कोभिड–१९ ले शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारमा आयो समस्या
भक्तपुर, ४ मङ्सिर ।
कोभिड–१९ को महामारीका कारण चाँगुनारायण नगरपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार संरक्षण हुन नसक्दा समस्या आएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वाग्मति प्रदेश कार्यालयको आयोजना तथा चाँगुनारायण नगरस्तरीय मानव अधिकार समूहको समन्वयमा नगरपालिका कार्यालयमा आज आयोजना भएको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सम्बन्धी समस्या तथा सरोकारवाला पहिचार र कार्य योजना निर्माण कार्यक्रममा यस्ता समस्याको पहिचान गरिएको हो । कार्यक्रममा भएको छलफलमा शिक्षा तर्फको समस्या पहिचान गर्दै कोरोनाका कारण अनलाइन शिक्षा कमजोर भएको, नगरपालिकाले अनलाइन शिक्षा र शुल्क उठाउने अनुमति दिई अनुगमन एवं नियमन नगर्दा निजी विद्यालयहरुले मनोमानी चर्को शुल्क उठाएको, निम्न आय भएका सबै बालबालिका अनलाइन शिक्षाको पहुँचमा पुग्न नसकेको, नगरपालिकाको प्रष्ट नीति नहुँदा शिक्षकहरु हाजिर गरेर घर मै बस्दा उचित शिक्षा प्रदान गर्न असरफल भएको, विद्यार्थी बरालिएको, बैकल्पिक शिक्षाको उचित व्यबस्थापन नभएको निष्कर्ष निकालिएको थियो ।
कोभिडका कारण स्वास्थ्य क्षेत्रमा पनि जटिल समस्या आएको कार्यक्रममा बताइएको थियो । वडा वडाका स्वास्थ्य केन्द्रहरुमा सामान्य रुघा खोकी र ज्वरोको समेत उपचार नपाइएको, स्वास्थ्य चौकीमा सहज औषधि नपाएको, स्वास्थ्य चौकीमा पाउने उपचार र औषधिको प्रकार कतै उल्लेख नगरिएको, एम्बुलेन्स सेवामा असुविधा भएको, स्वास्थ्य केन्द्रहरुले स्वयंसेवक परिचालनमा समस्या देखिएको, अपाड्ग मैत्री भवन नहुँदा समस्या आएको जस्ता समस्याहरु पहिचान गरिएको थियो । कोरोनाले कृषि क्षेत्रमा पनि असर पारेको कार्यक्रममा बताइएको थियो । कृषि अधिकार सम्बन्धी समस्यामा बिऊ बिजन समय मै पर्याप्त नपाएको, नगरपालिकाले पर्याप्त वितरण नगरेको, टनेल बनाउन प्लाष्टिक समयमा नदिदाँ कृषि उत्पादनमा समस्या परेको, रासायनिक मल नपाएको, औषधि नपाएको, तालिमको व्यबस्था नभएको, उत्पादित सामाग्रीको बजारिकरणमा समस्या आउँदा किसान थप मर्कामा परेको छलफलमा सहभागिहरुले बताउनु भएको थियो ।
आवास अधिकार सम्बन्धी समस्यामा कागजी व्यबस्था नमिल्दा भूकम्पबाट क्षति भएका घरहरु अझै पुर्ननिर्माण हुन नसकेको र विपन्न वर्गका नागरिकलाई सहज व्यबस्था नहुँदा समस्या आएको बताइएको थियो । कार्यक्रममा इन्सेक वाग्मति प्रदेश कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीले कोरोना भाइरसको महामारीका कारण देखिएका समस्याहरुको पहिचान गर्दै समस्या समाधानका लागि आवश्यक पहल गरिने बताउनुभयो । उहाँले सकारात्मक सोचका साथै कोभिडबाट आफू पनि बच्दै अगाडि बढ्नु पर्ने तथा अरुलाई पनि यसबाट बचाउनु सचेतना बृद्धि गर्दै जानु पर्ने आवश्यकता रहेको औल्इाउनुभयो । कार्यक्रममा पहिचान भएका शिक्षा, स्वास्थ्य, खाद्य, आवास अधिकारमा भएको समस्यालाई सम्बन्धित निकायमा पुर्याउदै समाधानको लागि पहल गर्ने कार्यक्रमका सभापति एवं समितिका अध्यक्ष बच्चुराम न्यौपानेले बताउनुभयो । इन्सेक जिल्ला सहजकर्ता राजु मिजारले कार्यक्रमको उदेशय माथि जानकारी गराउनु भएको थियो ।
Source: https://radiohimalayan.com/archives/31524?fbclid=IwAR2LBV3pf_8mP4f_bD7itwBCgI8HcaBgihonjgDA7Uhn5258kgA76J8jBXs