कारागारमा कैदीबन्दी मर्छन् कि मारिन्छन् ?
हाम्रोमाट डटकम । २०८० पुस ११ गते
विराटनगर । मोरङ कारागारमा कैद भुक्तान गरिरहेका विराटनगर–१० का चण्डेश्वर सहनीको सोमबार बिहान उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भयो । पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले उनलाई दुई दिन अगाडि अस्पतालमा भर्ना गराएको थियो । सहनीको सोमबार नै कैद भुक्तान सकिने दिन थियो । सहनीका आफन्तले भने समयमै जानकारी नदिएको र उपचारमा लापरवाही गरेपछि उनको मृत्यु भएको भन्दै विरोध गरेका छन् ।
गत मंसिर २१ गते बिहीबार बेलुका झण्डै साढे ५ बजेतिर सोही कारागारमा पूर्पक्षको लागि थुनामा रहेका मोरङ लेटाङ–४ का ४० वर्षीय केशर बहादुर भुजेलको मृत्यु भयो । उनलाई कारागारभित्रै कुटपिट गरिएको र घाइते भएपछि कोशी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको आफन्तको दाबी छ । घटनाको विषयमा सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहको संयोजकत्वमा छानविन समिति बनेको छ । उक्त समिति छानविन प्रतिवेदनलाई अन्तिम रुप दिने तयारीमा छ ।
२०८० असार २८ गते पनि मोरङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका मोरङ पथरीशनिश्चरे ३ का ६८ वर्षीय दलबहादुर दमाईको मृत्यु भयो । उनी कर्तव्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा थिए ।
यसअघि २०७८ सालमा कारागार मोरङका कैदी नारायण खड्काको मृत्यु कुटपिटबाट भएको हल्ला चलेको थियो । ६३ वर्षीय गोपाल शर्माको पनि कारागारमै मृत्यु भएको थियो । शर्माको मृत्यु कारागार प्रशासनको लापरबाहीले भएको आफन्तको गुनासो थियो ।उल्लेखित घटना प्रतिनिधि घटना मात्रै हुन् । मोरङ कारागारमा विगत ४१ महिनायता मृत्यु हुने कैदीबन्दीको संख्या २९ जना पुगेको छ । हरेकको मृत्यु शंकास्पद हुने गरेको कारागार स्रोत बताउँछ । कारागारमा जेल सजाय भुक्तान गरिरहेका कतिपयले मरिरहेका कैदीबन्दीहरु कुटपिटका कारण भएको बताउँछन् । ‘यहाँ यातना दिइन्छ, बाहिर भने ज्यानै जान सक्छ,’ एक कैदी भन्छन्, ‘कारागार सुध्रने ठाउँ नै होइन । यहाँ त अपराध गर्ने र लुकाउने ठाउँ भएको छ ।’
उनले पैसा माग्ने नाइके, भाइ नाइकेहरुको दादागिरी खपिनसक्नु हुने सुनाए । मोरङ कारागारको क्षमता २५० जना पुरुष र ५० जना महिलाको हो । तथ्याङ्क हेर्दा मोरङ कारागारमा हाल ९४७ पुरुष र ९५ महिला गरि १ हजार ४२ जना कैदीबन्दी रहेका छन् । उनीहरुको मानवअधिकारको रक्षा नभएको भन्दै यसअघि मानवअधिकारवादी संस्था इन्सेकले उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेको थियो । ‘मोरङ कारागारमा रहेका कैदीबन्दीहरूको शङ्कास्पद मृत्यु घटनामा पोष्टमार्टम नहुने, कैदीबन्दीको मृत्यु घटनामा छानविन समितिले प्रतिवेदन सार्वजनिक नगर्ने, कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका कारण उनीहरू आधारभूत अधिकारबाट वञ्चित भएकाले सरकारको ध्यानाकर्षण र कारागार सुधारका लागि रिट दायर गरिएको हो,’ इन्सेक कोशी प्रदेशका संयोजक तथा अधिवक्ता सोमराज थापाले भने ।
२०८० असार २० गते दायर गरेको उक्त रिटमाथि अहिलेसम्म कुनै सुनुवाई नभएको इन्सेक प्रतिनिधि पुण्य पि अधिकारी बताउँछन् । उक्त रिटमा कारागारभित्रका नाइके, भाइ नाइकेको यातना सहनु परेको, कारागारभित्र हुने कालोबजारीका कारण कैदीबन्दी उपभोक्ता अधिकारबाट समेत वञ्चित भएकाले उल्लेख छ । ‘राज्यको नियन्त्रण र संरक्षणमा रहेका कैदीबन्दीको मृत्यु भएको भए पनि के कति कारणले कैद भुक्तान गरी रहेकाहरूको मृत्यु भएको हो, सो को विवरण खुलाइएको छैन’, इन्सेकद्वारा दायर गरिएको रिटमा उल्लेख छ ।
