कोरोना बिमा : बीमितलाई झुलाउँदै बिमा कम्पनी
नेपालगञ्ज न्यूज । २०७८ कात्तिक ४ गते
निर्जीवन बीमा कम्पनीहरुले बिमितलाई रकम भुक्तानी नदिएर हैरान पारेका छन् । कोरोना संक्रमण भएको प्रमाण पेश गरेको केही दिनमा बीमा रकम भुक्तानी गर्ने भन्दै बीमा गरेका विभिन्न कम्पनीले अहिले रकम भुक्तानीमा आलटाल गरिरहेका छन् । गाह्रो पर्दा बीमाको रकम काम लाग्ने भन्दै बीमा गरिन्छ । तर, बीमा ठूलो रकम भुक्तानी गर्नुपर्ने भएपछि कमाउ धन्दामा लागेका बीमा कम्पनीले बीमितलाई विभिन्न बहाना बनाउँदै आलटाल गर्न लागेका हुन् । ‘उपभोक्तालाई समयमै बीमाका रकम नदिएर ठगी गरिएको छ, ठगी हुँदा पनि सरोकारवाला निकायले ठोस कारवाही गर्न सकेको छैन’, बीमित भन्छन् । नियमनकारी निकाय बीमा समितिको तथ्यांक अनुसार, अहिलेसम्म एक लाख बढीले कोरोना बीमावापत पाउनुपर्ने भुक्तानी पाएका छैनन् । कोरोना संक्रमणको बिमा गरेका बिमित उपभोक्ताले बिमा रकम पाउन नसकेको गुनासो गरेका छन् । बाँकेमा रहेका सिद्धार्थ, शिखर, राष्ट्रिय बिमा संस्थान लगायतका बिमा कम्पनीहरुले कोरोना बिमा गराए पनि सम्झौता अनुसार बिमा रकम उपलब्ध नगराए पछि बिमितहरु मर्कामा परेका हुन् । कोरोना संक्रमणको सुरुवाती अवस्थामा सम्भावित कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राखेर बिमा गरेका बिमितले दावी गरेको लामो समयसम्म पनि बिमा वापतको रकम पाउन सकेका छैनन् ।
पहिलो संक्रमणको बेला बिमा गराएका केही बिमितले रकम पाए पनि अधिकांशले बिमाका उपभोक्ताले बिमा रकम पाउन सकेका छैनन् । बाँकेका बिभिन्न बिमा कम्पनी मार्फत बिमा गराएका अधिकांश ब्यक्तिहरुले बिमा रकम पाउन नसकेको आफै पीडित बनेका उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता वसन्त गौतमले बताए । कोरोना संक्रमणको बेला शिद्धार्थ इन्सुरेन्स मार्फत बिमा गराएका गौतमले बिमा रकम दावी गरेको ६ महिना लाग्दा पनि बिमा रकम पाउन नसकेको गुनासो गरे । गौतम मात्रै होइन नर्सिङ्ग पेशामा आवद्ध बसुन्धरा ज्ञवालीले पनि बिमा रकम पाउन सकेकी छैनन् । उनले भेरी अस्पताल मार्फत राष्ट्रिय बिमा कम्पनी बाँके शाखा मार्फत बिमा गराएकी थिइन् । उनी लगायत अस्पतालका अन्य स्वास्थ्यकर्मीले पनि बिमा रकम पाउन सकेका छैनन् ।
अन्य सर्वसाधारण बिमितको कुरै छाडौ अधिकारवादी सस्था इन्सकेका लुम्बिनी प्रदेश संयोजक अधिकारकर्मी भोला महत, नेपाल बार एशोसिएसनका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, नेपालगन्ज उच्च बारमा पुर्व अध्यक्ष बिकाश आचार्य लगायतका कानून ब्यवसायी र अधिकारकर्मीले समेत बिमा रकम पाउन सकेका छैनन् ।
बिमा कम्पनीहरुले सम्झौता अनुसारको बिमा रकम उपलब्ध नगराए पछि नेपालगन्जका अधिकारकर्मी र कानून ब्यवसायीले त्यसको कानूनी उपचारका बारेमा छलफल थालेका छन् । अधिकारकर्मी भोला महत, अधिवक्ताहरु सुनिल कुमार श्रेष्ठ, लोक बहादुर शाह, वसन्त गौतम, बिकाश आचार्य, लगायतले बिमा कम्पनीहरुले सम्झौता अनुसार बिमा रकम नदिएको उपभोक्ता मारमा परेको भन्दै कानूनी उपचारमा जाने बिषयमा छलफल भएको इन्सेकमा लुम्बिनी प्रदेश संयोजक भोला महतले बताए । बिमा कम्पनीहरुले सर्त बमोजिमको