कोरोना जोखिम व्यवस्थापन गर्न पूर्वतयारीमा जोड

युगबोध डटकम । २०७८ कात्तिक १३ गते

घोराही, १३ कार्तिक । कोरोना संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै साझा कार्ययोजना बनाएर अघि बढ्नुुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कोरोना संक्रमणका बेला अग्रपंक्तिमा खटेर काम गर्नेहरुको अवस्था, चुनौती र संरक्षणका विषयमा शुुक्रबार घोराहीमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले पर्याप्त स्रोत, साधन र जनशक्तिको व्यवस्थातर्फ ध्यान दिनुुपर्नेमा जोड दिएका हुन् । कोरोनाको दोस्रो भेरियन्टले पारेको असरलाई सिकाइका रुपमा लिदै फेरि आउन सक्ने महामारीबाट बच्न अस्पताल, बेड, अक्सिजन, औषधि र स्वास्थ्यकर्मीको प्रबन्ध गर्ने तर्फ सरकारले ध्यान दिनुपर्ने उनीहरुको भनाइ थियो ।

मानवअधिकार सञ्जालका अध्यक्ष केशवकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले नयाँ भेरियन्टसँग जुध्न साझा कार्ययोजना आवश्यक रहेको बताउनुुभयो । सबै सरोकारवालाहरुले साझा कार्ययोजना बनाई प्रभावकारीढंगले व्यवस्थापनतर्फ अहिलेदेखिनै ध्यान दिनुुपर्ने उहाँको भनाइ थियो । स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले सकसपूर्ण अवस्थामा नागरिकको जीवन रक्षामा स्वास्थ्यकर्मीहरु लागेको बताउनुुभयो । नागरिकहरुको जीवन रक्षाका लागि स्वास्थ्यकर्मीहरु अहोरात्र खटेर काम गरेको भन्दै उहाँले फेरि आउन सक्ने जोखिमलाई आँकलन गरेर पूूर्वतयारी गर्नु अहिलेको आवश्यकता भएको धारणा राख्नुुभयो ।

त्यसैगरी महिला मानवअधिकार रक्षकहरुको सञ्जाल दाङकी अध्यक्ष हुमा डिसीले कोरोना संक्रमणका बेला मानवअधिकार रक्षकहरुको चिन्ता राज्यले गर्न सक्नुुपर्ने बताउनुुभयो । यसअघिको महामारीमा संक्रमितले विभिन्न लान्छना र विभेद खेपेको भन्दै त्यसतर्फ सचेतना जगाउन आवश्यक रहेकोमा जोड दिनुुभयो । कार्यक्रममा स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले कोरोना संक्रमणका बेला स्वास्थ्यकर्मीहरु आफ्नै क्षेत्रमा चिकित्सकहरुबाट विभेद खेप्नुुपरेको बताउनुुभयो । अहिलेसम्म दाङमा १२ हजार आठ सय २४ जना कोरोनाबाट संक्रमित भएको, १२ हजार पाँच सय २९ जना निको भएको र दुई सय ७१ जनाको निधन भएको जानकारी दिनुुभयो । अहिलेसम्म दाङमा एक लाख ३७ हजार तीन सय २० जनाले कोरोनाको पूर्ण खोप लगाएको समेत बताउनुुभयो ।

कार्यक्रममा नागरिक समाजका सल्लाहकार चन्द्रराज पन्तले कोरोना संक्रमणका बेला चिकित्सक र अस्पतालहरुबाटै विभेद भएको बताउनुुभयो । कार्यक्रममा डा. अमित लामगादे, घोराही–१४ का अध्यक्ष शक्तिराम डाँगी, लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेल, तुुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमपी न्यौपाने, प्रहरी नायब उपरीक्षक मुुकुुन्द रिजाल, जिल्ला प्रशासन कार्यालयका अधिकृत टंक गौतमलगायतले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तयारीमा लाग्नुुको विकल्प नभएको बताउनुुभयो । इन्सेक लुुम्बिनी प्रदेशका संयोजक भोला महतले विषय प्रवेश गराउनु भएको कार्यक्रमको सहजीकरण जिल्ला प्रतिनिधि जे.एन. सागरले गर्नुुभएको थियो ।

Source: कोरोना जोखिम व्यवस्थापन गर्न पूर्वतयारीमा जोड (nayayougbodh.com)