इन्सेकले मात्रै नभएर त्यहाँभित्र रहेर बाहिर निस्किएका कैदी बन्दीहरुले पनि धेरैको मृत्यु कुटपिट र यातनाको कारण हुने गरेको दाबी गर्छन् । मोरङ कारागरामा १० दिन (१, ११ र २१ गते) भित्र कारागारभित्रको खानपिन गरेको हिसाब (बन्डा) नमिलाए कैदीबन्दीहरुलाई चौकीदार र उनका निर्देशनमा नाइके, भाइ नाइकेहरुले यातना दिने गर्छन् । यातना दिएको कारणले कतिपयको उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु हुने गरेका घटनाहरु पनि छन् ।
कारागार व्यवस्थापन विभागको दीर्घकालीन लक्ष्य अपराधीलाई सभ्य र सुसंस्कृत, उत्पादनशील र कानूनको पालना गराउने हो । ‘अपराधीलाई सभ्य, सुसंस्कृत, उत्पादनशील र कानुनको पालना एवं सम्मान गर्ने नागरिकमा रूपान्तरण गरेर समाजमा पुनस्र्थापित र पुनःएकीकरण गर्न र सुरक्षित र समुन्नत समाजको निर्माण गर्ने वृहत्तर राष्ट्रिय उद्देश्यको परिपूर्ति गर्ने काममा आइपर्ने चुनौतिहरूको सामना गर्न सहयोग पु¥याउन सक्षम र मानवोचित वातावरणमा व्यवस्थित कारागार प्रणालीको स्थापना गर्ने,’ कारागार व्यवस्थापन विभागको वेभसाइटमा उल्लेख छ ।
यस्तै कारागार विभागको आधारभूत कार्यहरुमा अभियुक्तरूलाई कानून बमोजिम थुनामा राख्ने र छिटो एवं उचित न्यायमा सबै बन्दीको पहुँचलाई सुनिश्चित बनाउने तथा अन्तर्राष्ट्रिय रूपमा स्वीकृत मापदण्ड अनुसार सुरक्षित र मानवोचित वातावरण राखेर अपराधीहरूलाई आफ्नो सुधार र पुनःस्थापना गर्नको निम्ति सहयोग प्रदान गरी सार्वजनिक हित र सुरक्षाको प्रवद्र्धन गर्ने र बन्दीहरूको सामाजिक एकीकरणको प्रक्रियालाई सहज बनाउने उल्लेख छ ।
तर, मोरङ कारागारमा त्यो खालको व्यवहार कैदीबन्दीले भोगिरहेका छैनन् । कारागारभित्र हुने यसखालको घटनाको न्यूनीकरण गर्न सरकारले पर्याप्त ध्यान दिन नसकेको सरोकारवाला बताउँछन् । कारागारको बाहिरी सुरक्षा जेलर र प्रहरीहरुले गर्छन् भने भित्री सुरक्षाका लागि चौकीदार, नाइके, भाइनाइकेहरु राखिएको हुन्छ । तर भित्री सुरक्षाको जिम्मा लिनेहरुबाटै कैदीबन्दीमाथि अत्याचार हुने गरेको छ ।संघीय संसद प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिले २०७८ चैत्र १४ देखि १७ गतेसम्म मोरङ, सुनसरी र इलाम जिल्लाका कारागारहरुको अनुगमन गरेको थियो ।
समितिका संयोजक मिन विश्वकर्मा नेतृत्वको टोलीले गरेको उक्त अनुगमनका क्रममा कैदीबन्दीहरुको अत्याधिक चाप हुँदा कारागारमा छाला र श्वासप्रश्वास सम्बन्धी विभिन्न रोगका कारण कैदीबन्दीहरुको निधन भइरहेको पुष्टि भएको थियो । यस्तै कतिपय अनुचित सम्बन्धले पनि कैदीबन्दीको मृत्यु भएको प्रतिवेदनले स्पष्ट संकेत गरेको छ । ‘कैदीबन्दीसँग हुने अनुचित सम्बन्ध र यसको प्रभावलाई समेत मध्यनजर गरी आवधिक सरुवाको व्यवस्था मिलाउनुपर्ने’ सुझाव पनि उक्त प्रतिवेदनमा उल्लेख छ । ‘कारागार भित्र गत आ.व.२०७७÷७८ मा ११ जना र आ.व.२०७८÷७९ को हालसम्म ८ जना पुरुष कैदीबन्दीको मृत्यु भएको पाइयो । मृत्यु भएकाहरुको पोष्टमार्टम नगर्ने गरिएको जानकारी पाइयो,’ प्रतिवेदनमा भनिएको छ । तथ्याङ्क अनुसार मोरङ कारागारमा आ.व.२०७७÷७८ मा ११, आ.व. २०७८÷७९ मा १० र चालू आर्थिक वर्षको अहिलेसम्ममा ८ जना कैदीबन्दीको मृत्यु भएको छ ।