कोशीमा ६ महिनामै ३३१ मानव अधिकार उल्लंघनका घटना

प्रदेश खबर डटकम । २०८३ असार २९ गते

धनकुटा : कोशी प्रदेशमा सन् २०२६ को पहिलो ६ महिनामै मानव अधिकार उल्लंघनका ३३१ घटना सार्वजनिक भएका छन्। ती घटनाबाट सर्वसाधारण नागरिक प्रभावित भएको तथ्यांक अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको हो।

मानव अधिकार एलाइन्सको २७औँ स्थापना दिवसका अवसरमा धनकुटामा आयोजित ‘कोशी प्रदेशमा मानव अधिकारको अवस्था’ विषयक कार्यक्रममा इन्सेक कोशी प्रदेशका प्रमुख मनोहर पोख्रेलले गत पुस १६ देखि असार १६ सम्मको तथ्यांक प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

प्रस्तुत तथ्यांकअनुसार ३३१ घटनामध्ये नागरिक अधिकारसँग सम्बन्धित १५९, बाल अधिकारसँग सम्बन्धित १११ र महिला अधिकारसँग सम्बन्धित ६१ घटना रहेका छन्।

कार्यक्रममा देशभरका कारागारको अवस्था पनि सार्वजनिक गरिएको थियो। हाल देशभरका कारागारको क्षमता १६ हजार ९५६ जनाको भए पनि २५ हजार ९२ जना कैदीबन्दी रहेका छन्। त्यस्तै, देशभरका कारागारबाट ३ हजार ८०३ जना कैदीबन्दी फरार रहेको तथ्यांक पनि इन्सेकले सार्वजनिक गरेको छ।

इन्सेकका अनुसार सन् २०२५ मा कोशी प्रदेशमा मानव अधिकार उल्लंघनका घटनाबाट १ हजार ४८९ जना पीडित भएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतमले मानव अधिकार उल्लंघनका घटना न्यूनीकरणका लागि राज्य, सरोकारवाला निकाय र नागरिक सबैको साझा जिम्मेवारी रहेको बताए।

उनले कानुनको अज्ञानताले कसैलाई पनि उन्मुक्ति नदिने उल्लेख गर्दै जानी वा नजानी कानुनविपरीत गरिएका कार्यमा समान रूपमा कानुन लागू हुने भएकाले प्रत्येक नागरिकले कानुनी सचेतना बढाउन आवश्यक रहेकोमा जोड दिए।

Source: https://pradeskhabar.com/archives/124920

Source: https://gorkhapatraonline.com/news/214218

Source: https://sangalokhabar.com/136470

Source: https://koshipress.com/news/2026/07/13/12363.html

Source: https://shorturl.at/rGHY2

Source: https://dhankutafm.com/2026/07/428738/