कोशीमा परिवारका सदस्यबाट ३४ जना महिलाको हत्या
मुलुकी खबर डटकम । २०८१ फागुन ८ गते
विराटनगर । कोशी प्रदेशमा परिवारका सदस्यबाट महिलाको हत्या धेरै हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । ३४ जना महिलाको हत्या परिवारजनबाट भएको हो ।
मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले १४ जिल्ला रहेको प्रदेशमा १ वर्षभित्रको तथ्यांक बाहिर ल्याएको छ । इन्सेक प्रदेश कार्यालयले बुधबार विराटनगरमा नेपाल मानव अधिकार वर्ष पुस्तक, २०२५ सार्वजनिक गर्दै देशभर १ वर्षको अवधिमा परिवारजनबाट १ सय जना महिलाको हत्या भएको जानकारी दिएको छ ।
‘मुलुकभर १ सय जना महिलाको हत्या परिवारका सदस्यबाट हुुँदा कोशीमा मात्रै ३४ जना छन्,’ इन्सेक कोशी प्रदेशका प्रलेख अधिकृत पुण्य अधिकारीले भने । उनका अनुसार सन् २०२४ मा परिवारजनबाट हत्या भएका ३४ जना महिलामध्ये सबैभन्दा धेरै उदयपुरका ७ जना छन् । झापाका ५, मोरङका ४, सुनसरी, इलाम, तेह्रथुम र ओखलढुंगाका ३–३, पाँचथरमा २, ताप्लेजुङ, संखुवासभा, भोजपुर र सोलुखुम्बुमा १–१ जना महिलाको हत्या परिवारजनबाट भएको जानकारी अधिकारीले दिए ।
उनका अनुसार मानव अधिकार सूचकांकमा कोशी प्रदेश चौथो स्थानमा छ । ७ वटै प्रदेशहरूमा हिंसाका घटनासँग सम्बन्धित मानव अधिकार उल्लंघन सूचकांकमा यसवर्ष (सन् २०२४) कोशी प्रदेश ३६ दशमलव १८ प्रतिशत सूचकांक मूल्यसहित चौथो स्थानमा रहेको उनको भनाइ छ ।
वर्ष पुस्तकका आधारमा बागमती, मधेस र लुम्बिनीपछि कोशी प्रदेशको अवस्था खराब देखिएको जानकारी अधिकारीले दिए । इन्सेकले ५३ वटा सूचकमार्फत विश्लेषण गरेको थियो । उनका अनुसार सन् २०२३ मा मानव अधिकार उल्लंघन सूचकांक ३३ दशमलव ३२ प्रतिशत थियो । सन् २०२४ मा मानव अधिकारको अवस्था झन् खराब देखिएको उनको भनाइ छ ।
सन् २०२३ मा राज्य पक्ष र अन्य पक्षबाट १ हजार ४ सय २५ जना पीडित भएका थिए । त्यो संख्या बढेर सन् २०२४ मा १ हजार ६ सय ९४ जना पीडित भएको तथ्यांक इन्सेकले सार्वजनिक गरेको छ । मानव अधिकार उल्लंघन एवं ज्यादतीका घटनाबाट २०२४ मा अघिल्लो वर्षको तुलनामा २ सय ६९ जना बढी पीडित भएको अधिकारीले बताए ।
कोशीमा राज्य पक्षबाट हुने मानव अधिकार उल्लंघनको अवस्थामा केही सुधार आएको छ । सन् २०२३ मा राज्य पक्षबाट १ सय १६ जना पीडित भएकोमा २०२४ मा पीडितको संख्या ४१ छ । यसवर्ष कोशी प्रदेशमा राज्यको नियन्त्रणमा रहेका ६ जनाको मृत्यु भएको छ । राज्यको सुरक्षामा रहेकाहरूको शंकास्पद मृत्युले जीवनको अधिकारमाथि गम्भीर प्रश्न चिन्ह खडा भएको इन्सेकका कोशी प्रदेश संयोजक मनोहर पोखरेलले बताए ।
मानव अधिकार वर्ष पुस्तक, २०२५ मा उल्लेख भए अनुसार सन् २०२४ मा कोशी प्रदेशमा प्रहरी हिरासतमा १ र कारागारमा ५ जनाको मृत्यु भएको हो । पोखरेलका अनुसार २०२३ पनि राज्यको नियन्त्रणमा रहेका ६ जनाको मृत्यु भएको थियो । १ वर्षको अवधिमा राज्य पक्षबाट गिरफ्तारीका २ वटा र कुटपिटका ४ वटा घटना भएको उनको भनाइ छ ।
राज्य पक्षको कुटपिटबाट १, गोली प्रहारबाट ३ र झडपमा लाट्ठी प्रहारबाट ६ जना घाइते भएको पोखरेलले बताए । त्यस्तै, धारिलो हतियार प्रहारबाट ११ जना घाइते भएका छन् । उनका अनुसार भेला हुन पाउने अधिकारबाट ४ जना बञ्चित भएका छन् ।
सन् २०२३ को तुलनामा सन् २०२४ मा कोशी प्रदेशमा अन्य पक्षबाट मानव अधिकार ज्यादतीका घटनामा वृद्धि भएको तथ्यांकले देखाउँछ । सन् २०२३ मा अन्य पक्षबाट महिला अधिकारका घटनाबाट ९ सय २६ जना र बालअधिकारका घटनाबाट ३ सय ३६ जना पीडित भएका थिए । सन् २०२४ मा महिला अधिकारका घटनामा १ हजार १ सय ४० र बालअधिकारका घटनाबाट ३ सय ५२ जना पीडित भएको तथ्यांक इन्सेकसँग छ ।
