कैलारी मानव अधिकार समूहले बुझायो अध्यक्ष चौधरीलाई वार्षिक नीति तथा कार्यक्रमको राय सुझाव
कैलाली खबर डटकम । २०८२ असार ८ गते
सुखड । कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष राज समझ चौधरीलाई गाउँपालिका स्तरीय मानव अधिकार समूहले वार्षिक नीति तथा कार्यक्रमको लागी राय सुझाव बुझाएको छ । आईतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा कैलारी गाउँपालिका स्तरीय मानव अधिकार समूहले अध्यक्षलाई वार्षिक नीति तथा कार्यक्रमको लागी राय सुझाव बुझाएको हो । आगामी आर्थिक वर्ष २०८२/०८३ मा बन्ने वार्षिक नीति तथा कार्यक्रमको लागी राय सुझाव बुझाएको समूहका संयोजक मान बहादुर चौधरीले जानकारी दिए ।
बुझाएको राय सुझावमा आगामी आर्थिक वर्ष २०८२/०८३ मा बन्ने वार्षिक नीति तथा कार्यक्रमको लागी संविधानमा व्यवस्था भए बमोजिम स्कुल शिक्षा (१ देखि १२ कक्षा सम्म) अनिवार्य तथा क्रमशः निःशुल्क बनाउँदै लगिनु पर्ने, विद्यार्थी संगँ अध्यक्ष कार्यक्रम सञ्चालन गर्नु पर्ने, विद्यालय शिक्षालाई समय अनुकूल तथा गुणस्तरीय बनाउनका लागि शिक्षण सिकाई क्रियाकलापमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा विशेष जोड दिनु पर्ने, लागु पदार्थ दुर्व्यसनी रोकथाम गर्ने नीति लिनु पर्ने, स्वास्थ्य संस्थाहरूको सेवा प्रभावकारी नहुँदा स्वास्थ्य संस्थाहरू प्रति सेवाग्राहीहरूको वितृष्ण बढ्दै गएकोले त्यसमा सुधार गर्नु पर्ने भनिएको छ ।
त्यस्तै कुहिने र नकुहिने फोहरहरू व्यवस्थापन गर्नु पर्ने नीति लिनु पर्ने, छाडा चौपायाहरूको उचित व्यवस्थापन गर्ने नीति लिनु पर्ने, घरेलु हिंसा नियन्त्रण गर्ने नीति ल्याउनु पर्ने, हिंसामा परेका व्यक्तिहरूको सुरक्षालाई मध्यनजर गरी सेफ हाउस निर्माण तथा सञ्चालन गरिने नीति अवलम्बन गर्नु पर्ने र छाउपडी प्रथाको पूर्णरुपमा अन्त्य गर्ने नीति ल्याउनु पर्ने र बाटाहरूको छेउछाउमा चौपाया बाँध्ने कार्यलाई रोकथाम तथा नियन्त्रण गर्ने नीति लिनु पर्ने इत्यादि कुराहरू बुझाएको राय सुझावमा उल्लेख गरीएको छ ।
नगरपालिकाले मागेको सूचना अनुसार आफूहरूले समूहमा छलफल गरी विभिन्न विषय बस्तुमा रहेर नीति तथा कार्यक्रमको लागी राय सुझाव बुझाएको गाउँपालिका स्तरीय मानव अधिकार समूहका संयोजक मान बहादुर चौधरीले जानकारी दिए । समूहले काम गर्ने शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसा तथा जातीय छुवाछुतको विषयमा रहेर नीति तथा कार्यक्रमको लागी राय सुझाव पेस गरेको उनले बताए । राय सुझाव बुझ्दै गाउँपालिका अध्यक्ष राज समझ चौधरीले राय सुझाव पेस गरेकोमा धन्यावाद दिँदै प्राप्त राय सुझाव अध्ययन गरी वार्षिक नीति तथा कार्यक्रम समेट्ने बताए ।
HUMAN RIGHTS NEWS PORTAL






