कोभिड–१९ ले शिक्षा क्षेत्रमा असर पारेको छ: सरोकारवाला

 December 5, 2020

भक्तपुर, २० मंसिर । कोभिड–१९ अर्थात कोरोना भाइरसले शैक्षिक क्षेत्रमा बढी असर पारेको सरोकारवाला निकायले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वाग्मती कार्यालय हेटौडाको आयोजनामा नगरस्तरीय मानव अधिकार समूह चाँगुनारायणको समन्वयमा मंसिर १९ गते सम्पन्न भएको कोभिड–१९ कोरोना भाइरसका कारण शिक्षा क्षेत्रमा पारेको प्रभाव र आगामी शैक्षिक नीति योजना विषयक शिक्षा अधिकार सम्बन्धि सरोकारवाला निकाय शिक्षक, अभिभावक, विद्यार्थीहरु बिचको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले शिक्षा क्षेत्रमा नराम्ररी प्रभाव पारेको बताएका हुन् । कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. १ का वडाध्यक्ष राजेश खड्काले लामो समय विद्यालय बन्द हुँदा पनि पहिले जस्तै विद्यालय खोल्न जोेखिम हुने भन्दै यसको न्यूनिकरण गर्न हाल विद्यालयहरुले भर्चुअल कक्षाबाट पठनपाठन गराइरहेकाले विद्यार्थीहरुले सोही कक्षामा लगनशिल भएर अध्ययन गर्न आग्रह गर्नुभयो । उहाँले शिक्षक, अभिभावकमा पठनपाठन बन्द हुँदा बालवालिकाको शैक्षिकस्तर घट्ला भन्ने चिन्ता भन्दा पनि सुुरक्षित प्रक्रिया अपनाइ, नगरपालिकाले दिएको निर्देशन अनुसार अध्ययन अध्यापन गर्न आग्रह गर्नुभयो । उहाँले सम्भव भएसम्म शिघ्र विद्यालय सञ्चालन गरिने र यहाँ भित्र रहेका शैक्षिक समस्यालाई हल गर्न आवश्यक नीति तथा योजना बनाइ समाधानका लागि अग्रसर हुने बताउनुभयो ।

त्यसअवसरमा चाँगुनारायण माध्यामिक विद्यालयका प्राचार्य एवं चाँगुनारायण नगरस्तरीय शिक्षा समितिका सदस्य दधिराम गेलालले लामो समय पठनपाठन बन्द हुँदा विद्यार्थीमा नकारात्मक प्रभाव पर्ने हो कि भन्ने चिन्ताले नगरपालिकाको सम्पूर्ण विद्यालयमा अनलाइन कक्षाहरु सञ्चालन गरिएको बताउनुभयो । उहाँले पढ्ने इच्छा हुँदाहुदै पनि कोभिड–१९ को कारणले शिक्षालाई बैकल्पिक माध्यमबाट निरन्तरता दिनुपर्ने भएकाले इन्टरनेट र अनलाइन कक्षा पढ्न आवश्यक प्रबिधिका अभावमा सुरक्षाका मापदण्ड अपनाएर विद्यालय मै कक्षा सञ्चालन गराउन समेत प्रक्रिया अगाडि बढाउन नगरपालिकाले पहल गर्नेमा जोड दिनुभयो । कार्यक्रममा चाँगुनारायण नगरपालिका शिक्षा शाखा अधिकृत दिनेश अर्यालले कोभिड–१९ का कारण सम्पूर्ण क्षेत्र नै प्रभावित भएको अबस्थामा शिक्षा क्षेत्र पनि त्यसबाट बञ्चित हुन नसकेको, अनलाइन कक्षा सञ्चालनमा ल्याए पनि सबै विद्यार्थीमा पुर्याउन आवश्यक नीति ल्याउन नसकेको, चाँगुनारायण नगरपालिका कम जोखिम रहेकाले सरकारको विद्यालय सञ्चालन निर्देशिका जारी गरेको, भर्चुअल तथा अनलाइन कक्षाका लागि शिक्षक शिक्षिकालाई प्रबिधिमैत्री शिक्षा दिन क्षमता अभिबृद्धि तालिम दिएको जानकारी दिनुभयो ।

त्यसअवसरमा शिक्षिका अष्टलक्ष्मी श्रेष्ठले विद्यालयका सबै विद्यार्थी अनलाइन कक्षाको पहुँचमा नुपुगेकाले समस्या परेको बताउनुभयो । विद्यार्थी सरस्वती सुनारले भौगोलिक अबस्थाका कारण मोवाइल, ल्यापटप, इन्टरनेटको अभावले पढ्न नपाएको, अनलाइन कक्षा पढ्न पनि सुविधायुक्त वातावरण मिलाउने समस्या परेको बताउनुभयो । अर्का विद्यार्थी रमेश थापाले अनलाइनबाट पनि शिक्षा लिन पाउँदा विद्यार्थीको क्षमतामा भने विकास भएको बताउनुभयो । कार्यक्रममा अभिभावकहरुले अनलाइन कक्षा मंहगो भएको, एकै परिवारमा दुई तीन जना बच्चा हुनेले सबैलाई प्रबिधिको जोहो गरिदिएर अनलाइन कक्षामा सहभागिता गराउन नसकेको बताउदै निःशुल्क अनलाइन शिक्षाको व्यबस्था हुनुपर्नेमा जोड दिएका थिए । मानव अधिकार समूहका संयोजक बच्चुराम न्यौपानेले शिक्षा लिने अवसरबाट कोही पनि बञ्चित हुन नपरोस भन्दै कोरोना भाइरसको जटिल अबस्थालाई मध्यनजर गर्दैै शैक्षिक वातावरण आदान प्रदान गर्न गराउन सरोकारवाला निकायलाई आग्रह गर्नुभयो । इन्सेक भक्तपुर सहजकर्ता राजु मंग्रातीले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नु भएको थियो ।

Source: https://radiohimalayan.com/archives/32400?fbclid=IwAR31YY8meijrunrbXqRIplhng3TyaJOVqyLDfT-Dit3vEy0m2sC95lZY-68