कोशी प्रदेशमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ सय ५७ जना पीडित

अरुण खबर डटकम । २०८० वैशाख ७ गते

विराटनगर ६ वैशाख । कोशी प्रदेशमा तीन महिनाको अवधिमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ सय ५७ जना पीडित भएको इन्सेकले जनाएको छ । इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले आज सार्वजनिक गरेको स्थिती सूचकमा कोशी प्रदेशमा ०७९ पुस १७ गते देखि चैत १७ गतेसम्मको अवधिमा राज्य पक्षबाट २१ जना र अन्य पक्षबाट २ सय ३६ जना गरी २ सय ५७ जना नागरिक पीडित भएका छन् । इन्सेक अभिलेखका आधारमा सार्वजनिक गरिएको तथ्याङ्कक अनुसार कोशी प्रदेशमा राज्यपक्षबाट भएको गिरफ्तारीका घटनामा पाँचजना, कुटपिटका घटनामा एक जना, अमानवीय व्यवहारका घटनामा एक जना र घाइतेमा १४ जना नागरिक पीडित भएका छन् । अन्य पक्षबाट भएका अपहरण घटनामा एक जना, कुटपिटका घटनामा दशजना, बालअधिकारका घटनामा ६५ जना, अमानवीय व्यवहार घटनामा एक जना, घाइते पाँचजना, हत्याका घटनामा नौ जना, महिला अधिकारका घटनामा १ सय ४३ जना र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका घटनामा एक जना नागरिक पीडित भएका छन् । तीन महिनाको अवधिमा कोशी प्रदेशमा मानिसको सबै भन्दा ठूलो अधिकार बाँच्न पाउने अधिकारबाट १० जना नागरिक विमुख भएका छन् ।

राज्यपक्षबाट एक जना र अन्य पक्षबाट भएका घटनामा नौ जना नागरिकको ज्यान गएको छ । कोशी प्रदेशका १४ ओटा जिल्लामा तीनमहिनाको अवधिमा बालअधिकारका घटनामा ६५ जना बालबालिका पीडित भएको इन्सेकले उल्लेख गरेको छ । जसमा अपहरण घटनामा दुई जना, बेचविखनका घटनामा तीनजना, र एक जना बालक, विद्यालयमा दिइने यातनाका घटनामा दुई बालिका र एक जनाबालक, बलात्कार घटनामा ४१ जना र यौन दुव्र्यवहार घटनामा १५ जना बालिका पीडित भएको इन्सेकको तथ्याङ्कमा छ । महिला अधिकारका घटनामा १ सय ४३ जना पीडित भएको इन्सेकले जनाएको छ । तीन महिनाको तथ्याङ्कलाई हेर्दा महिला र बालबालिक विरूद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि राज्यले पक्ष राष्ट्रका रूपमा गरेका अन्र्तराष्ट्रिय सन्धी सम्झौताको कार्यान्वयनको सवालमा प्रश्न खडा हुने अवस्था देखिएको इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापाले बताउनु भएको छ ।

Source: https://arunkhabar.com/archives/2854