यसवर्ष कोशी प्रदेशमा बलात्कारका घटनाबाट १ सय ७६ जना महिला पीडित भएका छन् । बलात्कारपछि २ जना महिलाको हत्या भएको छ । बलात्कार प्रयासका घटनाबाट २० जना, बोक्सी आरोपबाट २, दाइजो सम्बन्धी हिंसाबाट २ जना, सामूहिक बलात्कारबाट १, अत्याचारका घटनाबाट १४ जना, वैवाहिक बलात्कारको घटनाबाट ३ जना, मानव बेचबिखनबाट २ जना, यौनजन्य साइवर क्राइमको घटनामा एक जना, घरेलु हिंसाका घटनामा ८ सय ८३ जना र परिवारका सदस्यबाट ३४ जनाको हत्या गरेर १ हजार १ सय ४० जना महिला पीडित भएको पोखरेलले बताए ।
उनका अनुसार १ वर्षको अवधिमा अन्य पक्षबाट बालअधिकारविरूद्धका घटना हुँदा ३ सय ५२ जना पीडित भएका छन् । सबैभन्दा धेरै बलात्कार पीडित छन् । बलात्कारबाट २ सय २५ जना, सामूहिक बलात्कारबाट ३, यौन दुव्र्यवहारबाट ९४, बालविवाहबाट ३, बेचबिखनका घटनाबाट ५, शिक्षण संस्थामा दिइएको शारीरिक सजायबाट ४ जना, नवजात शिशु हत्यामा ६, अत्याचारका घटनाबाट १२ जना पीडित भएको जानकारी पोखरेलले दिए ।
१ वर्षको अवधिमा अन्य पक्षबाट मोसो दलेको घटनामा परेर ३ जना पीडित भएका छन् । कुटपिटबाट ६ जना घाइते भएका छन् । अन्य पक्षको गोली प्रहारबाट २, बम विस्फोटबाट २, धारिलो हतियार प्रहारबाट १७ र झडपमा परेर ३३ जना घाइते भएको अभिलेख इन्सेकसँग छ । अन्य पक्षको कुटपिटबाट ३१ जनाको मृत्यु भएको छ ।
पोखरेलका अनुसार बम विस्फोटबाट २ जनाको मृत्यु भएको छ । सेवन गर्न दिइएको विषबाट २ जनाको मत्यु र धारिलो हतियार प्रहारबाट ३४ जनाको मृत्यु भएको उनले बताए । धम्कीका घटनामा ६ जना र जातीय विभेदबाट ७ जना पीडित भएको अभिलेख इन्सेकले गरेको छ ।
कोशी प्रदेशमा रहेका जिल्ला कारागारको क्षमता ३ हजार १ सय ८४ रहेकोमा ६ हजार १ सय ७५ जनालाई राखिएको इन्सेकले जनाएको छ । इन्सेकका अनुसार विराटनगरको बाल सुधारगृहमा २ सय ४४ जना बालकलाई राखिएको छ ।
सन् २०२४ देखि इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तकमा जलवायु परिवर्तन, बढ्दो वातावरणीय प्रदूषण, मानव अधिकार र वातावरणको अधिकारलाई समेत उठान गरेको छ ।
संविधानले प्रदान गरेको स्वच्छ वातावरणको हकसहित विश्वव्यापी रूपमा गम्भीर संकटका रूपमा देखा परेको जलवायु परिवर्तनको असर र यसले मानव अधिकारमा पर्ने प्रभावलाई इन्सेकले पुस्तकमार्फत उजागर गरेको हो ।
सन् २०२४ मा कोशी प्रदेशमा वायु प्रदूषण, पानीको मुहान सुक्नु, बाढीपहिरोलगायत प्राकृतिक विपद्का कारण कोशी प्रदेशमा १८ हजार ५ सय ३२ जनाले बसाइँसराइ गरेको दाबी इन्सेकको छ । इन्सेकका अनुसार कोशी प्रदेशमा भएका १ सय २६ वटा इँटाभट्टा र १३ वटा सिमेन्ट उद्योगका कारण वायु प्रदूषण बढेको छ ।
प्रदेशभरि २ सय ४० वटा सार्वजनिक शौचालय रहेको र ६७ प्रतिशत जनतामा मात्र पिउने पानीको पहुँच पुगेको इन्सेकले वर्ष पुस्तकमा उल्लेख छ । कोशी प्रदेशमा सुनसरी, मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगका कारण भएको पर्यावरण प्रदूषणलाई इन्सेकले यस वर्ष कोशी प्रदेशको वातावरणको सवालका रूपमा आलेखमार्फत उठान गरेको छ ।
वर्ष पुस्तक सार्वजनिकीकरण कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग विराटनगरका प्रमुख वीरबहादुर बुढामगर, इन्सेक कोशी प्रदेशका संयोजक मनोहर पोखरेल, नेपाल पत्रकार महासंघ कोशीका सचिव अरविन्दकुमार मेहता, मानव अधिकार विज्ञ एवं अधिवक्ता कोषराज न्यौपाने, वुद्धिजीवी दिनेश श्रेष्ठ, अधिकारकर्मी मञ्जीता उपाध्याय, वासु अधिकारी, शोभा बजगाईंलगायतको उपस्थिति थियो ।
उनीहरुले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसँगै जलवायु परिवर्तनको विषयलाई अधिकारकर्मीले अब साझा मुद्दाको रूपमा लिएर अघि बढ्न आवश्यक रहेको औंल्याएका छन् । उनीहरुले मानव अधिकारमैत्री समाज निर्माणका लागि राज्यको प्रयासलाई सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।