कोहलपुरमा प्रहरीले कुटपिट गरेका खड्कालाई मानवअधिकारकर्मीले भेटे

मिसन टुडे डटकम । २०८२ वैशाख २७ गते

बिहीबार कोहलपुरमा प्रहरीले कुटपिट तथा लछारपछार गरी अमानवीय व्यवहार गरेका व्यक्तिलाई मानवअधिकारर्मीको टोलीले भेटेर अवस्थाबारे जानकारी लिएको छ । बसले ठक्कर दिएर ज्यान गुमाएका आफ्ना आफन्तको परिवारलाई क्षतिपूर्तिको माग गर्न सडकमा उत्रिएका बेला प्रहरीले राप्ती सोनारी गाउँपालिका– ९ निवासी टेकबहादुर खड्कामाथि कुटपिट गरेको थियो । यस सम्बन्धमा मिसन टुडेमा शुक्रबार समाचार प्रकाशित भएको थियो ।

शुक्रबार इन्सेक नेपालगन्जको अगुवाइमा मानवअधिकारकर्मीको टोलीले खड्कालाई भेटेर जानकारी लिएको इन्सेकका लुम्बिनी प्रदेश प्रमुख मानवअधिकारकर्मी भोला महतले जानकारी दिए । खड्काले आफ्ना आफन्तको न्यायका लागि र परिवारलाई क्षतिपूर्तिको माग गरेर सडक जाम गर्न खोजिरहेका बेला प्रहरी आएर आफूमाथि हमला गरेको बताएका महतले जानकारी दिए । खड्काको ढाड र कुहिना लगायतका अंगमा चोट रहेको पनि उनले बताए ।

प्रहरीले आफूमाथि गरेको कुटपिटले शारिरीकसँगै आफूलाई मानसिक पीडा भएको खड्काले मानवअधिकारकर्मीको टोलीसँग बताएका छन् । खड्काको परिवार आर्थिक रूपले विपन्न रहेको, आमा क्यान्सरपीडित भएर चितवनमा अस्पताल भर्ना भएकी उनले बताएका छन् । त्यसैमाथि आफन्तको मृत्युको शोकमा रहेका खड्काले आफूमाथि प्रहरीले अनाहकमा कुटपिट गरेर अपमानित गराएको दुःखेसो पोखेका छन् ।

बुधबार बाँकेको कुसुममा बसले ठक्कर दिएर ज्यान गुमाएका ढकेरीका ३३ वर्षीय सुदीप सुवेदीको परिवारलाई क्षतिपूर्तिको माग गर्न कोहलपुर आएका खड्काले प्रहरीबाट अमानवीय व्यवहार भोगेका थिए । चक्काजाममा उत्रिएका बेला खड्कालाई प्रहरीले घेरा हालेर सडकमा लडाएको थियो ।

उनलाई एक दर्जन बढी सङ्ख्यामा रहेका प्रहरीहरूले घेरेका थिए । त्यसपछि प्रहरीले उनलाई खुट्टा हातमा समातेर झुण्ड्याउँदै भ्यानतर्फ लिन खोजेको थियो । प्रहरीले उनको कपडा तानेर घिसार्ने क्रममा उनको माथिको कपडा नै उत्रिएको थियो । कपडा खोलिएकै अवस्थामा प्रहरीले घिसार्दै लगेको र कुटपिट गरेको भिडिओ नै सार्वजनिक भएको थियो ।

पीडितलाई भेटेको मानवअधिकारकर्मीको टोलीले इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी खनाललाई भेटेर पनि घटनाका बारेमा बुझेको थियो ।

त्यसक्रममा खनालले साँझ ५ बजेपनि राजमार्ग अवरुद्ध गर्न खोजेको र सम्झाउँदा नमानेपछि सामान्य बल प्रयोग गरिएको बताएको महतको भनाइ छ । डीएसपी खनालले प्रहरीले नियतवश कसैलाई कुटपिट र अपमानित नगरेको बताएकी छन् । महतले आफूहरूले दुवै पक्षको भनाइ र तथ्यसहित आवश्यक सुझावसहितको प्रतिवेदन तयार पार्ने योजना रहेको जानकारी दिए ।

Source: https://shorturl.at/zOaOT