कर्णालीको सार्वजनिक यातायात सेवाको गुणस्तर कमजोर भएको, यातायात सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा सवारी दुर्घटनाले जनधनको क्षति भएको र रोकथाम गरी नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकको कुण्ठित भएको रिटमा उल्लेख छ । केही दिन अगाडि अनलाइनखबरमा ‘कर्णालीमा सडक छैनन्, मृत्यु रेखा मात्रै छन्’ शीर्षकको समाचारको प्रकाशित भएको थियो । सोही समाचारलाई आधार मानेर सरकारलाई विपक्षी बनाई रिट दायर गरिएको इन्सेकका संयोजक नारायण सुवेदीले बताए ।
कर्णालीका सडक सुधार्न माग गर्दै उच्च अदालतमा रिट
अनलाइन खबर डटकम । सुर्खेत । २०८० वैशाख २५ गते
कर्णाली प्रदेशका सडक र सार्वजनिक यातायात सेवाको गुणस्तर सुधार गर्न परमादेशको माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ । अधिवक्ता उत्तमप्रसाद आचार्य, शेर बहादुर खत्री र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तर्फबाट प्रदेश संयोजक नारायण सुवेदीले सोमबार ७० वटा सरकारी कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् । रिट निवेदनमा कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, प्रदेशका १० जिल्लाका यातायात व्यवस्था कार्यालयहरु, कर्णाली प्रदेश ट्राफिक कार्यालय, दशवटै जिल्लाका प्रहरी, प्रशासन कार्यालहरुलाई विपक्षी बनाइएको छ । उच्च अदालत सुर्खेतका शाखा अधिकृत धनिराम बिसीका अनुसार रिटमाथि मंगलबार सुनुवाइ हुनेछ ।