चिशंखुगढीमा २ र खिजिदेम्बामा १ गरि २१ घटनामा २२ जना पिडित भएको पाइएको छ । समीक्षा कार्यक्रमका प्रमुख अतिथि सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले हिंसा कम गर्न कानुनी सचेतनाका कार्यक्रम आवश्यकता रहेको बताए । सचेतना कार्यक्रम हुँदै गरेपनि घटनामा कमी नआएको बताउँदै नगरपालिका प्रमुख खनालले कानुनी सचेतनाका कार्यक्रम पनि आवश्यकता रहेको र आफ्नो पालिकामा उक्त कार्यक्रम सञ्चालनका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले रिपोर्टिङमा लिखु र चम्पादेवी गाउँ पालिका छुटेको बताइन् । ती पालिकामा समेत घटना घटेको हुनसक्ने भन्दै रिपोर्टिङ नहुदा ती पालिकाको अबस्था बारेमा जानकारी नभएकोले रिपोर्टिङमा ध्यान दिनुपर्नेमा जोड दिइन् । पिडित थप पिडित हुनु न्याय मर्नु भएकाले यसतर्फ पनि सचेत हुनुपर्ने बताइन । प्रायस् फरक क्षमता भएका ब्यक्तिहरु बढी बलात्कारको शिकारमा पर्ने देखिएकोले बलात्कारको घटना हुन नदिन परिवारको पनि मुख्य भुमिका हुने जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीले बताए । प्रहरीले सचेतनाका कार्यक्रम सञ्चालन गरेका कारण घटनामा कमी आएको बताउँदै बलात्कार जन्य घटना भने कमी नभएको बताए । समीक्षा कार्यक्रममा सहभागीहरुले घटनाको तथ्याङ्क सँगै समाधान भएका घटनाहरु, उजुरी दर्ता हुन आउन नसकेका र थाहा भएका घटनाको पनि रिपोर्टिङ तथा डकुमेन्टेशन हुनुपर्ने सुझाव दिएका थिए । घटना घटी सकेपछि गरिने पैरवीमा भन्दा घटना हुनै नदिने गरि हुने पैरवीमा सबैले ध्यान पुर्याउनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
Source: https://okhaldhunganews.com/2023/06/28/10777