कोरोना परीक्षण र उपचार निशुल्क गर्न रामेछापको नागरिक समाजको माग

रामेछाप । कार्तिक १९ गते,


रामेछापको नागरिक समाजले कोरोना भाइरस कोभिड १९ को परीक्षण तथा उपचार निशुल्क गर्न जिल्ला स्थित स्थानीय सरकारसंग माग गरेको छ । सदरमुकाम मन्थलीमा मानवअधिकार संरक्षण सञ्जाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को बुधबार भएको निगरानी समुह बैठकमा सहभागिहरुले यस्तो माग गरेका हुन् । कार्यक्रममा सहभागिहरुले छिमेकी जिल्ला दोलखा लगायत अन्य जिल्लाहरुका स्थानीय सरकारले आफ्ना नागरिकहरुको निशुल्क कोरोना परीक्षण तथा उपचार गराउने निर्णय गरिसकेकाले रामेछापका स्थानीय सरकारले पनि यस्तो व्यवस्था गर्नुपर्ने माग गरेका छन् । नेपाल बार यसोसियसन रामेछापका अध्यक्ष विचारसिं दोङले कोरोना सङ्क्रमितले होम आइसोलेशनमा बस्दा आवश्यक स्वास्थ्य सुरक्षा पालना नगरेको पाइएकाले यसबाट आउनसक्ने समस्याका बारेमा सोच्न सरोकारवालालाई ध्यानाकर्षण गराउनुभयो । गैर सरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष रत्न प्रसाद कडेलले जिल्लाका क्याम्पस तथा विद्यालयहरुमा पढाई हँुदा र परीक्षा संचालन गरिदा स्वास्थ्य मापदण्ड पालना भए र नभएको बारेमा नागरिक समाजका तर्फवाट समेत अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । इन्सेक रामेछापका प्रतिनिधि एवं पत्रकार नवराज पथिकले देशभरजस्तै रामेछापमा पनि कोरोना विमाको रकम सहजै नपाएको गुणासाहरु आएकाले यसमा ध्यान दिन सरोकारवालाको ध्याकर्षन गराउनुभयो । मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईले रामेछापका स्थानीय सरकारहरुले आफ्ना नागरिकहरुको कोरोना परीक्षण तथा उपचार निशुल्क गर्नुपर्ने बताउनुभयो । छिमेकी जिल्ला दोलखाका सवै स्थानीय तहहरुले आफ्ना नागरिकहरुको निशुल्क कोरोना परीक्षण तथा उपचार गराउने व्यवस्था गरेका छन् , अब रामेछापका स्थानीय सरकारले आप्ना नागरिकहरुका लागि अझ बलिया योजना ल्याउन आवश्यक छ संयोजक प्रसाईले भन्नुभयो ।

Source: https://www.tamakosionline.com/2020/11/04/42645/?fbclid=IwAR2opd7aCtxoJx_anjjSHGhA6sdaOyMMP7pgb7dKmjXGUnV-ONLyx0q830k