बाँके — विद्यार्थीले वर्षभरि किताब पढेर परीक्षा दिन्छन् । बाँकेस्थित जयन्तु बाल सुधार गृहका बालबालिकाले भने किताबको मुखै नदेखी परीक्षा दिएका छन् । सरकारले हरेक नागरिकलाई शिक्षासम्बन्धी हक प्रत्याभूत गरेको छ ।
अझ राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक सुनिश्चित गरिएको छ । बाल सृधार गृहमा किताब–कापी उपलब्ध नहुँदा यहाँका बालबालिका सुनेकै भरमा परीक्षा दिन वाध्य भएका हुन् ।
कोहलपुर घर भएका अर्का बालक गत जेठमा बाल सुधार गृहमा आएका थिए । यहाँ आउनुअघि कक्षा ८ मा पढ्दै थिए । गृहमा दिनभरि बस्नुभन्दा स्कुल पढ्न उनलाई रुचि जाग्यो । तर, किताब नै उपलब्ध नभएपछि पढाइलाई निरन्तरता दिन कठिन भएको उनले बताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका मानवअधिकारवादी संघसंस्थाले बाल सुधार गृहको अनुगमन गरेर यहाँका बालबालिका शिक्षा, स्वास्थ्य, खोनपानीजस्ता मौलिक अधिकारबाट वञ्चित भएको दाबी गरेका छन् । इन्सेकका प्रदेश ५ का संयोजक भोला महतले बालसुधार गृह व्यवस्थित गराउन जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापनपत्र बुझाएको बताए । ‘शिक्षा, स्वास्थ्यजस्तो मौलिक हकबाट यहाँका बालबालिका वञ्चित छन्,’ उनले भने, ‘सुधार गृह कारागार होइन, बालबालिकाको मौलिक अधिकार जसरी पनि सुरक्षित गर्नुपर्छ ।’
डेढ वर्षदेखि सञ्चालनमा आएको गृहमा एउटा विद्यालय भवन छ । चार कोठे भवनमा झ्याल छैनन् । सरकारले अहिलेसम्म शिक्षक दरबन्दीको व्यवस्था गरेको छैन । विद्यालय व्यवस्थित नहुँदा यहाँका बालक पढाइ–लेखाइबाटै वञ्चित हुनु परेको छ ।