कानूनी दायित्व पुरा नगर्दा बिमित मर्कामा परेकोमा आफुहरुको गंभिर ध्यानाकर्षण भएको नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले बताए । अर्थ मन्त्रालयले बजेट निकासा गरेको बहाना बनाई एकले अर्कोलाई देखाएर आलटाल गर्ने तर बिमा रकम भुक्तानी प्रकृया अगाडी नबढाउने कार्य गरेर अन्याय गरेको अधिवक्ता बिकाश आचार्यले प्रतिक्रिया दिए । बिमा कम्पनीहरुले बिमित संगको सम्झौता बमोजिम यथासिघ्र बिमा रकम भुक्तानी दिनु पर्ने पीडितहरुको भनाइ रहेको छ ।
बिभिन्न बिमा कम्पनी मार्फत महासंक्रामक सरुवा रोग (कोभेिड–१९) को बिमा गरेको नागरिकले सो बिमा लेखको सर्तहरुमा उल्लेखित अबधि भित्र कोरोना भाइरस रोगबाट पीडित भएको कुरा निजहरुको पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हुँदा बिमा लेखमा उल्लेखित शर्त बमोजिम सो बिमा लेखमा उल्लेखित म्यादै भित्र कोरोना परिक्षणको रिपोर्ट लगायतका आवश्यक कागजात संलग्न राखि बिमा कम्पनी लिमिटेड नेपालगन्ज शाखामा बिमा रकम भुक्तानीका निमित्त माग दाबी गरेको महिनौं हुँदा समेत बिमा कम्पनीले आलटाल गर्दै भोली–पर्सी भन्दै टार्ने र सरकारबाट रकम प्राप्त भएपछि भुक्तानी गरिनेछ भनेर उपभोक्ता झुक्याउने कार्य गरेको उपभोक्ता अधिकारकर्मी अधिवक्ता वसन्त गौतमले बताए सामान्यतया महामारीमा बीमा गरिंदैन । तर, बीमा कम्पनीहरुले नेपालमा कोरोना संक्रमण नफैलने अनुमान गर्दै बीमा पोलिसी बेचेका थिए । तर, त्यसको ठिक विपरित बीमा गरेका धेरैमा कोरोना देखियो । उनीहरुले उठाएको बीमा रकमले थेग्न नसक्ने भयो ।
कोरोना संक्रमित संख्या ह्वात्तै बढेपछि बीमा कम्पनीहरुले पोलिसी नै बन्द गरेका थिए । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा समिति र बीमा कम्पनीहरु बोलाएर पोलिसी बन्द नगर्न भन्दै बीमा दाबी भुक्तानीमा सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
त्यसबेला सर्वसाधारणबाट उठाएको रकमसम्म बीमा कम्पनीले, त्यसमा अपुग १ अर्बसम्म बीमा समितिले र बाँकी अपुग रकम सरकारले दिने सहमति भएको थियो । सर्वसाधारणबाट उठाएको ३ अर्ब रकम बीमा कम्पनीहरुले भुक्तानी दिएका पनि छन् । यसमा थप एक अर्ब बीमा समितिले दिएको छ । अरु रकम सरकारले नदिएको भन्दै बीमा कम्पनीहरुले भुक्तानी रोकेका छन् । तत्कालीन अर्थमन्त्री पौडेलले ७ दिनभित्रै भुक्तानी दिने निर्णय गरेका थिए, जुन कार्यान्वयन भएन । अहिलेका अर्थमन्त्री जनार्दन शर्माले बीमा कम्पनीहरुले बीमा गरेको रकम उनीहरुकै जिम्मेवारी हो भन्दै भुक्तानी रोकिदिएका छन् । बीमा कम्पनीहरुले ५०० रुपैयाँ तिरेर ५० हजार रुपैयाँ र एक हजार तिरेर एक लाख रुपैयाँको कोरोना बीमा गर्न सक्ने व्यवस्था गरेका थिए । सामूहिक बीमा गर्दा भने ३०० तिरेर ५० हजार र ६०० रुपैयाँ तिरेर १ लाख रुपैयाँको बीमा गर्न सकिने व्यवस्था गरेका थिए । शुरुमा कोरोना पोजिटिभ भएपछि बीमाबापतको पूरै रकम दिने गरिएकोमा पछि पोजिटिभ आए २५ प्रतिशत र बाँकी ७५ प्रतिशतसम्म रकम होटल आइसोलेसन वा अस्पताल बसेको बिल भर्पाइ पेश गरेपछि मात्र दिने व्यवस्था गरियो ।
Source: कोरोना बिमा : बीमितलाई झुलाउँदै बिमा कम्पनी – Nepalgunj News